मिर्गौला प्रत्यारोपणमा संलग्न २१ जनाविरुद्ध पाँच वर्ष कैद माग

काठमाडौं । नक्कली भान्जा बनाइ मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका २१ जनाविरुद्ध पाँच वर्ष कैद माग गरिएको छ । नक्कली नाता प्रमाणित गरी मिर्गालौ किनबेच गरेको अभियोगमा तीन चिकित्सकसहित पक्राउ परेका २१ जना विरुद्ध पाँच वर्ष कैद माग गरिएको हो ।

प्रहरीले नक्कली भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा संलग्न चिकित्सक तथा ललितपुर महानगरपालिका–३ का वडाध्यक्षसहित २१ जनाविरूद्ध ललितपुर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुझाएको छ। आइतबार २१ जनाविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । मिर्गौला किनबेचमा संलग्न १४ जना पक्राउ परेका र अन्य सात जना फरार सूचिमा रहेको परिसरले बताएको छ ।

परिसरका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार उनीहरू सबैलाई शरीरको मानव अंग प्रत्यारोपण ऐन २०५५ अनुसार पाँच वर्षसम्म कैद तथा जरिवाना मागेर प्रारम्भिक राय बुझाइएको हो।

गत असार २८ गते पहिलो चरणमा ललितपुर महानगर–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनसहित १२ जनालाई मानव बेचबिखन तथा ओसारपसार ब्युरोले पक्राउ गरेको थियो। त्यसपछि थप दुई जना पक्राउ परेका थिए। चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसका तीन चिकित्सकलगायतलाई प्रतिवादी बनाई अनुसन्धान थालिएको थियो।

ब्युरोले ५५ वर्षे एक पुरुषका लागि नक्कली भान्जा बनाएर ती व्यक्तिको मिर्गौला झिकी प्रत्यारोपण गरेको आरोपमा चितवन र काठमाडौं उपत्यकाबाट उनीहरूलाई पक्रउ गरेको थियो। पक्राउ परेका डा. राकेश बर्मा, डा. सुप्रभात श्रेष्ठ, डा. बालकृष्ण कालाखेतीसहित २१ जना संलग्न छन् । पक्राउ पर्ने अन्यमा चितवन जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रामचन्द्र ढकाल, अस्पतालका कानुनी सल्लाहकार रमेश काफ्ले थिए। जिल्ला प्रशासन कार्यलय ललितपुरका दुई कर्मचारी पनि संलग्न छन्।

प्रहरीले मानव अंग किनबेचनमा मध्यस्तता गरेको आरोपमा पूर्वप्रहरी नायब उपरीक्षक योगेन्द्र थपलिया, पूर्वप्रहरी हिम प्रसाईं र रेश्मा राईलाई समेत पक्राउ गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *