‘त्रिभुवन विश्वविद्यालयको भौतिक परीक्षाको विकल्प खोजौं’
काठमाडौं । मुलुक नोवेल कोरोना भाइरस (कोभिड १९)को उच्च सम्भावित जोखिममै छ । सरकार भनिरहेछ–‘कुनै पनि बेला अवस्था हेरेर सिल वा लकडाउन् गर्नुपर्ने अवस्था आउन सक्छ ।’
यता त्रिभुवन विश्वविद्यालयले भने यो अवस्थाको रत्तिभर ख्याल गरेको छैन । ऊ स्थगित परीक्षा आउँदो भदौमै सञ्चालन गर्नको लागि तम्तयार देखिन्छ । तर, बन्दाबन्दी लम्बिएसँगै आ–आफ्नो घर पुगेका अधिकांश विद्यार्थीहरु भने त्रिविको यो तयारी र निर्णयप्रति बेखुशी छन् ।
कोभिडको जोखिमबाट सुरक्षित रहन गाउँघर पुगेका धेरै विद्यार्थीहरु पुनः काठमाडौं फर्कन सकेका छैनन् । सरकारले लकडाउन् केही खुकुलो गरेपनि अन्तरजिल्ला यातायात आवागमनमा कडाइ गरेकोले पनि विद्यार्थीहरु सकसमा छन् ।
विगत केही दिनयता दिनप्रतिदिन कोरोना संक्रमणको दर बढ्दै जाँदा सार्वजनिक सवारी साधन सञ्चालनमा अझै एकरुपता र सामान्य अवस्थामा आउन धेरै समय लाग्ने परिस्थिति बन्दैछ ।
यस्तो प्रतिकूल अवस्थामा विद्यार्थीलाई कोठाभित्रै राखेर परीक्षा लिने पद्धति निर्धारित समयमा हुन्छ भन्नुपनि निश्चय नै कठिन हो । त्रिविमा आन्दोलनरत विद्यार्थीले तत्काल भौतिक रूपमा परीक्षामा सामेल हुने अवस्था नभएकोले परीक्षाको वैकल्पिक उपाय खोज्न त्रिविलाई आग्रह गरिरहेका छन् ।
उनीहरुको माग छ–‘कोरोना भाइरसको जोखिम नहटेसम्मको लागि अनलाइन परीक्षा सञ्चालन गरौं वा आन्तरिक मूल्याङ्कनलाई नै आधार मानौं ।’
तर, यी सबै अवस्थालाई नबुझेर त्रिविका पदाधिकारीहरू भौतिक परीक्षामै जानेमा अड्डी कसिरहेका छन् जुन अहिलेको परिस्थितिमा अव्यवहारिक मात्र छैन जोखिमपूर्ण पनि छ ।
संसारका प्रतिष्ठित विश्वविद्यालयहरूले समेत तत्कालका लागि भौतिक परीक्षा वा कक्षा सञ्चालन नहुने घोषणा गरिसकेका छन् । हावर्ड विश्वविद्यालयले कम्तीमा सन् २०२० को अन्त्यसम्म कुनै पनि शैक्षिक भौतिक गतिविधि नगर्ने घोषणा गरिसकेको छ ।
बेलायत, अमेरिका, जापान, अष्ट्रेलिया जस्ता देशहरुमा पनि कोभिड–१९ पूर्णरुपमा नहटेसम्म वा त्यसबाट जोगिन पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म विद्यार्थीको जीवन जोखिममा पार्न नसकिने बताइरहेका छन् ।
धेरै विश्वविद्यालयले शैक्षिक गतिविधि सञ्चालनको निम्ति वैकल्पिक बाटो पछ्याइरहेका बेला नेपालमा भने विद्यार्थीलाई भौतिक रुपमै परीक्षामा सामेल गराउने दुष्प्रयास भइरहेको छ ।
यस्तो परिस्थितिमा त्रिविले भौतिक परीक्षा वा कक्षा सञ्चालनमा हतारो गर्नु मूर्खताशिवाय केही हैन । बरु त्यसको साटो विश्वविद्यालयले आफ्नो प्राविधिक क्षमता र मानवीय जनशक्तिको प्रभावकारितालाई बढाएर अनलाइन कक्षा र परीक्षालाई नै जोड दिनु उपयुक्त हुन्छ ।
यदि त्रिविले जबरजस्ती भौतिक परीक्षा गरे त्यसले लाखौं विद्यार्थीको स्वास्थ्य संवेदनशीलतामा खेलवाड गरेको हुनेछ । कोरोना महामारी नियन्त्रणमा राज्यले अपनाएका उपायहरु कमजोर भइरहेको अवस्थामा त्रिविको एउटा अव्यवहारिक निर्णयले लाखौं विद्यार्थीको स्वास्थ्य खतरामा पर्नेमा दुईमत छैन ।
‘समस्या जन्मिन सक्छ’
भौतिक रुपमै परीक्षा र कक्षा सञ्चालन भएको खण्डमा हाल काठमाडौं बाहिर रहेका सबै विद्यार्थीहरु काठमाडौं फर्केनेछन् । त्यसपश्चात् सार्वजनिक यातायात सञ्चालन नहुँदा उनीहरूलाई समस्या पर्ने मात्रै होइन, उनीहरूमध्ये कोही संक्रमित छन् भने संक्रमणले झनै प्रशय पाउँछ ।
संक्रमितहरु बढ्ने खतरा झनै उच्च भएर जान्छ । यसैपनि राजधानीको सार्वजनिक यातायात उच्च जोखिममा छ । त्यसमाथि ७७ वटै जिल्लाका हजारौं विद्यार्थीहरु विनारोकतोक स्वास्थ्य परीक्षण विना राजधानी छिर्नु अर्को दुर्घटना निम्त्याउनु हो ।
त्रिविलाई परीक्षा सञ्चालनको निम्ति ‘विश्वविद्यालय अनुदान आयोग’बाट प्राप्त हुने रकमकै लोभमा त्रिवि पदाधिकारीहरूले भौतिक रूपमै परीक्षा सञ्चालन गर्न कम्मर कसिरहेका छन् ।
त्रिविको यो निर्णयले कोरोना महामारी झनै ठूलो महामारी बन्छ ।
‘जटिल परिस्थिति नयाँ सम्भावनाको खोजी’
अहिलेको असामान्य परिस्थितिलाई सामान्य गराउन नसकिने होइन । नयाँ सम्भावनाहरुको खोजी गर्ने अवसर पनि हो । यथास्थितिमा रमाउने प्रवृत्तिले कदापि नयाँ सम्भावना पहिल्याउन सकिँदैन । नयाँ सम्भावनाको खोजीमा जोखिमका कुरा हुन्छन् । तर, जोखिमसँग डराएर यथास्थितिमा अल्मलिनु प्रगतिविरोधी सोचाइ हो ।
यस्तै अनलाइन परीक्षा वा शैक्षिक गतिविधिका वैकल्पिक उपायको खोजी नयाँ सम्भावनाको खोजी हो । अब त्रिविले पनि आफ्ना पाठ्यक्रम र परीक्षा प्रणालीलाई अनलाइन प्रणालीमा रुपान्तरण गर्नु आवश्यक छ ।
हामीले आफूलाई समय परिस्थिति अनुसार बदल्न सकेनौं भने पछि पर्छौं । पहिले कुनै सूचना आदान–प्रदान गर्न हुलाकमा चिठ्ठी पोस्ट् गर्नुपर्दथ्यो, आजकल मोबाइल, इन्टरनेटको माध्यमबाटै सेकेण्डभरमै विश्वकै जुनसुकै कुनामा जस्तोसुकै सूचना, सन्देशहरु पठाउन सक्छौं ।
अमेरिकामा बसेको मान्छेले नेपालमा बसेकोसँग निमेषभरमै भर्च्यूअल माध्यमबाट सूचना आदान-प्रदान गर्न सक्छ । यो प्रविधिलाई अब त्रिविले पनि अंगिकार गर्नुपर्छ ।
त्रिविजस्तो इतिहास र गरिमा बोकेको विश्वविद्यालयले समयानुकूल आधुनिक प्रविधिको प्रयोगमा आफूलाई अभ्यस्त बनाउनु परिवर्तनशील विश्वमा आफूलाई समाहित पार्नु र नयाँ सीप सिक्नु पनि हो, कमसेकम नयाँ प्रविधिको क्षेत्रमा ।
विद्यार्थीहरूले अहिले गरिरहेको संघर्ष जायज छ । यसमा त्रिवि गम्भीर हुनु जरुरी छ ।
‘विद्यार्थी संगठनहरुले बुझ्नैपर्छ’
आफूलाई विद्यार्थीहरुको हक अधिकार संस्थागत गर्ने ‘प्रमुख’ दाबी गरिरहेका विद्यार्थी संघ–संगठनहरुले विद्यार्थीहरुको समस्याप्रति गम्भीर हुन आवश्यक छ ।
विरोधको लागि मात्र विरोध अवथा आन्दोलनका लागि मात्र आन्दोलन गर्नुको उपादेयता छैन । त्रिविको गलत र अव्यवहारिक निर्णयविरुद्ध विद्यार्थी संगठनहरुले आफ्ना माग घनिभूत गर्न जरुरी छ ।
अहिले गाउँघरमा रहेका विद्यार्थीहरु त्रिविको पछिल्लो निर्णयले मर्माहत भएका छन् । समस्याबाट गुज्रेका विद्यार्थीहरुलाई समस्याबाट बाहिर निकाल्नु संगठनहरुको धर्म र कर्म हो । विद्यार्थीलाई आइपरेका साझा समस्याउपर विद्यार्थी संगठनहरुले चासो दिँदैनन् वा उनीहरुका जायज मागलाई घनिभूत गर्दैनन् भने यस्ता संगठनहरुको औचित्य पनि रहँदैन ।
त्यसकारण त्रिविका विद्यार्थी संगठनहरुले वित्रिको अव्यवहारिक निर्णयमा साझा धारणा आउनुपर्यो । यो बेला प्राध्यापक संगठनहरु कुहिरोमा हराएको कागजस्तै भएका छन् ।
विभिन्न देशको अनुभव र नेपालको परिवेश एकाकार गरेर तत्काल निकास दिनमा विश्वविद्यालय पदाधिकारी, प्राध्यापक र विद्यार्थीबीच सघन छलफल आवश्यक छ । र यसको लागि प्राध्यापक संगठनहरुले अभिभावकीय भूमिका निर्वाह गर्न जरुरी छ ।
अन्तमा, त्रिविले भौतिक उपस्थिति जनाएरै परीक्षा लिने निर्णय गर्नु अहिलेको अवस्थामा अव्यवहारिक मात्र हैन असंभव नै छ । यसलाई पुनर्विचार गर्नुमै हितकर छ । त्रिविका बुद्धिजीवीहरुमा सद्बुद्धि आओस् ।