यो देशमा एउटा मानिस खोजिरहने गायक योगीको जीवन संघर्षको कथा !

काठमाडौं । शिशिर योगी संगीतका मात्रै साधक होइनन्, उनी जीवनबीच आएका दुःख पीडा र असामान्य परिस्थितिका साधक पनि हुन् ।

समाजका विकृतिदेखि जल्दाबल्दा प्रेम-सम्बन्धसम्मलाई आफ्नो गीतमा अटाउने गायक योगी नेपाली सांगीतिक क्षेत्र एक झरिला नक्षत्र हुन् ।

त्यसो त पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा के के चुनौती छन् ? कस्ता कस्ता श्रष्टा तथा सर्जकहरुको जन्म भइरहेको छ ? गीतसंगीतको क्षेत्रमा नेपाल कहाँनेर उभिएको छ ? यी यावत् विषयमा सामाजिक गायकको छवि बनाएका योगी–

बुवा यामनाथ योगी र आमा मायादेवी योगीको कोखबाट दोस्रो सन्तानको रुपमा विसं २०२७ फागुन २६ गते दाङ देउखुरीको बागढड्डीमा जन्मीएका हुन् गायक शिशिर योगी । बागढड्डीमा जन्मिएका योगीको स–परिवार बसाइँसराइ गरी लमही नगरपालिकाको बलरामपुरमा झरे ।

परिवारमा दुईजना दाजुभाइ, दुईजना दिदिबहिनी, बुवाआमा गरी ६ जना थिए । उनी घरको सबैको प्यारो र कान्छो छोरा हुन् । शिशिर अगाडिका १ जना दाइ र १ जना दिदीको ६/७ महिनामैै मृत्युु भयो । त्यसपछि जन्मिएका हुन् गायक योगी । बीचका २ सन्तानको मृत्युपश्चात् जन्मिएका कारण पनि उनी घरमा सबैको प्यारो थिए ।

सानोमा उनलाई पनि केही हुन्छ कि भनेर कुकुरसँग बिहे गर्दिएका थिए शिशिरको परिवारले । सम्पन्न परिवारमा जन्मिएका शिशिर केही समयपछिको अवस्था भने एकदमै नाजुक भयो, कारण थियो शिशिरका बुबा न्यायप्रेमी थिए ।

उनका बुवा कसैलाई अन्याय भएको देख्नै नसक्ने, सबैले न्याय पाउनुपर्छ भनी न्यायको पक्षमा लडिरहन्थे । मामा पनि वन विभागको जमदार थिए । उनको जायजेथा श्रीसम्पत्ति गुम्नुमा गाउँको एकजना व्यक्ति र शिशिरको आाफ्नै काकाको ठूलो हात थियो । गाउँका ति व्यक्ति जो काठको चोरीनिकासी गर्थे । उनको बुवाले ती व्यक्तिविरुद्ध सम्बन्धित निकायलाई जानकारी गरिदिए । उसलाई प्रहरीले नियन्त्रणमा लियो र कारागार चलान गर्यो ।

त्यसपछि उसले आफ्नो बुवामाथि दागा राख्यो । ऊ केही समयपछि धरौटीमा जेलबाट छुट्यो । जेलबाट छुटेपछि शिशिरको बुवालाई उल्टो चोरीको आरोप लगाएर प्रहरीसमक्ष पुर्यायो ।

कहिलेकाहीँ राम्रो काम गर्दागर्दै पनि नराम्रो बन्न पुगिन्छ । नराम्रो आरोप लाग्छ । त्यही नै भयो उनको बुवालाई पनि । बुवालाई प्रहरीले दिएको यातना र शरिरमा लागेको चोटहरु देख्दा बुवाको प्रिय छाेरा शिशिरको मन छियाछिया हुन्थ्यो ।  विभिन्न मुद्दा मामिलाका कारण सबै सम्पत्ति गुम्यो । अनि शिशिरको परिवार गरिबीको चपेटामा पर्यो ।

बाल्यकाल
बाल्यकाल चौधरी समुदायमा सामान्य तरिकाले नै व्यतित गरे शिशिरले । राप्ती नदीको नजिकै थियो उनको घर । साथीहरुसँग दाउरा काट्न जङ्गल जान्थे । कहिले नदीले बगाएर ल्याएका दाउरा लिन राप्तीको किनारसम्म पुग्थे । त्यतिबेला ग्यासको जमाना थिएन ।

घरको आर्थिक अवस्था निकै नै कमजोर भएका कारण सानैदेखी डुङ्गा चलाउँथे शिशिर । त्यहाँबाट आएको केही पैसाले जीविकोपार्जन गर्न अलि सहज हुन्थ्यो शिशिरको परिवारलाई । उनी सानोमा चुलबुले स्वभावका थिए । कहिले वल्लो घर कहिले पल्लोे घर त कहिले साथीभाइहरुको घरतिर गइरहन्थे ।

सानैदेखि गीतहरु पनि गाउँने उनि त्यत्तिबेला रेडियो नेपालमा नारायण गोपाल, फत्तेमान जोशी, योगेश वैध, प्रेमध्वज प्रधानलगायतका गीतहरु बजेको सुन्दा गीतहरु कण्ठस्थ पार्थे । शिशिर ७ /८ वर्षको हुदाँदेखि नै तिनै गीतहरु गाउँथे । गीतसंगीत र साहित्यप्रति खुबै झुकाव राख्ने शिशिर विभिन्न कार्यक्रमहरुमा समेत सहभागीता जनाउँथे ।

त्यक्ति मात्रै होइन, उनी जिल्लामै राम्रो स्वर भएको विद्यार्थीमा गनिए । केही समयपछि जिल्ला शिक्षा अधिकारीले एक जना राम्रो स्वर भएको मान्छे खोजेको छ भन्ने कुरा उनले सुने ।

१ कक्षा देखि १० कक्षा सम्मका कक्षागत गीतहरु पनि कण्ठ पारेका थिए । कक्षागत गीत सुनाएपछि जिल्ला शिक्षा अधिकारीले उनलाई विश्वास गरेर त्यहाँ राखे । शिशिर जहाँ जान्थे त्यही उनी सबैको प्रिय बन्थे । उनलाई सबैले माया गर्थे । त्यहाँ उनले नारायण गोपाल, फत्तेमान जोशीका गीतहरु गाउँथे ।

शिक्षा
उनले गाउँकै सरकारी स्कूल जनता माध्यमिक विद्यालय देउखुरी बनगाउँमा कक्षा १० सम्मको पढाइ सकाए । सामान्य विद्यार्थी मात्र थिए पढाइमा त्यत्ति ध्यान हुँदैनथ्यो । किनकी, संगीतमा नै उनको ध्यान प्रायः केन्द्रित हुन्थ्यो । सानैदेखि गीतसंगीतमा मोह जागे पनि गायक बन्छु, संगीत क्षेत्रमा लाग्छु भन्ने त कल्पना समेत गरेका थिएनन उनले । किनकी, सानै थिए गीत गाएपछि कलाकार बनिन्छ भन्ने थाहा थिएन ।

जब गीतसंगीतको बारेमा अलिअलि बुझ्ने भएका थिए । गाउँघरमा साथीभाइ छर–छिमेकीले पछि गएर एउटा राम्रो गायक बन्छस् भन्दा मात्र उनलाई थाहा भयो कि, गीत गाएपछि गायक बनिनेरहेछ । अब म गायक बन्नुपर्छ, भन्ने लाग्यो । शिशिर भन्छन्, ‘आज यो स्थानसम्म म मेरो लगाव, मेहनत, निरन्तरता र प्रतिज्ञाले गर्दा नै छु ।’

उनको कलाकारिताप्रतिको लगाव र एकोहोरोपन देखेर बुवा आमालाई चिन्ता लाग्थ्यो । कतै छोराको भविष्य अन्धकार पो हुने हो कि ? बरु राम्रोसँग पढेर जागीर खाइदिएको भए ढुक्क हुन्थ्यो । तर, शिशिरको ध्यान त्यतातिर कहिल्यै गएन । शिशिर स्कूलमा पढ्दा धेरै नै लजाउँथे । भन्छनः– ‘स्कूलमा केटाले केटी साथी बनाउने केटीले केटा साथी बनाउने गरेको देख्दा लाज लाग्थ्यो, तर मलाई केटीहरुले भने खुब मन पराउँथे । नजिक हुन खोज्थे । मलाई भने मतलब नै हुदैन्थ्यो ।’

उनलाई मनैदेखि माया गर्नेहरु धेरै थिए, तर उनलाई त्यो माया थाहा नै भएन । तर ९ कक्षामा पढ्दा गाउँकै एक जना थारु समुदायकी केटीलाई उनले एक नजरमै मन पराए । शिशिर भन्दा अलि जेठी हुँदी हुन् उनी । देखेपछि मुुसुक्क हाँस्ने उनको बानीले आफूलाई भुतुक्कै बनाउने गरेको शिशिर सुनाउँछन् ।

त्यसपछि मात्र उनलाई मायाको अनुभूत भयो । गाउँमा एउटा ठूलो कुवा थियो, ति युवती सधैं कुवाको पानी उगाउन आउँथिन् । अनि शिशिर ति युवतीलाई भेट्न स्कूलबाट भागीभागी पुग्थे । उनी भन्छन्, ‘जब ति युवती मीठो मुस्कानको साथ जतिजति कुवाको नजिक आउँथिन्, उतिउति मेरो मुटु जोडजोडले धड्कन थाल्थ्यो, तर हामीहरु एक अर्कालाई हेराहेर मात्र गर्थ्यौं । बोल्ने आँट कसैको पनि हुदैन्थ्यो’ ।

युवती पानी लिएर आफ्नो बाटो लाग्थीन, शिशिर पनि आफ्नो बाटो । ‘अझै पनि ती यादहरु ताजै छन’ उनी भन्छन् । युवतीको प्रखाईमा शिशिरले धेरै समय कुर्नुपर्थ्यो । कहिलेकाहीँ त दिनभरि कुवामा बस्दा पनि आफुले मनपराएकाे मान्छे नआउँदा उनि न्याउराे मुख लगाएर फर्कन्थे । जबसम्म निदाउँदैन्थे तिनैलाई मात्र सम्झिरहन्थे शिशिर ।

शिशिरले विसं २०४८ सालमा प्रवेशिका दोश्रो श्रेणीमा उतीर्ण गरे । जब उनले प्रवेशिका परीक्षा दिए त्यसपछि मात्र संगीत सिक्छु भनेर  ३ सय रुपियाँ बोकेर काठमाडौं हान्निए । बिरानो अनि ठूलो शहरमा कहाँ बस्ने ? के खाने ? र कहाँ जाने ? भन्नेसम्म थाहा थिएन उनलाई । संगीतले पागलजस्तै भएपनि मनमा भने हिम्मत थियाे । त्यहि भएर ३ सय रूपिँया बोकेर काठमाडौं आएका थिए । फुर्सदमा पेन्टिङ गर्थे, बाँच्ने आधार भनेको नै पेन्टिङ्ग थियो ।

अरु केही गर्न नसके पनि पेन्टीङ्ग गर्छु र संगीत सिक्छु भन्ने अठोट लिएका थिए । केही समय पछि प्रवेशिका परीक्षाको परिणाम सार्वजनिक भयो पास पनि भए । तर उनलाई पुनः कहाँ पढ्ने कसरी पढ्ने भन्ने कुराले पोल्यो । साथीहरुलाई के पढ्न सजिलो हुन्छ, र सजिलै पास हुने कुन बिषय हो भनी सोधे । साथीहरुको सल्लाहमा नयाँ बानेश्वरको रत्न राज्य क्यम्पसमा कमर्स लिएर भर्ना भए । बिडम्बना उनलाई पहिलाे वर्ष ५ वटै बिषय लाग्यो । त्यसपछि मात्र उनी संगीत सिक्न थाले ।

त्यत्तिबेला शङ्खमूलमा साथीको डेरामा बस्थे शिशिर । संगीत सिक्न थालेपछि शिशिरले औपचारिक पढाइलाई  थाँती राखे । कुनै सिलसिलामा शिशिरले तत्कालीन यातायातमन्त्री खुम बहादुर खड्कालाई भेटे । मन्त्री सँग उनको राम्रो चिनजान पनि थियो । मन्त्री खड्काले सुपरभाईजरमा जागिर लगाई दिए । १ एक बर्ष जागिर खाए । त्यतिबेला ९०० रुपियाँ तलब हुन्थ्यो । त्यो तलबले उनले कोठा भाडा तिर्थे र संगीत सिक्थे । खाना खर्चको लागि साथीको घरबाट नै आउँथ्यो । कहिलेकाहीँ बचेको पैसाले तरकारीहरु भने किन्थे ।

जीवन र संघर्ष
विसं २०४८ सालमा घरबाट संगीत सिक्छु भनेर भागेर काठमाडौं आएका शिशिर अमर गुरुङ सँग संगीत सिक्न थाले । आइकम  पढ्दाको एक जना साथी जो अम्मर गुरुङसँगै संगीत सिक्ने रहेछन् । अनि ति साथीसँग अम्मर गुरुङकोमा गएर सिक्न थाले शिशिरले । त्यो समयमा संगीत सिकेको शुल्क २०० रुपैयाँ थियो ।

सानैदेखि गुरुङका गीत सङ्गीत सुनेका उनी अमर गुरुङसँग नै सिक्छु भनी काठमाडौं आएका थिए । उनी भन्छन्, ‘गुरुहरु त अरु पनि थिए तर मलाई उहाँसँग नै सिक्न मन थियो र सिके पनि । अहिले लाग्छ राम्रै गुरु छानेको रहेछु । सायद अरुसँग सिकेको भए आज यो स्थानमा हुँदैनथें होला । उहाँ जतिको विज्ञ अरु कोही रहेनछन् भन्ने कुरा धेरैपछि थाहा भयो ।’

संगीतको एउटा सामान्य विद्यार्थी भएकाले आफूलाई गीतको स्तरसम्म थाहा नहुने उनी सुनाउँछन् । यद्यपि उनले संगीतलाइ निरन्तरता दिने सोचे । रेडियो नेपालमा स्वर परीक्षा दिन जाँदा उनको मुटु जोडले धड्किरहेकाे थियो । के हुने होला कसो हुने होला भन्ने कुराले पिरोलिरहेको थियो ।फुपाजुलाई भने, ‘तपाईँले रेडियो नेपालमा चिनेजानेको कोही छन् कि छैनन् ? मेरो स्वर परीक्षण गर्नुपर्ने ।’ त्यसपछि फुपाजुले रेडियो नेपालको विज्ञापन शाखाका प्रमुखलाई मेरो मान्छे आउँदै छ र के के गर्नुपर्छ गर्दिनुहोला भनेर पठाए ।

१२०० जनामध्ये ९ जना मात्र पास भएका थिए । जसभित्र शिशिर पनि परे । त्यो दिन उनी धेरै खुशी  भए । सँगै उनलाई डर पनि पैदा भइरहेको थियो । किनकी, उनलाई गुरुले अहिले गीतहरु रेकर्ड गर्ने कुरा दिमागदेखि हटाईदेउ भनेका थिए । तर शिशिर रेडियो नेपालमा भ्वाईस टेस्ट दिएर पास भए ।

पहिलाे पटक विसं २०४९ तिर ‘दिलको प्यास म कहाँ गई मेटाउँ’ बोलको गीत रेकर्ड गरे । जुन गीतमा उनैले संगीत भरेका थिए । यता संगीत सिक्दै थिए । उता घरमा  बेला बेलामा चिठीहरु पठाइरहन्थे ।

संगीत सिक्दै जाँदा अरुले गीत गाएको सुन्थे । अनी आफू कमजोर भएको महसुस गर्थे । शिशिरले भने, ‘आफुलाई कमजोर भएको महसुस गर्न थालेपछि मैले घुँडा टेकेर बिहान ३ बजेदेखि रियाज गर्न थालें ।’ विस्तारै शिशिरलाई आफ्नो स्वर माझिएजस्तो लाग्न थाल्यो । स्वर त माझिन थाल्यो । तर उनीसँग गीतहरु रेकर्ड गर्ने पैसा नै थिएनन् । अरु केही विकल्पहरु पनि थिएनन् ।

त्यसपछि शिशिरले विभिन्न स्कूलहरुमा संगीत सिकाउन थाले । त्यसैक्रममा वरिष्ठ पत्रकार कनकमणि दीक्षितका छोराछोरीलाई शनिबारको दिन २०० रुपियाँको दरले संगीत सिकाउन थाले । त्यहाँबाट उनलाई केही राहत हुन थाल्याे । ४ महिना जत्ति दीक्षितको छोराछोरीलाई संगीत सिकाए । अनि दिक्षीतले शिशिरलाई विश्वास गरी व्यक्तिगत रुपमा २५ हजार दिए । उनकै सहयोगले ५ वटा गीतहरु रेकर्ड गर्ने अवसर समेत पाए ।

शिशिरको पहिलो गीती एल्वम ‘पहिचान’ हो । जसमध्येका ३ वटा गीत ‘सारंगी त रेटेपनि’, ‘यो देशमा म एउटा मानिस’, ‘चौतारीको बरै ढलेछ’ हुन् । यी गीतका गीतकार राष्ट्रकवि माधव प्रसाद घिमिरे,  विश्वनाथ बराल र क्षेत्रप्रताप अधिकारी थिए । जसले शिशिर योगी भनेर दर्शकहरु माझ चिनायो ।

हालसम्म उनले ५०० भन्दा बढी गीतहरु रेकर्ड गराइसकेका छन् । उनी प्रायः देशभक्ति, समाजमा घटेका यथार्थ घटनाहरुमा आधारित गीतहरु गाउँछन् ।

पुरस्कार तथा सम्मान
शिशिरले जीवनको कालखण्डमा जे जस्ता दुःख र अभावहरु झेल्नु परेपनि पछिल्लो समयमा नाम र दाम दुवै कमाए । उनी सामाजिक गायकको रुपमा स्थापित भइसकेका छन् । उनको कामलाई उच्च सम्मान गर्दै विभिन्न संघ संस्थाहरुले सम्मान समेत गरेका छन् ।

नेपाल जेसिज युवा पुरस्कार, नारायण गोपाल युवा पुरस्कार, छिन्नलता पुरस्कारलगायतका विभिन्न सम्मान तथा पुरस्कारले शिशिर सम्मानित भइसकेका छन् ।

कार्यक्रमको सिलसिलामा उनी बंगलादेश, चीन, यूएई, कतारलगायतका देशहरुसमेत पुगिसकेका छन् ।

बैवाहित जीवन
पश्चिम दाङको पञ्चकुलेका खिमा खड्कासँग शिशिरले विसं २०५१ सालमा मागी बिहे गरे । बिहे गरेपछि शिशिरले खिमाको नाम परिवर्तन गरि सिर्जना राखिदिए । ससुरालीमा सासु मात्र थिइन् । ससुरा भने सिर्जना सानै हुदाँ बितिसकेका थिए । सिर्जना आमासँग बसेर भर्खर ८ कक्षामा पढ्दै थिइन् ।

शिशिरका साथीले त्यही गाउँमा बोर्डिङ्ग स्कूल खोलेका रहेछन् । शिशिर त्यत्तिबेला काठमाडौं बस्थे । साथीले मैले स्कूल खोलेको छु घुम्न जाउँ भनेपछि शिशिर पनि निस्किए । त्यहिबेलामा सिर्जनासँग उनको भेट भयो । सिर्जना लजालु स्वभावकी थिइन् ।

‘उनको लजालुपनले मलाई मोहनी लगायो । हिँड्दा पनि खुट्टा नै बटारिन्थे उनका त्यही कारणले गर्दा नै मैले बिहे गरें ।’ शिशिर भन्छन् ।

शिशिरको साथीले उनको हात आमासँग मागिदिए । तर, उनको आमाले मानिनन् । किनकी उनी सानै थिइन् । अनि शिशिरको साथीले –‘मेरो साथीलाई छोरी नदिए, म स्कूलका सानासाना केटाकेटी लिएर तिम्रो घरमा घुल्दिन्छु’ भनेर डर देखाइ दिए । त्यसपछि सिर्जनाले नै आमालाइ हुन्छ भन्दिनुस् भनिन् । अनि शिशिरले सिर्जनालाई घरमा लिएर आए । उनलाई बिहेले गर्दा  करिअरमा असर पर्छकी भन्ने डर थियो । शिशिर भन्छन्, ‘विवाहको पहिलो दिनै मैले सोचेको थिएँ मेरो सांगीतिक करिअरलाई असर पार्लाकी नपार्ला । तर बिहे गर्दा मेरो करिअरमा अझ धेरै सपोर्ट भयो ।’

घरमा लगेको केहि दिनपछि शिशिरले घर नजिकैको मन्दिरमा लगेर सिन्दुर हाले । त्यसपछि सिर्जनालाई घरमै छोडेर शिशिर काठमाडौं आए ।  काठमाडौं आएपछि शिशिरकाे परिवारले सिर्जनालाई दबाव दिन थाले । तेरो श्रीमान् शहरमा रमाएर बस्ने, तँ यता पढ्न जाने ? शिशिरले माइत नै गएर बस म पछि लिन आउँछु भने । उनी पनि माइत गएर बसिन् । शिशिर केही समयपछि घरमै नगएर ससुराली पुगेर श्रीमती लिई काठमाडौं आए ।

काठमाडौमा अवस्था नाजुक थियो शिशिरको । सटरभित्र भुइँमा सुत्थे । सटरको बाहिर भैंसीहरु बाँधिएका हुन्थे । कानमा कन्सुत्लो पस्छ की भन्ने चिन्ता हुन्थ्यो । केही समयपछि एउटा घरमा कोठा लिएर बसे । शिशिर अरु भन्दा पनि बढी गीत संगीतकै चिन्ता लिन्थे । ‘म गीत संगीतमा यसरी डुबेंकि, कोठामा श्रीमती छ । म कोठामा जानुपर्छ भन्ने नै हुँदैनथ्यो । एक पटक ५ दिन सम्म कोठामा नजाँदा श्रीमती बिरामी भएर छिमेकीहरुले औषधि गरिदिएछन् ।’ उनी सम्झन्छन् ।

गीत–संगीतका कुराः
‘समाजका विद्यमान विकृतिबारे उठान गर्छु’
पहिला गीत संगीतमा आउनेहरु साधनाबाट तिखारिएर आउँथे । ठेट लोकपन हुन्थ्यो । शब्द संगीत गायन एरेन्जको सवल पक्ष हुन्थ्यो । अहिलेकोमा त्यो हुँदैन । लोक गीत संगीतको अवस्था बिग्रदै गएको छ । मौलिकता हराउँदै गएको छ । सबैको आ–आफ्नो पाटो हो । जसले जे बनाउँछ, उस्लाई त्यो राम्रो गरे जस्तो लाग्छ होला । तर मेरो पाटो भने फरक छ । सामाजिक रुपान्तरण, समाजका यथार्थ घटना परिघटना, भ्रष्टाचारविरुद्धका कुरा, दुःख, पीडाजस्ता विषय वस्तुहरु उठान गर्दछु ।

‘बजारमा बिक्ने सामग्रीतर्फ कलकारको मन मोडियो’
बजारमा के चल्छ के मन पराउँछन् भन्ने कुरामा धेरै कलाकारको ध्यान गयो । त्यसको लागि साधना पनि सिक्न परेन  । चोराचाेर गरे पनि हुने भयो । प्रख्यात हुन भन्दा पनि कुख्यात हुनु नै ठिक छ भन्ने सोच हाबी हुँदै गएको छ । त्यसैले हाम्रो मौलिकता ओझेल पर्दै गएको छ । यो बिडम्बना हो । म थोरै मात्र गीत गाउँछु । तर कुख्यातको पछि कहिल्यै लाग्दिनँ । मेरो इमान्दारीताले म अहिलेसम्म बाँचिरहेको छु । मलाई थोरैले चिन्छन् तर गहिरोसँंग चिन्छन् । मलाई त्यत्ति भए पुुग्छ ।

निकाय त बनेको छ । लोकदोहोरी प्रतिष्ठान बनेको छ । तर त्याे कार्यकर्ता भर्ती केन्द्र बनेको छ ।

ज–जसको सरकार त्यसकै कार्यकर्ता बनेपछि त्यसले अरु के काम गर्छ ? मौलिकताको जर्गेना कसरी हुन्छ ? मैले मात्र एक्लैले चाहेर वा अर्को एक जनाले चाहेर मात्र हुँदै हुँदैन ।

‘पार्टीको पछि लागिनँ’
म पार्टीको पछि लागिनँ । त्यसैले हामीले उठाएको आवाज कसैले सुन्नेवाला छैन । र सुन्ने पनि छैन । किनकी, म कुनै पार्टीको मान्छे होइन । म पार्टीको पछि लागिनँ ।

तर मैले पनि कुनै पार्टीको झोला बोकें भने मेरो आवाज सुनिन्छ । तर म पोलीटीकल फर्ममा समावेश हुन चाहन्नँ । हाम्रो मौलिकता हराउँदै जानु राष्ट्रको लागि बिडम्बना र घातक हो ।

‘माधव घिमिरेका गीत गाएर ‘हिट’ भएँ’
मैले उहाँलाई खाेज्दै जाँदा उहाँले गाउन नपाएका र गाउने इच्छा भएर पनि रेकर्ड हुन नपाएका गीतहरु गाएको छु । उहाँकै संगीतमा पनि २ वटा गीतहरु गाएको छु । अनि माधव घिमिरेको गीतबाटै म हिट भएँ ।

म माधव घिमिरेकै घरमा भेट्न गएर केही गीतहरु सुनाएपछि उहाँले मलाई ‘किन्नरी किन्नरी’ पुस्तकबाट रोजेर गीत लग्नुस् र कुन गीत रेकर्ड गर्न चाहनुहुन्छ मलाई भन्नुस् भन्नुभयो । त्यसबाट ‘सारङगी त रेटेपनि’ भन्ने गीत छानेर शक्ति बल्लभलाई संगीत भर्न दिए । त्यो गीत हिट भयो, र म पनि ।

‘यो देशमा म एउटा मान्छे खोजिरहेछु को जन्म’
एक जना सर हुनुहुन्थ्यो । उहाँले राम्रो कलम चलाउनुहुन्थ्यो । अनि मैले एउटा राष्ट्रिय गीत गरौं न भनेपछि उहाँले त्यो गीत लेख्नुभयो । त्यसपछि गाइए यो गीत ।

म यस्तै गीतहरु गाउन मन पराउँथें । मलाई सामाजिक गीतहरु गाउन मन पर्थ्यो । यो अर्थमा म एक सामाजिक गायक पनि हुँ । छाप पनि यस्तै गीत तथा संगीतहरुमा बस्यो ।

‘आफ्नै जीवनसँग मेल खाने गीतहरु पनि गाएँ’
मैले बुवाको बारेमा गीत गाउँदा भक्कानीएर रोएको छु । बुवालाई धेरै सम्झिएँ । सम्पूर्ण बुवाहरुको पीडा याद आयो ।
आमाहरुलाई सबैले सम्झिरहन्छन् । तर, बुवालाई कमैले मात्र सम्झन्छन् । बुवाहरु ओझेलमा परिरहेका हुन्छन् । म आमाको गीत गाउँदा भक्कानिएको छु तर, बुवाको गीत गाउँदा डाको छोडेरै रोएको छु ।

मेरो जीवनमा मेल खाएका गीतहरु धेरै छन् । जस्तै आमाले घाँस काट्दै गर्दा भीरमा जन्मिएको मान्छे म, किनकी म आमासँग दाउरा काट्न जान्थें । आर्थिक अवस्था कमजोर थियो ।

अनि ढिँडो आँटो मात्र सधैं खानुपर्थो । दाउरामा जाँदा साथीहरुले दाउरा काट्दिन्थें म रुखमा बसेर बाँसुरी बजाउँदै गीतहरु गाउँथें । त्यसैले अहिले म गायक बन्नकै लागि जन्मिएको रहेछु भन्ने भान हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *