प्लाज्मा विधिबाट कोरोना संक्रमितको उपचार गर्न कुनकुन अस्पतालले पाए अनुमति ?
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको सफल उपचार भएपछि स्वास्थ्य मन्त्रालयले देशका विभिन्न अस्पतालहरुलाई पनि प्लाज्मा थेरापीबाट उपचार गर्न अनुमति दिने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार त्रिवि शिक्षण अस्पतालसँगै १२ वटा अस्पतालहरुलाई प्लाज्मा थेरापी उपचार गर्न अनुमति दिएको हो ।
अनुमति पाउनेहरुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल, टिचिङ, पाटन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी अस्पताल, नारायणी, भक्तपुर, भेरी र सेती अस्पताल रहेका छन् । भने तीन निजी अस्पतालहरुले पनि अनुमति पाएका छन् । मेडिसिटी, ग्रान्डी, ह्याम्स र नेपालगन्ज मेडिकल कलेजमा पनि गम्भिर प्रकृतिका कोरोना संक्रमित विरामीमा प्लाज्मा थेरापीबाट उपचार गर्न सक्नेछन् ।
उल्लेखित अस्पतालहरूले कोरोना संक्रमणको गम्भीर बिरामीलाई प्लाज्मा दिएर उपचार गर्नेछन् तथापि, उनीहरुले त्यसको लागि दाता र संक्रमित बिरामी दुबैको स्वीकृति लिनुपर्ने छ । स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार हालसम्म २५ जना व्यक्तिहरूले प्लाज्मा दान गर्न इच्छा व्यक्त गरेका छन् ।
प्लाज्मा थेरापीबाट काेराेना संक्रमितकाे उपचार गर्न अनुमति पाउने स्वास्थ्य संस्थाहरू
१) वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
२) धुलिखेल अस्पताल
३) टिचिङ अस्पताल
४) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
५) शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
६) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
७) कोसी अस्पताल
८) नारायणी अस्पताल
९) भक्तपुर अस्पताल
१०) भेरी अस्पताल
११) सेती अस्पताल
१२) मेडिसिटी अस्पताल
१३) ग्रान्डी अस्पताल
१४) ह्याम्स हस्पिटल
१५) नेपालगन्ज मेडिकल कलेज
प्लाज्मा दान गर्नेका लागि मापदण्ड
कोरोना संक्रमितलाई उपचार गर्न प्लाज्मा दान गर्ने व्यक्तिको लागि परिषद्ले मापदण्ड तयार पारेको छ । जसअनुसार प्लाज्मा दान गर्ने व्यक्तिको रक्तदान गर्नुपूर्व कम्तिमा १४ दिन अगाडि उनमा संक्रमणको कुनै लक्षण देखिनु हुँदैन ।
दाताको संक्रमण पुष्टि आरटी पिसिआर विधिबाटै भएको हुनु पर्नेछ । दाता र प्लाज्मा लिने व्यक्तिको रगत समूह पनि मिलेको हुनुपर्छ ।
विरामीका लागि पनि मापदण्ड
प्लाज्मा थेरापीबाट उपचार गर्न लागिएको बिरामी १८ वर्ष माथिको हुनुपर्ने परिषद्को मापदण्ड छ । साथै संक्रमित अस्पताल भर्ना भई उपचार भएको र निजको अवस्था पनि गम्भीर हुनुपर्ने भनिएको छ । जसका लागि चिकित्सकबाटै गम्भिर विरामी भनेर पुष्टि गर्नुपर्छ ।
यसका साथै प्लाज्मा पद्दतिबाट उपचार गर्न संक्रमितले अनुमति दिनुपर्छ । अस्पतालहरू आफैंले प्लाज्मा विधिबाट उपचार गर्न पाउँदैनन् । प्लाज्माबाट उपचार गर्दा अस्पतालहरूले संक्रमितको अस्पताल बसाइको अवधि, स्वास्थ्य पर्ने प्रतिकूल असर वा सुधार हुने कुरालाई अध्ययन गर्नुपर्दछ ।
कोरोना संक्रमणको गम्भीर बिरामीमा प्लाज्मा थेरापी प्रभावकारी मानिएको छ । कतिपय विकसित देशहरुले समेत कोरोसँग लड्न प्लाज्मा विधि अपनाएका छन् । कोरोना संक्रमण भएपछि निश्चित समय अवधिमा मानिसको शरीरमा एन्टिबडी उत्पादन हुन सुरू गर्छ । जसको एन्डिबडीको काम भनेको भाइरससँग लड्नु हो र फेरि भाइरसबाट हुनसक्ने आक्रमणलाई प्रतिरक्षा गर्नु हो ।
नेपालमा पहिलोपटक यो विधिबाट उपचार टिचिङ अस्पतालमा भएको छ । विराट असपतालका सञ्चालक डा. ज्ञानेन्द्रबहादुर कार्कीलाई कोरोना संक्रमण भएपछि प्लाज्मा थेरापीबाट उपचार गरिएको हो । उपचारपछि उनमा उल्लेख्य सुधार आएको छ ।