काठमाडौं उपत्यकामा किन उच्च जोखिम ? यी हुन् संक्रमित भेटिएका क्षेत्र

काठमाडौं । कोरोना संक्रमण आफैं एक ठाउँबाट अर्को ठाउँ पुग्ने होइन, यसलाई संक्रमितले नै एक ठाउँबाट अर्को ठाउँमा लग्ने र फैलाउने हो । नेपालमा कोरोना भाइरस संक्रमण जारी रहँदा सरकारले लकडाउन अन्त्य भएको घोषणा ग-यो र, उकालो लाग्यो संक्रमणको दर पनि ।

लकडाउन खुकुलो पार्नुभन्दा ११ दिनअघि (असार २७ गतेदेखि साउन ६ गतेसम्म)को विवरण हेर्दा झन्डै ४८ हजार पीसीआर परीक्षण हुँदा १ हजार ३ सय ४५ मा कोरोना संक्रमण देखिएको थियो । तर लकडाउन खुकुलो भएपछिको ११ दिन (साउन ७ गतेदेखि १७ गतेसम्म)को विवरण हेर्दा ५८ हजार परीक्षणमध्ये २ हजार ९२ जनामा कोरोना संक्रमण पुष्टि भयो । यसको अर्थ लकडाउन अघि र पछि संक्रमणदर २.८ प्रतिशतबाट बढेर ३.६ प्रतिशत पुगेको छ ।

काठमाडौंसहित ६ जिल्ला ‘रेड जोन’ मा
नेपालमा अहिले कोरोना भाइरसबाट संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । तर, अस्पताल भर्ना भएर कोरोनामुक्त हुने व्यक्तिको संख्यासमेत उल्लेख्य रहेका कारण हालसम्म ५७३२ जना मात्रै सक्रिय संक्रमित छन् ।

देशभरका ७३ जिल्लामा रहेका यी सक्रिय संक्रमित २ सय जनाभन्दा बढी भएका जिल्लाहरू ६ वटा छन् । २ सयभन्दा बढी संक्रिय संक्रमित रहेका जिल्लालाई ‘रेड जोन’मा राखिएको छ । काठमाडौं (४९३ जना) कैलाली (६४७ जना), डोटी (२२१ जना), पर्सा (४७६ जना), रौतहट (७७० जना) र महोत्तरी (५२९ जना) । ‘रेड जोन’मा परेका जिल्ला हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो सार्वजनिक गरेको ‘स्थिति प्रतिवेदन’ अनुसार १६ वटा जिल्लामा ५१ देखि २०० जनासम्म संक्रमित छन् भने ५० जना भन्दा कम संक्रमित भएका जिल्ला ५१ वटा छन् । मनाङ, मुस्ताङ, संखुवासभा र भोजपुर जिल्लामा भने कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झरेको छ ।

उपत्यकामा उच्च जोखिम
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ६६५ पुगको छ । सोमबार ५१ जना संक्रमित भेटिएसँगै संक्रमितको संख्या ६६५ पुगको हो । उपत्यकाका जिल्लाहरू काठमाडौंमा ४९३ जना, ललितपुरमा १०८ जना र भक्तपुरमा ६४ जना कोरोना संक्रमित पुगेका छन् ।

बन्दाबन्दी खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या पाँच गुणाले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या बढिरहेको देखिएको हो । उपत्यकामा करीब एक महीनाको अन्तरमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै पाँच गुणाले बढेको देखिएको छ ।

काठमाडौंमा संक्रमण व्यापक रूपमा फैलिन सक्ने र बिरामीको संख्या ह्वात्तै बढ्न सक्ने जोखिम भएको जनस्वास्थ्यविद् डा. सेनेन्द्रराज उप्रेतीले बताउँछन् । ठूलो जनघनत्व र मानिसहरूको निर्वाध आवतजावत भइरहेकाले त्यस्तो जोखिम भएको हो । संक्रमण देखिएका अन्य जिल्लाबाट मानिसहरू आउने क्रम जारी रहेको र भविष्यमा बढ्न सक्ने भएकाले काठमाडौं जोखिममा रहेको उनको तर्क छ ।

कोरोना संक्रमित भेटिएका स्थान
काठमाडौंः कपुरधारा, कपन, चन्द्रागिरि, मैचीदेवी, मरुहिटी, कीर्तिपुर, पुरानो बानेश्वर, शंखमुल, चाबहिल, बालुवाटार, धुम्बाराही, महाराजगन्ज, तारकेश्वर, सीतापाइला, मनमैजु, नैकाप, गल्फुटार, कलंकी, धापासी, गोकर्ण, वसुन्धारा, बाफल, रानीवन, हाँडीगाउँ, कोटेश्वर, ट्याङ्लाफाँट, तीनकुने, खुसिबु, कागेश्वरी, टोखा, मूलपानी, काँडाघारी, साँखु, बौद्ध, बागबजार, वनस्थली, ताहाचल, सामाखुसी, टेकु, कुलेश्वर ।

भक्तपुरः सल्लाघारी, दुवाकोटा, बागेश्वरी, दुधपाटी, बालकोट, गठ्ठाघर, बोडे, भोलाछे ।

ललितपुरः महालक्ष्मी, महालक्ष्मी स्थान, बुङ्मति, लुभु, लगनखेल, सानेपा, ठैब, पाटन, गोदावरी, सुनाकोठी, धापाखेल, हरिसिद्धि, हात्तीवन, चापागाँउ, भैंसेपाटी, नख्खु, प्युटार, चौघरे, जावलाखेल, गोटीखेल, कुपण्डोल, ग्वार्को, ठेचे ।

बढी जोखिम क्षेत्रः बैंक तथा वित्तिय संस्था, सार्वजनिक स्थान, पार्क, सार्वजनिक यातायात, होटल तथा रेष्टुरा आदि ।

जनघनत्व धेरै भएका विदेशका सहरमा कोरोना संक्रमितको सङ्ख्या बढ्न धेरै समय नलागेको देखिएकोले नेपालमा पनि त्यही अवस्था आउन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । ‘मानिस सचेत भएका विदेशी सहरमा सङ्क्रमण नियन्त्रणमा पनि आएको छ भने लापरबाही गर्ने सहरमा सङ्क्रमण निकै छिटो बढेको पनि छ, यी दुवै खालका उदाहरण छन्,’ जनस्वास्थ्यविज्ञ डा. शरद वन्तले भने– ‘हामीले कुन उदाहरण मान्ने भन्ने मुख्य विषय हो ।’

‘भोलि काठमाडौं ‘हटस्पट’ बन्न सक्छ भन्ने सम्भावना ख्याल गरेर सरकारले र आमनागरिकले त्यसैअनुसार सचेत भएर काम गर्नुपर्छ,’ उनले भने । लकडाउन खुकुलो पारिएपछि खासगरी जनसङ्ख्या धेरै भएकै ठूला सहरहरू सङ्क्रमण धेरै देखिएकाले पुनः लकडाउनमा फर्किएका छन् । काठमाडौंमा पनि जोखिम उच्च रहेकाले त्यो लकडाउनमा जानुपर्ने स्थिति आउन सक्ने विज्ञको चेतावनी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *