एसइईको काम सकियो, अब कहिले आउँछ रिजल्ट ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को नतिजा प्रकाशनका लागि सबै तयारी सकिएको छ । परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार नतिजा प्रकाशनको काम सकेर बोर्डलाई जानकारी गराइसकिएको हो ।

परीक्षा नियन्त्रण कार्यालयले आइतबार नै काम सके पनि मंगलबार साँझसम्म बोर्ड बैठक नबोलाइएकाले नतिजा प्रकाशनमा बिलम्ब भएको छ । ‘हामीले काम सकेर आइतबार नै बोर्डलाई जानकारी गराएका छौँ,’ एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘बोर्ड बैठक बस्नु एक घन्टाअघि खबर आएमा सबै सामग्री लिएर जान्छौँ ।’

सरकारको निर्णयअनुसार ०७६ को एसइईको विद्यालयले नै आन्तरिक मूल्यांकन गरेका थिए । सोहीकारण एसइईको महत्व पहिलेजस्तो नभएको बोर्डका अधिकारीको भनाइ छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भने- ‘बोर्डले प्रमाणीकरणको सूचना मात्र दिने हो, अब केही दिनमै रिजल्ट प्रकाशित गर्छौँ ।’

बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७६ को एसइईमा कुल चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी छन् । कोरोना संक्रमणको जोखिमका कारण गत चैतमा हुनुपर्ने एसइई सञ्चालन गर्न नसक्ने निर्णय सरकारले गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *