के अब कोरोना महामारी ‘भगवान् भरोसा’ नै हो ?

काठमाडौं । काठमाडौं उपत्यकालगायत अन्य केही बाहिरी जिल्लाहरुलाई कोरोना भाइरस [कोभिड १९]ले ‘हटस्पट’ बनाइरहँदा र संक्रमण गुनात्मक रुपमा बढ्दै गर्दा सरकारले भने अब के गर्ने ? कसरी जाने ? कस्तो रणनीति बनाउने ? भन्नेबारे मेलोमेसो पाएको छैन ।

यस अर्थमा सरकार संक्रमणविरुद्ध लाचार देखिएको छ । तर, बढ्दो संक्रमण नियन्त्रणको निम्ति सरकारको तयारीको गति भने एकदमै सुस्त छ, झनै पछिल्लो समय त सरकारले तयारी नै पनि गर्न छोडेको छ । अझ झनै सरकारले भन्न थालेको छ–‘अब संक्रमण बढ्यो भने हाम्रो श्रोत साधनले भ्याउँदैन ।’

बन्दाबन्दी (लकडाउन्)को समाप्तीसँगै सार्वजनिक जीवनमा आएको गतिशीलताले संक्रमणदर बढिरहे पनि अब बन्दाबन्दी तत्कालका लागि नगर्ने भनेर सरकारका प्रवक्ताले भनिसकेका छन् ।

कोरोना रोकथाम र नियन्त्रणको निम्ति गत वर्षको ११ चैत्रबाट बन्दाबन्दी गर्दैगर्दा सरकार यो समस्या निवारणको लागि जति गम्भीरतापूर्वक र केन्द्रित भएर लागेको थियो, अहिले त्यो गम्भीरता सरकारसँग छैन ।

सरकार र शासक वर्गको ध्यान महामारीतिर निकै कम मात्रामा गएको प्रष्ट देखिन्छ ।

छिमेकी र धेरै सीमा–नाकाहरु जोडिएका मुलुक भारतमा कोभिडका बिरामीहरुको संख्या ह्वात्तै बढ्दैगर्दा नेपालका शासकहरूमा भने यो महामारीविरुद्ध लड्ने आत्मविश्वास ह्रास हुँदै गएको होकि भनेर लक काट्न त्यत्ति गाह्रो छैन ।

‘भारतजस्तो माथिल्लो अर्थतन्त्र भएको देशले त सकेन हामीले के सकौंला र ? अब के हुन्छ हेर्दै जाऔं’को भावमा ट्वाल्ल नेपाल सरकार अब ‘भगवान् भरोसा’मा हिँड्न थालेको छ ।

सरकारले पछिल्लो दिनमा त महामारीविरुद्ध कसरी जाने, कस्तो खालका सतर्कता अपनाउने भन्नेबारे रणनीति बनाउनै छाडेको छ । ‘हामीले सकेको यत्ति हो, अब बाँकी हेर्दै जाऔं’को अवस्थामा यत्तिबेला सरकार हेरिरहेको छ ।

सरकारले आपत्कालीन केही रफु भर्ने प्रयास गरे पनि प्रणालीमै रहेको समस्या समाधान गर्नतर्फ भने सोचेको छैन ।

कोरोनाको पछिल्लो आक्रमण यसअघिकाभन्दा कडा भएको विज्ञ चिकित्सकहरूले बताइरहँदा सरकार भने संक्रमणविरुद्ध निरीह देखिनु नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि त्यक्ति शुभ संकेत पक्कै होइन । बरु यो खतराको साइरन हो ।

यसैले सत्ता सम्हालेका दलका नेताहरुले शून्य हात लाग्ने बैठकमा दिनानुदिन सहभागी भएर समयको बर्बादी गर्नुभन्दा कोरोना कहरबाट जनतालाई कसरी जोगाउने भन्नेतिर केन्द्रित हुँदा कता हो कता सबैका लागि राम्रो हुन्छ ।

सिङ्गो देश एक ढिक्का भएर संक्रमणविरुद्ध लड्नुपर्ने आजको टड्कारोलाई बिर्सेर सत्ता हातमा लिएका शासक दलका नेताहरूले जुङ्गाको लडाइँ गर्ने मूर्खता मोलिरहेछन् ।

यत्ति मात्रै होइन, सरकारले बन्दाबन्दी समाप्त भएपनि सर्वसाधारणले पालना गर्नुपर्ने नियम तथा संहितामा कडाइ गर्नसमेत छोडेको छ । अन्य कुराहरु त परै छोडौं । सार्वजनिक सवारीमा ‘सीट ग्याप’ र सेजिटाइजरको प्रयोग समेत छैन ।

सार्वजनिक यातायात त यसको एउटा प्रतिनिधि सन्दर्भ मात्रै हो । अन्य क्षेत्रमा पनि अवस्था राम्रो छैन । तर, सरकारले यसमा कुनै नियमन गर्न सकेको छैन । क्रमसः मानिसहरुले मास्कसमेत लगाउन छाडिसकेका छन्, सरकार यसलाई पनि रमिता मानेर हेरिरहेको छ ।

अब सरकारले दुई तिहाईको घमण्ड नगरी आफ्नो नागरिकको सुरक्षामा जुट्नुपर्छ । सबै राजनीतिक दलहरु मिलेर ‘बन्दाबन्दी खोलिएको अवस्थामा कसरी जाने ?’भन्ने विषयलाई मुख्य एजेण्डा बनाएर अघि जानुपर्छ । जनताहरुलाई अझै सचेत गराउनुपर्छ ।

लक्षणसहितका बिरामी देखिन थालिएको यो अवस्थामा सरकार महामारीविरुद्ध लाचार देखिनुले महामारी ‘भगवान् भरोसा’तिर ढल्किएको हो भनेर बुझ्न थालिएको छ ।

पछि गएर कदाचित कोरोना अनियन्त्रित बन्दै गए नेपालको स्वास्थ्य प्रणाली र पूर्वाधारले साथ नदिने वास्तविकताबारे लगभग चार–पाँच महिनाको अनुभवबाट नेपाली जनताहरु जानकार भइसकेको छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *