मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

मिलन चाम्स, जाे कुनै समय ब्रिटिश आर्मीका स्नाइपर थिए

काठमाडाैं । सुख र दुःखकाे समिश्रण हाे जीवन । हरेक मान्छेकाे भाेगाइ आ–आफ्नै हुन्छन् । जीवनकाे कालखण्डमा धेरै सहज, असहज परिस्थितिको सामना गर्नुपर्छ । यसरी नै सुख र दुःखसँग भिड्दै यहाँसम्म आइपुगेका छन् मिलन चाम्स अर्थात् कुशल, चर्चित निर्माता/निर्देशक ।

बुवा बिरेन्द्र राई र आमा सिमा राईको कोखबाट पहिलो सन्तानको रुपमा सुनसरीको तरहरामा जन्मिएका निर्देशक चाम्सकाे बाल्यकाल मोरङको उर्लाबारीमा बित्याे । उनकी एउटी बहिनी छिन् सपना राई, जो बेलायतमा बस्छिन् । चाम्स सानाेमा निकै साेझा थिए । लजालु पनि । यही स्वभावका कारण बहिनीकाे समेत कुटाइ खाएका छन् उनले ।

स्कुलमा एकदमै सक्रिय चाम्स नाटकहरु गर्न र कराँते खेल्न खप्पिस् थिए । १४ वर्षको उमेरदेखि नै व्यवसायमा लागेका उनकाे मानसिकता सानैदेखि पैसा कमाउनु पर्छ भन्ने थियो । गाउँमा एक जना दाईले व्यवसाय गरेकाे देख्दा उनलाई पैसा कमाउने मोह जाग्न थाल्यो । ती दाईले खासाबाट लुगा कपडाहरु सप्लाई गर्थे । उनले दाइलाई भने- ‘मलाई पनि पैसा कमाउन मन छ, कसरी कमाउन सकिन्छ, सिकाउनुस् न । ती दाइ पनि सिकाउन तयार भए । यसरी ती दाइबाट प्रभावित भएर व्यापार सिकेका चाम्सले आफ्नो पहिलाे कमाइबाट आमालाई ३ तोलाको सुनको सिक्री बनाइदिए ।

तस्विरः सागर बाबु भट्ट

सानोमा उनका कतिपय साथीहरु मादक पदार्थ सेवन गर्थे । साथीहरुको संगतले गर्दा छोरो बिग्रन्छ की भनेर आमाले उनलाई सधैँ आफ्नो निगरानीमा राख्ने गर्थिन् । त्यसैले पनि होला त्यो लतमा कहिले लागेनन् चाम्स । ५बजे भित्र घरमा प्रवेश गरिसक्नु पर्थ्याे । उनि सम्झन्छन्– ‘आमा धेरै कडा स्वभावको हुनुहुन्थ्यो । त्यसैले १६ वर्षको उमेरसम्म कुटाई खाएँ । आफैँ गरेर खान सिक्नुपर्छ भनेर पनि उहाँले सधैँ सम्झाइ रहनुहुन्थ्याे । त्यसकारण पनि केही गर्नुपर्छ भन्ने जाेस थियाे ममा ।’

‘निर्देशक मिलन चाम्स’ भनेर चिनिँदा रात भरि निन्द्रा लागेन...!

पढाइमा उनी सामान्य विद्यार्थी थिए । परिवार नै ब्रिटिस आर्मी भएका कारण सबैले आर्मी बन्नुपर्छ भन्थे । त्यही दबाबका कारण आर्मी पनि बने । १५ वर्ष जागिर खाए । तर उनकाे लगाव, झुकाव, इच्छा भने चलचित्रप्रति थियाे । त्यही झुकावका कारण आर्मीको जागिर छोडेर चलचित्र क्षेत्रमा प्रवेश गरे । 

आर्मीमा जागिर खाएको ७ वर्षपछि म्यानेजमेन्ट टिममा प्रवेश गरेका कारण सपना पुरा गर्न अर्थात् फिल्म क्षेत्रमा आउन पनि  सहज भएकाे चाम्स बताउँछन् । उनी भन्छन्, ‘हलमा छिरेपछि मेरो ध्यान चलचित्रमा भन्दा पनि चलचित्र कसरी बन्याे भन्नेतिर केन्द्रीत हुन्थ्याे । कसले, कसरी खिच्यो होला भन्ने कौतुहलता जाग्थ्यो । अहिले बुझ्दैछु, निर्देशक बन्नु रहेछ र पाे झुकाव त्यता गएकाे रैछ ।’

सानैदेखि फोटोग्राफीमा एकदमै रुचि राख्ने चाम्सलाई बुवाले रिलबाट चल्ने यासिका क्यामेरा किनिदिएका थिए । फाेटाे खिच्न जताततै पुग्थे । साेही क्रममा गायक भुमिराज राईसँग भेट भयो । उनले – ‘तपाईं राम्रो खिच्नुहुँदाे रहेछ । मैले एउटा म्युजिक भिडियो बनाउँदै छु, मिलेर काम गराैँ’ भन्ने अफर गरे । चाम्सले सहकार्य गरे पनि ।

अर्का एक जना दाईले सिङ्गापुरबाट क्यामरा किनेर ल्याइदिएका थिए चाम्सलाई । त्यो क्यामराले म्युजिक भिडियो पनि खिचे उनले । ‘निर्देशक मिलन चाम्स’ भनेर चिनिँदा रात भरि निन्द्रा लागेन । साताैँ म्युजिक भिडियाेकाे सहकार्य राजेश पायल राईसँग भयाे । धिरेन साक्यलाई लिएर राईको ‘खास त केही छैन’ म्युजिक भिडियाे बनाए ।

गीत पनि हिट भयो । त्यसपछि उनलाई लाग्न थाल्यो- भोलि चलचित्र निर्देशक बन्नु छ, फिल्म मेकिङ पढ्नुपर्छ । फिल्म मेकिङसँगै फोटोग्राफी पनि पढे । सम्पादकको काम पनि सिक्दै थिए । हप्तामा चार वटा म्युजिक भिडियो खिच्थे । २००७ मा एउटा ‘पश्चाताप’ भन्ने फिल्म निर्देशन गरे । सामाजिक कथावस्तुलाई उठान गरी बनाइएको सो चलचित्र विदेशका विभिन्न ठाउँमा रिलिज भयो तर नेपालमा भने रिलिज हुन सकेन ।

त्यसपछि फेरि उनि म्युजिक भिडियोमै ब्याक भए । २०११ मा  ‘हँसिया’ चलचित्र बनाए । चलचित्र फ्लप, पात्र हिट भए । उनका कतिपय चलचित्र हिट पनि भएका छन् अहिले । उनकाे छुट्टै ब्राण्ड बनेकाे छ चलचित्र जगतमा । सिनेम्याटाेग्राफर समेत रहेका चाम्सले चलचित्रकै क्रममा धेरै विशिष्ट व्यक्तिहरूसँग भेट्ने अवसर समेत पाए ।

‘ट्रेनिङमा ७ पटक रोएँ हाेला । यदि ट्रेनिङ नजिकै हुन्थ्याे भने म भागेर नेपाल आउँथेँ ।’

नयाँ कलाकारहरुसँग अलि खुलेर काम गर्ने चाम्स पुरानो कलाकारहरुसँग बढी अनुशासित भएर काम गर्छन्, ताकि भाेलि आउने नयाँ पिँडिले आफूभन्दा अग्रजलाई सम्मान गर्नुुपर्छ भन्ने कुरा सिकुन् । नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा कसरी चिनाउने भन्ने कुरामा पनि एकदमै चिन्तित छन् चाम्स ।

‘हिजोको दिनमा पनि चलचित्र क्षेत्रको विकासका लागि लडेँ, आजपनि लडिरहेको छु र भोलिपनि निरन्तर लडिरहनेछु । सम्पति पनि यसैमा गुमाएकाे छु’, चाम्स भन्छन्,  ‘कसैले आफ्नो फिल्म क्षेत्रलाई होच्यायो भने चित्त दुख्छ । यसकारण पनि याे क्षेत्रमा लागेपछि परिवार गुमाएँ कि जस्ताे लाग्छ ।’

उनको कलाकारिताको कामलाई उच्च सम्मान गर्दै देश तथा विदेशमा रहेका अनेकौँ संघ संस्थाले सम्मान गरेका छन् । कामना फिल्म अवार्ड, नेसनल अवार्ड, छायाँ छबि इन्टरनेश्नल अवार्ड,  इन्फा अवार्ड लगायतका विभिन्न अवार्डहरुले उनको सम्मान गरेका छन् ।

आजकाे दिनसम्म आइपुुदा उनले २०० भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । हँसिया, ह्याप्पि डेज, बिरबिक्रम, लिलिबिलि, ब्लाइन्ड रक्स, बिरबिक्रम २, बोबि लगायत धेरै चलचित्र उनले बनाइसकेका छन् ।

०००

यहाँसम्म आइपुग्दा सफलताको श्रेय भने उनी परिवारलाई दिन्छन् । परिवार तथा साथीभाइको साथ, समर्थनकै कारण आफू सफल भएको उनी बताउँछन् । उनी भन्छन्- ‘सायद परिवारकाे साथ नपाएकाे भए आज म यो ठाउँमा हुँदैन थिएँ हाेला ।’

चलचित्र क्षेत्रमा संघर्ष जारी भएपनि आर्मी बन्दाका भोगाइ बिर्सिएका छैनन् उनले अझै । ट्रेनिङका दिनहरु सम्झदै चाम्स भन्छन्– ‘ट्रेनिङमा ७ पटक रोएँ हाेला । यदि ट्रेनिङ नजिकै हुन्थ्याे भने म भागेर नेपाल आउँथेँ । तर सात समुन्द्र पारि लण्डनमा थियाे । ९ महिनाको ट्रेनिङ कुनै जोक हाेइन, चुनौतिपुर्ण हुन्छ ।’

आर्मीमा खासै रुचि नभएपनि परिवारले प्रतिस्पर्धामा जान सुझाए । नतिजा उनले नसोचेको आयो, पहिलो नम्बरमा नाम निस्कियो । भोलिपल्टबाट दौडन लगाइयो । उनी निकै डराइरहेका थिए । जब भारी बोकेर उकालोमा दौडने दिन आयो, निन्द्रा समेत परेन ।

डरैडरका बिच तालिमको सबै चरण पार गरे । छनौटमा पनि परे । तर खुशी भएन उनको मन । ‘छनौटमा परेर लण्डन जाने बेलामा म एकदमै रोएको थिएँ । किनकी मलाई आफ्नो देश, साथीभाइ र परिवार छोडेर जान मन थिएन’, उनले भने ।

आर्मी भएको करिब ३ वर्षपछि बेसिक ईन्जिनियरिङ कोर्षका साथै स्नाइपर पनि गरे उनले । साफसुटर पनि हुन् उनी । यी कुरा आफ्ना लागि बरदान भएको चाम्स बताउँछन् । उनी भन्छन्– ‘यदि म आर्मी नभइदिएको भए र १६ वर्षसम्म आमाको शासनमा नहुर्किएको भए आज यो स्थानमा हुँदैन थिएँ । त्यसैले यी कुराहरु मेरा लागि बरदान हुन् ।’

प्रतिकृयाहरु
Loading...