‘सिनेमा नदी हो, अप्ठ्यारो परिस्थितिमा पनि आफ्नो बाटो बनाउँदै सागरसम्म पुग्छ’
काठमाडौं । चर्चित लेखक तथा निर्देशक नवल नेपाल विसं २०५१ सालदेखि नेपाली फिल्म क्षेत्रमा आवद्ध छन् । हालसम्म उनले ८ ओटा फिल्म दर्शकहरुलाई पस्किसकेका छन् । जुन दर्शकहरुले पनि अत्यधिक मन पराइदिएका छन् । फिल्म क्षेत्रबाहेक अन्य क्षेत्र नरोजेका नवल जुनसुकै क्षेत्रलाई पनि सम्हाल्न सक्ने क्षमता भएका निर्देशक हुुन् । अब चलचित्र क्षेत्रलाई कसरी अगाडि बढाउने र चलचित्र नगरीले यो विषयमा कस्तो पहल गरेको छ, भन्ने विषयमा मकालुखबरसँग गरिएको कुराकानीको केही अंश :
लकडाउनमा रहँदा कतिको सहज, असहज भयो ?
लकडाउनले मलाई मात्र होइन, सम्पूर्ण जनतालाई असर पारेको छ । अब सहज असहज भन्ने कुराहरु त भइहाल्छन् । यो लकडाउन बीचमा मैले ३ वटा स्क्रिप्ट लेखेको छु । कोरोना अलि साम्य भयो भने हामी फ्लोरमा जान्छौं ।
कुन विधाका स्क्रिप्ट लेख्नुुभएको छ ?
विभिन्न किसीमका विधाहरु हुन्छन्, तर मैले स्क्रिप्टहरु लेख्दै जाँदा जीवन दर्शनसँग अलि नजिक हुन्छु। त्यो जीवन दर्शनले जोसुकै मान्छेलाई पनि टार्गेट गरोस् । मेरो यहि विधा भन्ने छैन । भोलि बनाउँदै जाँदा वयस्कले मन पराउन सक्छन् । बालबच्चा अथवा वृद्धवृद्धाहरुले मन पराउन सक्छन् । त्यसैले मैले कसरी राम्रो काम गर्ने भन्ने मात्र सोचिरहन्छुु ।
३ ओटा स्क्रिप्टको कथा अलग अलग छ । जस्तो ठाउँको, वातावरण, संस्कार, परिवेश र समाज फरक–फरक हुन्छ । त्यसैले मैले ती कथालाई कसरी प्रस्तुत गर्न सकिन्छ, भन्ने कुरालाई बढी जोड दिएको छु । विशेषतः मैले पारिवारिक कथा नै लेख्छु, र अहिलेका स्क्रिप्टहरु पनि त्यस्तै छन् । मैले लेखेको कथाहरुको फिल्म हेर्दै गर्दा त्यो कथाले दर्शकको मन मस्तिष्क खिच्न सकोस् भन्ने मेरो मान्यता हुन्छ ।
कोरोनाले गर्दा चलचित्र क्षेत्रलाई कतिको असर पारेको छ ?
मनोरञ्जन भनेको मान्छेको चौंथो अंग हो । प्रत्यक्ष रुपमा असर त गरेको छ । तर चलचित्र भनेको नदी हो । यो बगीरहन्छ । यसले जुनसुकै बाटो पनि लिन सक्छ । जस्तै अहिले त विभिन्न माध्यमहरु बनेका छन् । युट्युब, टेलिभिजनलगायतका वेबसाइडहरु छन् । ती विधिहरु पनि अपनाउन सकिन्छ । जुन तरिकाबाट गए पनि जाने भनेको त दर्शकहरु समक्ष मात्र हो । त्यसकारण चलचित्रको सौन्दर्यता र चलचित्र कहिले पनि टुंगिदैन, र विस्थापन पनि हुँदैन ।
चलचित्र क्षेत्रको वर्तमान अवस्थालाई कसरी नियाल्नुभएको छ ?
अहिलेको अवस्था सबैको नाजुक नै छ । चलचित्रको मात्र होइन । हामीहरुले चित्त कहाँ बुझाउने हो भने हामीले जुन दुःख पाईरहेका छौँ त्यो भन्दा अझ धेरै दुःख पाउनेहरु पनि हुनुहुन्छ। हामी धेरै जना सिनेमामा कार्यरत त छौँ तर सबै जना यसैमा आश्रित छैनौँ। कुनै न कुनै विकल्प छ। तर हामी भन्दा असहज जीवनलाई हेरेर पनि हामीले एक अर्कामा होस्टेमा हैसे गर्नु पर्छ। यसो गर्दा मानवीय सदासयता पनि जिउँदो रहन्छ।
अब चलचित्र क्षेत्रलाई अगाडि बढाउन चलचित्रकर्मीहरुले कस्तो पहल गर्नुपर्ला ?
कोरोना भाइरस भन्दा अगाडि चलचित्र क्षेत्र फुलिरहेको थियो । राम्रा चलचित्रहरुको उत्पादनहरु भएको थियो र ब्यापार पनि राम्रो थियो । अब यो कोरोनापछि चलचित्र क्षेत्रले कुन किसिमको गति लिन्छ भन्ने कुरा अहिले नै यकिन गर्न सकिँदैन । तर सत्य के हो भने चलचित्र क्षेत्र कहिलै पनि टुुङगिदैन । चलचित्र क्षेत्र धमिलियो भने कसरी राम्रो बनाउने भन्ने कुरा सोच्नु पर्छ ।
हरेक कुराको सुरुवात हामी आफैबाट गर्नु पर्छ । जति पनि चलचित्र क्षेत्रमा आबद्ध हुनुहुन्छ । सबै जना एकजुट भएर लाग्नु पर्छ । अनि दर्शकहरुले कस्तो चलचित्र मन पराउँछन् त्यो हेरेर बुुझेर, छानेर लाग्ने हो भने चलचित्र क्षेत्रले गति लिन समय लाग्दैन । त्यसैले आउने दिनहरुमा चलचित्रको सुन्दर दिनहरु देखेको छु । सबैले मेरो होईन हाम्रो भनेर लाग्नुपर्छ । त्यो हाम्रोलाई राम्रो बनाउन अरुबाट अपेक्षा गर्ने होईन आफूबाट सुरुवात गर्नुपर्छ । आफू आवद्ध संघसंस्थाहरुमा भएका समस्याहरु लिनुपर्छ । संस्थाले पनि समस्याको छानबिन गरेर अगाडि बढ्नुपर्छ ।
कलाकार तथा प्राविधिकले पारिश्रमिक घटाउनुपर्छ भन्ने कुरामा तपाईँको धारणा के छ ?
नेपालमा जति पनि चलिरहेका कलाकारहरु छन । जसले बढि पारिश्रमिक लिनुहुन्छ ती सबैले भन्न सक्नुपर्छ की २० लाख लिनेले मलाई २५ लाख दिनुस् म त्यसको शेयरमा बस्छु । यदि त्यसो भयो भने कलाकारलाई पनि राम्रो निर्मातालाई पनि राम्रो हुन्छ ।
पछिल्लो समय चलचित्र क्षेत्रका धेरै मान्छेहरु फेसबुक, ईन्स्ट्राग्राम र ट्वीटरमा धेरै आश्रीत हुन थालेका छन् । त्यो हाम्रो लागि राम्रो पक्ष होइन । राम्रा कुराहरु पोख्नुपर्छ यसमा दुुईमत छैन । किनकी कसैले राम्रो काम गर्यो भने सुरुवात सामाजिक सञ्जालबाटै हुन्छ । तथापि मन गढन्ते र अरुको लहलहैमा लाग्नु राम्रो होईन ।
एउटा उदाहरणः तपाईँले मलाई गाली गरेर कुनै स्टाटस लेख्नुभयो भने र तपाईँको गालीलाई प्रतिकार स्वरुप मैले अर्को स्टाटस लेखे भने त्यो राम्रो लक्षण होईन । सामाजिक सञ्जालमा पिरो र तिखो बोलेर सस्तो नबनौँ । हामी कत्तिको महङ्गो हुने सामाजिक सञ्जालका गतिविधि र प्रस्तुतिले पनि तय गर्न मद्दत पुर्याउँछ । कलाकार र दर्शक बिचको व्यावसायिक सामिप्यता अपरिहार्य हुन्छ । यो बिर्सनु हुन्न हाम्रा अभिव्यक्ति र प्रस्तुतिले समाजमा गहिरो प्रभाव पार्छ ।
त्यसैले कलाकारिताको आचारसंहितामा बस्न अनिवार्य छ । हामी आम दर्शकहरुको लागि आदर्श हुन सक्छौ । त्यो आदर्श र व्यक्तित्वलाई जोगाउने जिम्मेवारी हाम्रो हो । आफ्ना कुन कुरा दर्शकहरु माझ पुुर्याउने र कुन कुरालाई टाढै राख्ने भन्ने कुरालाई छुट्याउन सक्नुपर्छ । त्यसो गरियो भने हाम्रो पारिश्रमिक पनि बढ्छ । होईन भने भएको पारिश्रमिक पनि घट्छ ।
चलचित्र क्षेत्रलाई अगाडि बढाउन चलचित्र उद्याेगले कस्तो पहल गरेको छ ?
चलचित्र क्षेत्रमा जति पनि आवद्ध छन् । उनीहरु सबैले चिन्ता व्यक्त गरिरहेका छन् । आ–आफनो ठाउँबाट सबैले पहल पनि गरिरहेका छन् । यसमा अझ बढि चलचित्र निर्माता संघहरुले चिन्तन गरिरहेको छ । निर्माता संघले जुन किसिमको पहल गरिरहेको छ त्यो हाम्रो लागि एउटा मार्गदर्शन पनि हो । चलचित्र संघ एउटा छाता संगठन भएको कारण पनि आफ्नो ठाउँबाट लागिरहेको छ । त्यो एकदमै सराहनीय काम हो । निर्माता संघका अध्यक्ष आकाश अधिकारीको पहलमा अर्थ मन्त्री, सञ्चार तथा सूचना मन्त्रीलाई भेटेको खबर पाएका छौं । सरकारका केहि मान्छेहरुले भनेका छन्–तपाईँहरुले हामीलाई सम्झाउनु भयो, घच्घच्याउनु भयो, हामीलाई त्यो बारेमा जानकारी दिनुुभयो समस्या बताउनुभयो भने हामीलाई पनि अगाडि बढ्न सजिलो हुन्छ । त्यसैले सरकारको जति जिम्मेवारी छ त्यति हाम्रो पनि छ । हामीले सरकारको मात्र मुख ताकेर हुँदैन । आफैले केहि गर्नु पर्छ ।
अबको योजना के छ ?
कोभिड १९ बाट अवस्था सामान्य भएलगत्तै एउटा चलचित्र निर्देशन गर्ने तयारी गर्दैछु । हामी सबै मिलेर कामना गरौं यो महामारीबाट चाँडै मुक्त हुनेछौं । स्वस्थ रहौं, सुरक्षित रहौं ।