कुटपिट तथा मृत्यु प्रकरणः राजकुमारको परिवारलाई १० लाख दिइने

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र कुटपिटपछि ज्यान गुमाएका राप्ती-२ का राजकुमार चेपाङको शव परिवारले बुझ्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकमा राजकुमारका परिवारलाई १० लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने सहमती भएपछि परिवारले शव बुझ्ने भएका हुन् ।

बैठकमा मृतक राजकुमार चेपाङलाई कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याई आवश्यक कारवाही गर्ने, मृतककि छोरीलाई भरणपोषण र छात्रवृत्ति रकम नियमित रूपमा उपलब्ध गराउने, राजकुमारको घर निर्माणमा आवश्यक वनपैदावर, कच्चापदार्थ र श्रम समेत निःशुल्क उपलब्ध गराउने सहमती भएको बैठकमा सहभागी राप्ती नगरपालिका उपमेयर इमानसिंह लामाले बताए ।

साउन १ गते चितवन निकुञ्जभित्र माछा मार्न गएका राजकुमार सहित पाँच जनालाई सेनाले कुटपिट गरेको आरोप छ । कुटपिटबाट घाइते भएका राजकुमारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि उनका परिवार, आफन्त र स्थानीयले शव बुझेका थिएनन् ।

पोस्टमार्टमपछि राजकुमारको शव टिचिङ अस्पताल काठमाडौँमा छ । आजै नेपाल चेपाङ संघले भरतपुरमा पत्रकार सम्मेलन गरि मृतक राजकुमारको परिवारलाई १० लाख राहत स्वरुप उपलब्ध गराउनुपर्ने लगायत माग राखेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *