विराट नर्सिङ होम आजदेखि पुनः सञ्चालनमा

विराटनगर । अस्पतालका वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि सिल भएको विराटनगर अस्पताल (विराट नर्सिङ होम) आज (साेमबार) देखि पुनः सञ्चालनमा ल्याइएको छ ।

विराटनगर अस्पताल प्रा.लि. (विराट नर्सिङ होम) अस्पतालले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी अस्पताल सञ्चालनमा आएकाे जानकारी दिएको हो । अस्पतालको ओपीडी (बहिरंग) सेवा भने हाल बन्द नै रहने अस्पतालका प्रशासन प्रमुख पदम बिनाडीले बताए ।

अस्पतालको आन्तरिक व्यवस्थापनसँग जोडिएका वरिष्ठ चिकित्सकलाई गत साउन ६ गते कोरोना पोजेटिभ देखिएसँगै अस्पताल सील गरी अस्पतालका सम्पूर्ण सेवा बन्द गरिएको थियो । काेराेना संक्रमित चिकित्सकको हाल काठामाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ । उनको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पताल स्राेतले जनाएको छ ।

अस्पतालमा कार्यारत चिकित्सक, स्वास्थ्यकर्मी अन्य कर्मचारी साथै सेवा लिन आएका सेवाग्राहीहरुको पीसीआर जाँच भईसकेकाले अस्पताल सञ्चालनमा ल्याएको प्रशासन प्रमुख पदम बिनाडीले जानकारी दिए । पूर्णरुपमा सेनिटाइज तथा डिसइन्फेक्टेड गरेर अस्पताल सञ्चालनमा ल्याइएको उनकाे भनाइ छ ।

स्वास्थ्य संस्थामा थप चुनौती

कोरोना संक्रमणकाे बढ्दोरुप सँगै आगामी दिनहरु सम्पूर्ण स्वास्थ्य संस्थाका लागि थप चुनौतीपूर्ण रहेको बिनाडीले बताए । सुरक्षा सामग्रीको अभाव, पिसिआर परिक्षणको अभाव एकातिर विद्यमान रहेको छ भने अर्को तर्फ अस्पतालमा आएका बिरामीहरुको उपचार गर्नु नैतिक दायित्व रहेकाले राज्यले पनि यो विषयमा संवेदनशील हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *