सरकारलाई मात्रै सराप्ने, नागरिक सचेतना खोई ?

आफ्ना नागरिकको जिउधनको सुरक्षा गर्नु राष्ट्रको प्रमुख दायित्व हो । विश्व कोरोना महामारीले आक्रान्त हुँदा नेपाल पनि त्यसबाट अछुतो छैन । संक्रमित बढ्दै जाँदा नागरिक मात्र होइन, सरकार समेत आत्तिएको अवस्था छ ।

संकटका बेला नागरिकले अनुहार हेर्ने सरकारको नै हो, हुनत फलानो दिन यस्तो संकट आउँला भन्ने पूर्वजानकारी कसैलाई हुने त हैन, तैपनि यस्तै संकटहरुसँग लड्न र त्यसबाट नागरिकलाई बचाउन नै राज्यको अवधारणा बनेको हो । तर यस्तो बेला सरकारले गर्न सक्ने र गर्नुपर्ने न्यूनतम कामहरुबाट चुक्दै गएको अनुभूति जब नागरिकलाई हुन्छ, तब अत्यासलाग्दो वातावरण तयार हुन्छ । संकट गहिरिँदै र अभाव बढ्दै जाँदा परिस्थिति नियन्त्रण बाहिर जान सक्छ । र, जनताका नजरमा सरकारप्रति नकारात्मकता बढ्न जान्छ । जुन अस्वभाविक पनि हैन ।

विपदका बेला नागरिकलाई ढाडस दिनुपर्ने सरकार आफैं बिचलित हुनुले नागरिकमा निराशाको सन्देश प्रवाह हुन्छ । यसतर्फ सरकार र प्रमुख राजनीतिक दलको ध्यान जान सकेको देखिँदैन ।

राज्यका अंगहरुलाई आफ्नो आवश्यकता अनुसारका सेवा प्रवाह गर्न सक्षम बनाउनु र तिनीहरुमाथि निरन्तर निगरानी राख्नु यस्तो संवेदनशील घडीमा त अझ जरुरी हुन्छ । सरकार र राज्यका संयन्त्रहरुले आफ्ना नागरिकहरु सबैप्रति उनीहरुले पनि महसुश हुनेगरी समान व्यवहार गर्नु अति आवश्यक छ । तर बिडम्बना नागरिकप्रतिको दायित्व सरकारले पूरा गर्न नसकेको आम मानिसमा अनुभूति हुन थालेको छ ।

यहि बेला आपसी सत्ता संघर्ष र भ्रष्टाचारका समाचार बाहिर आउनु अवश्य पनि शुभ संकेत होइन । विपदका बेला नागरिकलाई ढाडस दिनुपर्ने सरकार आफैं बिचलित हुनुले नागरिकमा निराशाको सन्देश प्रवाह हुन्छ । यसतर्फ सरकार र प्रमुख राजनीतिक दलको ध्यान जान सकेको देखिँदैन । तर राज्यले प्रयास नै नगरेको होइन । महामारीका बेला सरकारले जारी गरेको नियम-निर्देशनको पालना गर्नु नागरिक दायित्व पनि हो । त्यसो गरिएको भने देखिँदैन ।

अब गरौं नागरिक दायित्वका कुरा, सरकारले लकडाउन सक्किएको घोषणा गरेपछि नागरिक फुरुंग भए । उनीहरुमा खुसी छायो कि अब कोरोना छैन, हामी जहाँ पनि जान पाउँछौं । तर सरकारले भनेको थियो-‘कोरोना सक्किएको होइन, अनावश्यक घरबाट बाहिर नकिस्कनु’ १५ जनाभन्दा बढी जम्मा नहुन, होटल, रेष्टुरा, सपिङ महलमा भीड नगर्न भन्दाभन्दै पनि नागरिकले वास्ता गरेको देखिँदैन । यहाँसम्मकी सरकारले नागरिकलाई सामाजिक दुरी कायम गर्न भनेकोमा नागरिकहरु भने लकडाउनको सामान्य नियम पनि पालना नगरी उन्मुक्त भइरहेका छन् ।

सडक–बजारको भीड देखेर लाग्छ, कोरोना त यहि भीडमा कुल्चिएर मरिसक्यो ! पहिला पहिला कोरोना लाग्छ भनेर झ्यालसमेत खोल्न नमान्नेहरु हिजोआज खुलेयाम सडकमा डुलिरहेका छन् । हावाबाट कोरोना सर्छ भनेर चश्मा लगाउनेहरु मास्क नलगाएर हिँडिरहेका छन् । अझ नाक र मुख छोप्न लगाईने मास्क चिउँडो र हातमा बोक्नेहरु भिडभाडमा देखिन्छन् । यो देख्दा यस्तो लाग्छ कि मास्क कोरोना भाइरसबाट बच्नलाई हैन फेसन देखाउन लगाइएको हो । सामाजिक दुरीको के कुरा सरकारी कार्यालयमा सेवा लिनेहरुको भीडबाटै स्पष्ट हुन्छ, कोरोनालाई कसरी गिज्याइरहेका छन् भनेर ।

मानिसको भीडभाड र जमघट गरी बस्ने बानी पुरानै शैलीमा फर्किएको देखिन्छ । यसरी बस्दा सामान्य सावधानी अपनाएको पाइँदैन । कतिले त सामान्य मास्क पनि नलगाई पसेका देखिन्छन् । जसले गर्दा उनीहरु मात्रै होइन परिवार र छरछिमेक पनि उत्तिकै जोखिममा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार काठमाडौँको न्युरोड, असन, इन्द्रचोकमा नयाँ बिरामी थपिने क्रम जारी छ तर नागरिक त्यस क्षेत्रमा कुनै पर्वाह नै नगरी पसलहरु सञ्चालन गरिरहेका छन् । जोरबिजोर प्रणाली लागू भएपनि निर्वाध रुपमा सबै खालका सवारी सञ्चालन भएकै छ । प्रहरी प्रशासनले पनि जोरविजोर प्रणाली कार्यान्वयन गर्न खासै तदारकता देखाएको छैन । यसले महामारी थप बढ्नका लागि सहयोग पुगेको स्पष्ट हुन्छ ।

 

हुनत हामी नेपालीको बिर्सने बानी छ ! ७२ सालको भूकम्पलगायत ठूला ठूला विपत्तिहरु बिर्सेका छौं । यहि बानीले गर्दा अहिले पनि कोरोना बिर्सन खोजेको भान हुँदैछ, तर यो लापरबाहीले जोखिम कति बढ्न एकपटक गम्भीर हुन आवश्यक छ । किनभने, कोरोनासँग लड्नका लागि बाहिर सम्पर्कबाट छुट्टिएर घरमै बस्नु बाहेकको उपचार छैन ।

सरकारले नागरिकको जिउधन रक्षाका लागि उठाएका कदमको पूर्ण पालना नुहुनु दुःखद छ । सरकारको आँखा चिम्लेर समर्थन गर्न सकिँदैन तर, यस्तो बेलामा अरु कुरालाई पर राखेर सरकारले गर्ने सानोभन्दा सानो काममा पनि नागरिकले गर्ने सहयोगले अर्थ राख्छ भन्ने पक्षलाई ध्यानमा राखेर हातेमालो गरे यो संकटलाई पराजित गर्न सक्छौं ।

सबै लडाइँ मैदानमा गएर मात्रै लडिँदैनन् र जितिँदैनन्, युद्धमा भनिए जस्तै सबभन्दा राम्रो युद्ध त्यो हुन्छ, जुन नलडेरै जितिन्छ । कोरोना भाइरस विरुद्धको लडाइँ पनि हामीले घरमै बसेर र सावधानी अपनाएर जित्न सक्छौं । जो सचेत छौं, सजग बनौंं र सचेतता नपुगेका ठाउँमा सचेतना पुर्याउन आफ्नो ठाउँबाट मद्दत गरौं । आफू पनि बचौं अरुलाई पनि बचाऔं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *