अयोध्यामा भव्य राम मन्दिर निर्माणको शिलान्यास गर्दै मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज उत्तर प्रदेश राज्यको अयोध्यामा राम मन्दिरको आधारशिला स्थापना गर्दैछन् । चाँदीले निर्मित पाँचवटा ईँटा ३२ सेकेन्डभित्र मन्दिरको जगमा राखिसक्नुपर्नेछ ।

त्यसरी आधारशिला राख्ने शुभमुहूर्त दिउँसो १२ बजेर १५ मिनेट १५ सेकेन्डमा निस्किएको बताइएको छ । भारतमा अहिले कोरोनाभाइरस सङ्क्रमणको महामारी तीव्र गतिमा फैलिरहेको छ । केन्द्रीय गृहमन्त्री तथा प्रधानमन्त्री मोदीका निकट सहयोगी अमित शाह स्वयं सङ्क्रमित भएर अस्पताल भर्ना भएका छन् ।

सत्ताधारी भारतीय जनता पार्टीका कैयौँ वरिष्ठ अधिकारी, एक पुजारी तथा कैयौँ प्रहरी पनि सङ्क्रमित भएका छन् । तर मन्दिरको शिलान्यास गर्ने योजना पूर्ववत् कार्यान्वयन हुने बताइएको छ । रामको जन्मभूमि मानिएको उक्त ठाउँमा राम मन्दिरको निर्माण हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टीको एक प्रमुख निर्वाचन वाचा रहँदै आएको छ ।सन् १९९२ मा उक्त स्थलमा रहेको प्राचीन बाबरी मस्जिद भत्काइएपछि हिन्दूमुस्लिम दङ्गा हुँदा हजारौँ मानिसको ज्यान गएको थियो । त्यसयता भारतीय जनता पार्टी तीनचोटि सत्तामा पुगिसकेको छ ।

गत वर्ष नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित स्थलमा राम मन्दिर बनाउन बाटो खोल्ने फैसला गरेपछि त्यहाँ भव्य मन्दिर निर्माणका योजनाले थप गति लिएको थियो । अयोध्यालाई हिन्दूहरू मर्यादा पुरुषोत्तम रामको जन्मभूमि ठान्छन् ।

अदालतले बाबरी मस्जिदको गुम्बज भएको स्थान हिन्दू पक्षलाई दिइने फैसला सुनाएको थियो । बीबीसीका अनुसार सन् १९९२ मा मस्जिद भत्काइएको एक दशकपछि यसअघि सन् २००२ मा उक्त विवाद इलाहाबाद उच्च अदालतमा दर्ता भएको थियो ।

त्यसको आठ वर्षपछि सेप्टेम्बर २०१० मा त्यसबारे एउटा फैसला आएको थियो जसअनुसार विवादित २.७७ एकड जमिनलाई बराबर तीन भागमा बाँडेर मुस्लिम समुदाय, हिन्दू समुदाय र हिन्दू सन्न्यासीहरूको एउटा सम्प्रदाय निर्मोही अखडालाई दिनुपर्ने आदेश दिइएको थियो । तर हिन्दू र मुस्लिम दुवै समूहले त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेपछि सन् २०११ मा त्यो आदेशलाई खारेज गरिएको थियो ।

जनकपुरको माटो र चाँदीका इँटा बोकेर नेपाली टोली अयोध्या प्रस्थान
यसैबीच राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा बोकेर त्यसतर्फ प्रस्थान गरेको छ । जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास जनकपुरको माटो र चाँदीका इँटा लिएर मंगलबार भारतको अयोध्या प्रस्थान गरेका हुन् ।

अयोध्या प्रस्थान गर्नुअघि महन्त दासले भगवान रामको मन्दिर शिलान्यासका लागि रामको ससुराली जनकपुरधामबाट चाँदीका ५ वटा इँटा र जनकपुरधामको माटो प्रदान गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *