एनसेलद्वारा मासिक रु २५० मा विद्यार्थीलाई बन्डल सेवा

काठमाडौं । एनसेलले कोरोनाभाइरसका कारण विद्यालयहरु बन्द भई अध्ययन अध्यापनमा परेको असर न्युनिकरण गर्न अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजना ल्याएको छ ।

एनसेल प्राइभेट लिमिटेडले राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र निजि तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगको सहकार्यमा विद्यार्थीका लागि अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजना ल्याएको हो ।

यो योजना अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा ल्याइएको हो । यस सहकार्यले विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्ने उद्देश्य लिएको छ ।

२३ जिबी डेटा सहितको आकर्षक मासिक योजना
 जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्समार्फत अनलाइन कक्षा गर्न विषेश डेटा
 बन्डल सेवाहरु मात्र मासिक रु २५० मा

यस मासिक योजनामा विद्यार्थी तथा शिक्षक/शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्दछन् । विद्यार्थीले कर बाहेक मासिक रु २५० मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी/फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्दछन् ।

एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले कोभिड–१९ ले शिक्षा क्षेत्र लगायत सबै क्षेत्रमा असर पारेको अवस्थामा अध्ययन अध्यापनमा इन्टरनेट प्रविधिको प्रयोग बढेकोले मुलुकको शिक्षालाई जिडिटलमा रुपान्तरण गर्न सहकार्यले ठूलो भूमिका निर्वाह गर्ने बताए ।

‘हामी सबै विस्तारै अबको ‘न्यु नर्मल’ सँग अभ्यस्त भइरहेका बेलामा दूरशिक्षा आवश्यकता बनेको छ र यसले प्रविधि र अनलाइन शिक्षाको महत्व स्पष्ट रुपमा दर्शाएको छ । देशको शिक्षा क्षेत्रमा डिजिटाइजेसन र इ–लर्निङमा योगदान पुर्याउनका लागि एनप्याब्सन र प्याब्सनसँग सहकार्य गर्ने अवसर पाएकोमा हामी हर्षित छौं ।’ उनले भने ।

एनप्याब्सन र प्याब्सन दुवै संस्थाले यो सहकार्यले विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट इ–लर्निङमा सहयोग पुर्याउने बताएका छन् । एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालयहरुमा पठनपाठन कहिले देखि सञ्चालन हुने निश्चित नभएको अवस्थामा अनलाइन माध्यमबाट विद्यार्थी र शिक्षक/शिक्षिकालाई अध्ययन अध्यापनमा सहयोग पुर्याउनका लागि एनसेलसँग विशेष योजनामा हातेमालो गरेको बताएका छन् ।

‘कोभिड–१९ ले निम्ताएको यस महामारीले हालको शिक्षण प्रणालीलाई नाटकीय ढंगले परिवर्तन गरिदिएको छ र सिकाइका लागि विश्वव्यापी रुपमानै भर्चुअल लर्निङ्को ट्रेन्ड अप्रत्याशित रुपमा बढेको छ । विद्यालयहरुले हालका लागि भर्चुअल रुपमा नै कक्षाहरु सञ्चालन गर्ने सरकारको नीतिमा यस सहकार्यले सहयोग पुर्याउने छ ।’ प्याब्सनका अध्यक्ष टीकाराम पुरीले भने ।

सहकार्यअनुसार एनप्याब्सन र प्याब्सनको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक/शिक्षिकाहरूले यो योजनाबाट फाइदा लिन सक्छन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिने एनसेलले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *