स्वास्थ्यकर्मी, सेना र पत्रकारसहित पर्सामा थप ३४ जनामा देखियो कोरोना
काठमाडौं । पर्सामा थप ३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ६ महिला र २८ पुरुष गरी ३४ जनामा कोरोना संक्रमण देखिएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार नयाँ संक्रमितहरु १४ देखि ५६ वर्ष उमेर समूहका छन् । उनीहरुमध्ये ३१ जना पर्साका हुन् भने दुई जना बाराका रहेका छन् एक जना सुर्खेतका छन् ।
नयाँ संक्रमितमा सुर्खेत घर भई नेशनल मेडिकल कलेजमा काम गर्ने २८ वर्षीया महिला डाक्टर र वीरगञ्ज ११ घर भइ नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष छन् । यस्तै नारायणी अस्पतालको फार्मेसीमा कार्यरत दुई पुरुष, नारायणीकै पारामेडिक्सको कन्ट्याक्ट ट्रेसिङमा परेका अरू दुई स्वास्थ्यकर्मी पनि छन् ।
कोरोना संक्रमितको शव व्यवस्थापन टोलीमा खटेका सेनाका तीन जनामा पनि संक्रमण पुष्टि भएको छ भने एक जना पत्रकार र वडा प्रहरी कार्यालय विर्तामा थुनुवामा रहेका एक पुरुष पनि संक्रमित भए ।