एसिड आक्रमणको दण्ड सजाय परिमार्जन गर्न निर्देशनः मुस्कान भन्छिन्– ‘सपना जिवित छन्, सरकारले सहयोग गर्नुपर्छ’

काठमाडौं । प्रतिनिधिसभाको आज (सोमबार) बसेको महिला तथा सामाजिक समितिले एसिड आक्रमणको दण्ड सजाय परिमार्जन गर्न निर्देशन दिएको छ ।

पीडित तथा सरोकारवालाहरूसँग छलफल गरी समितिले दण्ड सजाय कम भएको भन्दै परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले एसिड आक्रमणमा परेकाहरुको उपचार, अध्ययन लगायतका सम्पूर्ण खर्च व्यहाेरिदिन तथा सरकारी रोजगारीमा प्राथमिकता दिन समेत सरकारलाई निर्देशन दिएको छ ।

छलफलमा एसिड आक्रमणमा परेका मुस्कान खातुन, जेनी खड्का, संगीता मगर पनि उपस्थित थिए । कानुनी सजाय कमजाेर भएका कारण पनि एसिड आक्रमणका घटना घटेकाे उनीहरूकाे भनाइ थियाे ।

एसिड पीडित मुस्कानले अनुहार जलाएपनि सपना जिवितै रहेकाे भन्दै सरकारसँग उपचारका लागि सहयाेग समेत मागेकी छिन् । ‘सरकारले एसिड पीडितकाे उपचार निःशुल्क गरिदिनुपर्याे । पढ्ने र जागिरकाे व्यवस्था पनि मिलाइदिनु पर्याे । सानैदेखि देशका लागि केही गर्ने मेरो सपना थियो’, उनले भनेकी छिन्- ‘ती सपना अझै जिवितै छन् । म जसरी पनि पुरा गर्छु।’

एसिड हान्नेलाई जन्मकैदकाे सजाय हुनुपर्ने उनकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *