खानेपानी पाइपलाइन भत्काइएकाेमा नेकपा र कांग्रेसकाे आपत्ति

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । जिल्लाकाे धरानमा खानेपानीकाे पाइपलाइन भत्काइएकाेमा सत्तारूढ नेकपा र नेपाली कांग्रेसले आपत्ति जनाएको छ । धरानमा खानेपानी बोर्डद्वारा विस्तार गरिएको धरान १३ स्थित सर्दु खोला मुहानमा रहेको पाइपलाइन र खर्दुको सेडिमेन्ट ट्यांकीबाट ल्याएको खानेपानीको पाइपलाइन खानेपानी संस्थाका प्रमुख सहितको संलग्नतामा भत्काइएपछि कांग्रेस र नेकपाले आपत्ति जनाएकाे हाे ।

नेकपा र कांग्रेस धरान नगर कमिटिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै खानेपानी जस्तो संवेदनशील क्षेत्रमा तोडफोड गर्ने जो कोहीलाई कानुन बमोजिम कडाभन्दा कडा कारवाही गर्न पनि माग गरेकाे छ । खानेपानीको मुहानमा अराजक समुह प्रवेश गराई तोडफोडको वातावरण सिर्जना गर्ने खानेपानी संस्थानका प्रमुखलाई पनि कारवाही गर्न माग गरिएको छ ।

धरानमा खानेपानीको विषयलाई लिएर लामाे समयदेखि विवाद चल्दै आएको छ । पछिल्लो समय सोही विवादको फाइदा उठाउँदै यस्ताे गतिविधिमा सोझा जनतालाई परिचालन गरिरहेको आरोप धरान मेयरकाे चुनावमा पराजित भएका हर्क सम्पाङमाथि लाग्दै आएको छ ।

धरानमा हिजो मात्रै खानेपानीकाे पाइप काटिएको थियो । संस्थानका निमित्त प्रमुख रामकुमार श्रेष्ठसहित दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिका संयोजक साम्पाङ नेतृत्वको समुहले तोडफोड गरेकाे आरोप लागेको छ । तर, संस्थानका निमित्त प्रमुख श्रेष्ठ र साम्पाङले भने तोडफोड नभइ पाइप खुस्काईदिएको मात्रै दाबी गरेका छन् ।

घटनालगतै स्थलगतरुपमा गएर बुझ्न र क्षतिको विवरण पेश गर्न निर्देशन दिइएको मेयर तिलक राईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *