एफएनसीसीआईको साधारणसभा गर्न दुबै पक्ष तयार, चुनाबको मोडालिटी तयार गर्न समिति
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभा र चुनाबको मोडालिटी तय गर्न ६ सदस्यहरुको समिति गठन गरेको छ । बुधबार भएको कार्यसमिति बैठकले समिति बनाउने निर्णय गरेको हो ।
कोरोनाको कारण साधारणसभा २ पटक स्थगित भइसकेको छ । चुनाबको मोडालिटी तय गर्ने समितिमा रञ्जित आचार्य, अरुण सुमार्गी, भरत आचार्य, डीबी बस्नेत, बिनोद ढकाल र सुनिलगोपाल श्रेष्ठ रहेका छन् । सो समितिले १५ दिनभित्र साधारणसभा र चुनाबको मोडालिटी तयार पार्नेछ ।
त्यो मोडालिटीलाई कार्यसमितिले पारित गरेर सरकारलाई स्वीकृतीका लागि पठाउने निर्णय भएको स्रोतले बताएको छ ।
कोरोना संक्रमण रहिरहने अवस्था देखिएपछि साधारणसभामा कम सहभागिता गराउने र चुनाब समेत विद्युतीय माध्यमबाट गराउन दवाब परेको छ । तर कोरोना संक्रमण लामो समयसम्म रहने भए पछि साधारणसभाका लागि ठूलो जमघट नगरि विद्युतीय मतदान गरेरै भएपनि जानुपर्ने निष्कर्षमा दुबै पक्ष रहेका छन् ।