देशकै ठूलो कृष्णा क्वारेन्टाइनको हालत–‘संक्रमितलाई थ्रेट, गैरजिम्मेवारीको पराकाष्ठा’

काठमाडौं । देशकै ठूलो क्वारेन्टाइनमा बस्ने संक्रमितको गुनासो–‘गाई गोठजस्तो भयो’ शिर्षकको समाचार मकालु खबरमा शुक्रबार प्रकाशन भएपछि राजविराज सप्तरीस्थित कृष्णा क्वारेन्टाइनमा बस्ने संक्रमितहरुलाई सुरक्षा थ्रेट दिइयो भनेर त्यहीँका एकजना स्थानीय प्रहलाद कुमार सिंह (विकी) ले फेसबूकमा लेखे ।

त्यसको वास्तविकताबारे हामीले पुनः फलोअपका लागि त्यहीँ क्वारेन्टाइनमा बसेका संक्रमितदेखि त्यहाँ रिपोर्टिङ्गमा पुगेका पत्रकारहरुसँग कुराकानी गर्यौं । उनीहरुसँगको कुराकानीपछि त्यहाँ थ्रेट दिइएकै हो भन्ने खुल्यो ।

‘अरु साथीहरुमार्फत् मलाई थ्रेट दिइयो’
‘प्रत्यक्ष रुपमै मलाई फोन भने आएको छैन । तर यहाँ कसैसँग फोन गरेर त्यस्तो खालको थ्रेट आएको थियो ।’ क्वारेन्टाइनमा बस्ने एक जनाले मकालु खबरसँग भने,‘अनि आजदेखि खाना रोक्ने कुरा पनि गरेको छ रे ! हामी दुई जनाको नाम गेटमा लेखेर खाना रोक्ने पनि भनेको छ रे !’

उनका अनुसार थ्रेट दिनेमा गजेन्द्र नारायण सिंह साइकृष्णा मेडिकल कलेजका मेडिकल सुपरिडेन्ट डा. रञ्जित झा हुन् । ‘उहाँ (डा. रञ्जित झा) ले सिधै मलाई नै फोन गर्नुभएको त छैन । तर क्वारेन्टाइनमा रहेका अरुलाई फोन गरेर खाना रोक्नेदेखि लिएर पावरको समेत कुरा गर्नु भएको हो ।’ उनले पछि थपे ।

मेडिकल सुपरिडेन्टको थ्रेट उनलाई मात्र हैन रहेछ । राजविराजका पत्रकार आर्यन विश्वासले पनि सो कुराको पुष्टि गरे । उनले मकालु खबरसँगको कुराकानीका क्रममा भनेका छन्, ‘यो साँचो कुरा हो । मलाई पनि फोन आएको थियो यो बारेमा । मैले पनि फोन गरे त्यहाँको डा. झालाई । तर उनले आफूबाट भएको कमजोरी स्वीकार्दैनन् ।’

यस्तै उनले आफैँ त्यहाँ रिपोर्टिङ्गमा पुगेको अनुभव सुनाउँदै त्यहाँको समस्या शुरुदेखि नै लथालिङ्ग भएको बताए । ‘त्यहाँको अवस्था शुरुदेखि नै लथालिङ्ग हो । कोरोना संक्रमित मात्र हैन सद्दे मान्छे समेत बिरामी हुन्छन् । यद्यपि छिट्टै सुधार्ने भन्ने चाहिँ सम्बन्धित निकाय र प्रशासनले भनेकै थियो । तर अझै त्यहाँको अवस्था उस्तै छ ।’ पत्रकार विश्वासले भने ।

‘पानी ओभरफ्लो भएर फोहोर भएको हो’
क्वारेन्टाइन क्षेत्रमा देखिएको फोहोरमैला र शौचालयमा जमेको पानीको बारेमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट् डा. रञ्जित झाले पानी ओभरफ्लो भएर यस्तो देखिएको प्रतिक्रिया दिए ।

‘पानी ओभरफ्लो भएर यस्तो फोहोर भएको हो । हामीले सफा गर्ने नै छौं ।’ उनले हामीसँग भएको फोन सम्पर्कको क्रममा भनेका छन्, ‘अरु फोहोर होइन । पानी ओभरफ्लो नै हो ।’

तर डा. झाको प्रतिक्रिया र क्वारेन्टाइन क्षेत्रको अवस्था कहीँ पनि मेल खाँदैन । जबकि, त्यहाँ भर्खरै पानी ओभरफ्लो भएको भन्दा पनि महिनौंदेखि जमेको दिसा–पिसाबको रुप देखिन्छ ।

महिला शौचालयमा ढोकासमेत नभएको विषय भने उनले स्वीकार्छन्, ‘महिला शौचालयको अवस्था भने यस्तो हुनु हुँदैनथ्यो । हामीलाई शुरुमा खासै जानकारी थिएन । यसलाई सुधार्ने प्रयासमा छौं ।’

‘थ्रेट दिइएको छैन’
यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट् डा. रञ्जित झा भने क्वारेन्टाइनमा बसेकालाई थ्रेट दिएको कुरा स्वीकार्दैनन् । उनले थ्रेट दिइएको हो भनेर बाहिर आएको कुरा झुटो भएको बताए ।

‘यो कुरा कहाँबाट सुन्नुभयो । नभएको कुरा नगरौं । हामीले त्यहाँ भएका संक्रमितहरुलाई थ्रेट दिएकै छैनौं । किन दिने ?’ डा. झाले मकालु खबरसँगको कुराकानीका क्रममा भनेका छन्, ‘हामीले उनीहरुलाई थ्रेट दिएको छैनौं । यो तपाईँको प्रश्नसँग म सहमत छैन ।’

त्यहाँको अवस्था अझैं त्यस्तै देखेका छौं यस्तो ठाउँमा संक्रमितहरुलाई राख्न मिल्छ र ? भनेर सोधिएको प्रश्नमा उनको उत्तर थियो–‘अवस्था सुधार भइसक्यो । अझै गर्दैछौं । अब फोहोरको कुरा त उनीहरुले नै फोहोर गर्छन् । र पनि हामीले सधैं सफा गर्न क्लिनर पनि राखेका छौं ।’

‘नगरप्रमुख यादवको भनाइको खण्डन’
राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले शुक्रबार (हिजो) हामीसँगको फोन सम्पर्कमा क्वारेन्टाइन आफ्नो नभएका प्रतिक्रिया दिएका थिए ।

मेयरको उक्त प्रतिक्रियाबारे डा. झालाई सुनाउँदा उनले भने–‘त्यस्तो गैरजिम्मेवारी तर्क गर्न त नमिल्ने हो । उहाँहरुले आफ्नो क्षेत्रमा भइसकेपछि यतातिर ध्यान पनि दिनुपर्ने हो । हुन त उहाँको पनि आफ्नो सोच होला ।’

नोट : हामीसँग फोन सम्पर्क हुने संक्रमितको पहिचान गोप्य राखेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *