इन्टर मिलान युराेपा लिगकाे क्वाटरफाइनलमा

एजेन्सी । बेल्जियन फरवार्ड रोेमेलु लुकाकु र डेनिस फरवार्ड क्रिस्टियन इरिक्सनको गोल सहयोगमा इटालियन क्लब इन्टर मिलानले स्पेनिस क्लब गेटाफेलाई पराजित गर्दै युरोपा लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

जर्मनीमा बुधबार राति भएको दोस्रो लेगको खेलमा इन्टरले गेटाफेलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । पहिलो लेग गोलरहित बराबरीमा टुंगिएको थियो । भिल्टेन्स एरिना गेल्सेनकिर्चेनमा भएको खेलको ३३औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाएका थिए । उनले एलेसान्द्रो बास्टोनीको लामो पासलाई नियन्त्रणमा लिदै सिक्स यार्ड बक्सबाट गोल गर्न सफल भएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको इन्टरले दोस्रो हाफमा थप एक गोल गर्दै जित पक्का गर्‍यो ।

५१औं मिनेटमा निकोलो बरेल्लाको प्रयास डिफ्लेक्ट हुदै बाहिरिएपनि लगत्तै ड्यानियल डि एम्ब्रुसोको प्रहारलाई गेटाफेका गोलरक्षक डेभिड सोरियाले बचाए । ६७औं मिनेटमा एलान नियोमको क्रसमा जेमी माटाको हेडरलाई इन्टर मिलानका गोलरक्षक समिर हान्डानोभिकले उत्कृष्ट बचाउ गर्दै बराबरी टारे ।

७४औं मिनेटमा गेटाफेले पेनाल्टीमार्फत खेललाई बराबरी गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा गेटाफे बराबरीबाट चुक्यो । डिएगो गोडिनले ह्यान्ड तथा जर्ज मोनिलालाई पुस गरेपछि भिएआरको सहायता लिदै गेटाफेलाई पेनाल्टी प्रदान गरेको थियो । तर, इन्टरका गोलरक्षक समिरले गलत जज गरेपछि मोनिलाको पेनाल्टीको बाहिरिएको थियो ।

८०औं मिनेटमा लुकाकुले अग्रता दोब्बर पार्ने अवसर खेर फाल्यो । ८३औं मिनेटमा गेटाफेका खेलाडीको कमजोर क्लियरेन्सको फाइदा उठाउदै क्रिस्टियन इरिक्सनले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनायो । इन्ज्युरी समयमा एलेक्सिस सान्चेजले सुनौलो अवसर पाएपनि सदुपयोग गर्न नसक्दा इन्टर फराकिलो अग्रता लिनबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर २–० ले विजयी हुन सफल भयो । अब इन्टरले क्वाटरफाइनलमा रेन्जर्स र बायर लिभरकुसनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै अर्काे खेलमा युक्रेनी क्लब साख्तर डोनेक्सले जर्मन क्लब वल्फ्सवर्गमाथि ३–० को रोमाञ्चक जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको छ । साख्तरले समग्रमा ५–१ को जित निकालेको हो । सबै तीन गोल अन्तिम समयमा भएको थियो । इन्ज्युरी समयमा जुनियर मोराइसले दुई तथा मानोर सोलोमोनले गोल गर्दै साख्तरलाई नाटकीय र रोमाञ्चक जित दिलाएका थिए ।

जुनियरले ८९औं र इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा गोल गर्दा मानोरले इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गोल गरेका थिए । दुवै टोलीले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो । ६८औं मिनेटमा साख्तरका डाभिड खोचोलाभा सिधै रातो कार्ड तथा ७०औं मिनेटमा वल्फ्सवर्गका जोन एन्थोनी ब्रुक्स दोहोरो पहेलोको कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

अब साख्तरले क्वाटरफाइनलमा आइनट्राख्ट फ्रान्कफर्ट वा एफसी बसेलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *