दुई साताका लागि विराटनगर महानगरपालिका लकडाउन घोषणा

काठमाडौं । प्रदेश १ को राजधानी विराटनगर लकडाउन गर्ने निर्णय भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदाय स्तरमै गएपछि विराटनगर महानगरपालिकाले दुई साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

भोली देखि दुई साताका लागि विराटनगर महानगरपालिका लकडाउन गर्ने घोषणा भएको हो । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले कोरोनाको संक्रमण दर बढ्दै गएकाले फेरि लकडाउन गर्नु परेको बताए ।

उनले कोरोना संक्रमण समुदाय स्तरमै गएको भन्न नसकिएपनि यसको फैलावट रोक्नका लागि दुई साता लकडाउन घोषणा गरीएको बताए । ‘कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी, पान पसलेसम्मलाई देखियो, अब यसको सर्किट ब्रेक डाउन गर्नका लागि पनि लकडाउन गर्नु परेको हो ।’ खड्काले मकालु खबरसँग भने ।

विश्व स्वास्थ्य संगठनको मापदण्डमा समुदाय स्तरमा कोरोना फैलिएको भन्न नमिल्ने भएपनि विराटनगरको हकमा संक्रमणको जोखिम उच्च देखिएको बताए । ‘समुदाय स्तरमै गयो भनेर नभनौं, विश्व स्वास्थ्य संगठनको मापदण्डले पनि दिँदो रहेनछ । तर, अवस्था जटिल भएकोले लकडाउन गर्नुपरेको हो ।’ उनले भने ।

जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठकले समेत विराटनगर महानगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको छ । उसले कोरोना शंका लागेमा परीक्षण गराउन समेत अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले वितरण गर्दै आएको सवारी पास समेत बन्द गरेको छ । प्रशासनले गृह मन्त्रालयको हिजोको पत्र अनुसार काठमाडौं जाने सबै सवारी पासहरु बन्द गरेको जनाएको छ ।

पछिल्लो समय विराटनगरमा कोशी अस्पतालका थप तीनजना चिकित्सकसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालमा शंका लागेर पीसीआर टेष्ट गराउँदा चिकित्सकसहित १० जनामा कोरोना पोजिटिभ देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *