दुहवी नगरपालिका पनि दुई साताका लागि लकडाउन

सुनसरी । कोरोना संक्रमण बढेपछि सुनसरीको दुहवी नगरपालिका पनि लकडाउन गरीएको छ । दुहवी नगरपालिकाले साउन २६ गतेसम्मका लागि नगरपालिका कार्यालय बन्द गर्ने घोषणा गरेको छ भने, नगरपालिका पनि दुई हप्ताका लागि लकडाउन गर्न निर्णय गरेको छ ।

दुहवीमा नगरपालिकाका कर्मचारी सहित चार जना कोरोना संक्रमित पुष्टि भएपछि संक्रमण बढ्न नदिन नगरपालिका क्षेत्रलाई लकडाउन गरीएको दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले बताए । उनले कोरोना संक्रमण समुदाय स्तरमा फैलिन नदिन यस्तो गरीएको बताउँदै नगरपालिका आफैंले पनि मास पिसिआर परीक्षण अगाडी बढाएको जनाए ।

‘हिजो १०७ जनामा कोरोना परीक्षण गरिएको थियो, जसमा ४ जनामा संक्रमण देखियो । आजपनि मास पिसिआर भइरहेको छ’, उनले भने । उनले अहिले आफुहरुलाई संक्रमितलाई कहाँ राख्ने समस्या भएको जनाए । मकालु खबरसँग कुरा गर्दै मेयर गच्छदारले दुहवीका ४ जनालाई आइसोलेसनमा राख्न पनि समस्या भएको जनाए । ‘वीपीमा सोध्यौं वेड खाली छैन भन्यो, गोठ गाउँमा पनि त्यस्तै, विराटनगरमा पनि रेस्पोन्स भएन । मास पिसिआर परीक्षण गर्न थालेपनि अब संक्रमितलाई कसरी राख्ने समस्या भइरहेको छ’ , मेयरले भने ।

उनले अब जिल्ला स्तरमै २ सय वेडको कोभिड हस्पिटल स्थापना गरेर नगए कोरोना संक्रमण नियन्त्रण गर्न नसकिने बताए । ‘जनताले मास पिसिआर भनिरहेका छन्, हामीसँग कोरोना संक्रमितलाई राख्ने ठाउँ भएन । अब जिल्लागत रुपमा २ सयको कोभिड हस्पिटल वा आइसोलेसन बनाएर जानुपर्छ ।’ उनले भने ।

लकडाउन अवधिभर अति आवश्यक वाहेक सबै प्रकारका पसलहरु बन्द रहनेछन् । खाद्यान्न, तरकारी लगायतका पसलहरु विहान ८ बजेदेखि १ बजेसम्म खोल्न दिने भनिएको छ । दुहवीमा लकडाउनको निर्णय उल्लंघन गर्नेलाई पाँच हजारसम्म जरीवाना गर्ने भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *