वीपी प्रतिष्ठानमा समन्वय गरेर मात्र कोरोना संक्रमित पठाउन आग्रह

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित विरामीलाई प्रतिष्ठानमा पठाउनु अगाडी प्रतिष्ठानसँग समन्वय गर्न अनुरोध गरेको छ ।

विभिन्न जिल्ला, क्षेत्रहरुमा रहेका क्वारेन्टाइन, होल्डिङ सेन्टर तथा अस्पतालहरुबाट कोरोना पोजेटिभलाई समन्वय नगरीकन प्रतिष्ठानमा रेफर गर्दा समस्या भएको बताउँदै प्रतिष्ठानले समन्वय गर्न अनुरोध गरेको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले कतिपय अस्पताल, होल्डिङ सेन्टर र क्वारेन्टाइनबाट समन्वय नगरीकन प्रतिष्ठानमा कोरोना संक्रमित पठाउँदा उनीहरुलाई व्यवस्थापन गर्न असहज भएको जनाए ।

प्रतिष्ठानसँग शैया अभावका कारण यसरी समन्वय नगरी आएकालाई राख्न समस्या भएको प्रतिष्ठानले जनाएको छ । ‘कतिपय ठाउँबाट हाम्रो समन्वयकर्तासँग सम्पर्क नगरी संक्रमितलाई सिधै अस्पताल पठाईदिने र अस्पतालमा उहाँहरुलाई राख्ने शैया खाली नहुँदा संक्रमितले घन्टौं कुर्नुपर्ने हुन जान्छ ।’ प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिष्ठानले समन्वयको अभाव बारम्बार दोहोरिन गएकोले प्रतिष्ठानमा कोरोना संक्रमित व्यक्ति पठाउनु अगावै आधिकारिक समन्वयकर्तासँग सम्पर्क गरेर मात्र विरामी पठाउन अनुरोध गरेको छ । अन्यता समन्वय नभइ विरामी पठाउँदा हुने परिस्थितिको जिम्मेवार पठाउने व्यक्ति र संस्था हुने समेत जनाएको छ ।

हाल प्रतिष्ठानमा ७० वटा आइसोलेसन बेड रहेको छ । जहाँ कोभिडका लक्षण नदेखिएका तर कोभिड पोजेटिभ देखिएकालाई मात्र राख्ने गरीन्छ ।

प्रतिष्ठानमा आठ वटा भेन्टिलेटर सहितको १०० वेडको सुविधासम्पन्न कोभिड लेवल ३ अस्पताल रहेपनि त्यहाँ गम्भिर तथा लक्षण देखिएका विरामीलाई मात्र राख्न मिल्ने प्रवक्ता डा. सापकोटाले मकालु खबरसँग भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *