धरान: खानेपानीको पाइपलाईन काट्नेमध्येका साम्पाङ पक्राउ, श्रेष्ठको खोजी जारी
धरान । सुनसरीको धरानमा खानेपानीको पाइपलाईन काटेर क्षति पु-याउनेमध्येका एकजना पक्राउ परेका छन् । प्रहरीका अनुुसार क्षति पुुर्याएको आरोपमा हर्क साम्पाङलाई मंगलबारराती ९ बजे पक्राउ गरिएको हो ।
खानेपानीको मुहान क्षेत्र सर्दु खोलामा तोडफोडमा गरेको आरोपमा धरान उपमहागरपालिका खानेपानी व्यवस्थापन बोर्डले मंगलबार हर्क साम्पाङ राई र खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठ सहित अन्य व्यक्तिविरुद्ध किटानी जाहेरी दिएको थियो । जाहेरी आएकोले तत्काल कार्यन्वयन गरी साम्पाङलाई घरबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।
सरकारी कर्मचारी भएकाले रामकुमार श्रेष्ठलाई पनि नियन्त्रणमा लिन प्रक्रिया अगाडि बढाइएको डिएसपी बस्नेतले बताए । उनका अनुसार श्रेष्ठको खोजी भइरहेको छ । उनीहरू दईजनाुसहित सार्वजनिक सम्पति हानी नोक्सानीमा संलग्न सबैलाई पक्राउ गरी मुद्धा चलाइने ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
सोमबार खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर तिलक राईको अध्यक्षतामा बैठकले तोडफोड गर्नेविरुद्ध जाहेरी दिने निर्णय गरेपछि मंगलबार साँझ जाहेरी दिएको बोर्डका व्यवस्थापक राजु पाखरेलले जानकारी दिए । खानेपानीको मुहान जस्तो सम्बेदनशिल क्षेत्रमा आफुखुशी पुगेर तोडफोड गर्नु र खानेपानी संस्थानकै प्रमुखको संलग्नताले धरानवासीको खानेपानी मुहान असुरक्षित भएकोले जाहेरी दिइएको पोखरेलले बताए ।
यसैबीच धरानको खानेपानी मुहान क्षेत्रमा भएको तोडफोडका विषयमा सर्वत्र विरोध हुदै आएको छ भने बिभिन्न राजनीतिक दल नेकपा, नेपाली काग्रेस, समाजबादी पार्टी लगायतका दलहहरुले पनि खानेपानीको मुहान असुरक्षित भएको भन्दै विज्ञप्ति प्रकाशन गरी सो कार्यको निन्दा गरेको छ ।
पानवारीमा ४ बोरिङका योजना अलपत्र
धरानकै वडानम्बर ६ पानवारीमा बोरिङका ६ वटा योजनाहरुको बिषयमा सम्बन्धित निकायले ध्यान नदिँदा ४ वटा बोरिङका योजना अलपत्र अवस्थामा परेका छन् भने २ वटाबाट समेत पर्याप्त लाभ लिन नसकिरहेको अवस्था छ ।
धरान ६ मिल चोक नजिकै भएको बोरिङबाट खानेपानी वितरण थालिएको वडाध्यक्ष भुवनसिं बस्नेतले जानकारी दिए । त्यस्तै शितल चोक भन्दा पूर्वपट्टि रहेको बोरिङ पनि प्रयोग गर्न मिल्ने अवस्थामा भएपनि त्यसलाई समबन्धीत निकायले प्रयोगमा ल्याइएको छैन ।उखुबारी टोल, औद्योगिक ग्राम छेउ, मालपोत छेउ र मिलको बगैचा भित्र रहेको बोरिङ निर्माण सम्पन्न हुने चरणमा रहेपनि त्यसलाई निर्माण सम्पन्न गर्नका लागी कसैले चासो नदेखाउदा त्यत्तिकै बसेको छ । ४ वटा बोरिङ सिचाईका लागी भनेर राखिएको हो भने २ वटा खानेपानीकै लागी भनेर बनाइएको हो ।
यी सबै सञ्चालनमा आउने र त्यसलाई खानेपानीमा प्रयोग गर्ने हो भने समस्या नहुने स्थानीय उपभोक्ताहरुको गुनासो छ । धरानमा धारामा नियमित पानी नआउने तथा खानेपानी समितिको काम कारवाही पारदर्शी नभएको भन्दै उपभोक्ताहरु समय समयमा आन्दोलनमा उत्रदै आएका पनि छन् ।
उनीहरुले लामो समयसम्म खानेपानी तथा सरसफाइ समितिको कार्यसमितिमा एकै व्यक्ति रहेर अनियमितता गरेको र उपभोक्तालाई समेत पानी खुवाउन नसकेको भन्दै आन्दोलन गरिएको आन्दोलका अगुवा धरान–६ का सरोज चौलागाईले जानकारी दिएका छन ।