सवारीमा भाडा मात्रै धेरै, खै स्वास्थ्यको मापदण्ड ?

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधनमा यात्रा गर्दा लाग्छ, काठमाडौंमा कोरोना नै छैन । न यात्रु सजक छ, न त सवारी सञ्चालक नै । यात्रा गर्ने यात्रुहरु पनि बस, माइक्रो बस र ट्याम्पो आउनेबित्तिकै झुम्मिएर चढिरहेका छन् । सवारी चालकले मनलाग्दी यात्रु हालेर सवारी सञ्चालन गरिरहेका छन् ।

सरकारले थोरै यात्रु राखेर सवारी सञ्चालन सामान्य अवस्थामाभन्दा कोरोना संक्रणको समयमा ५० प्रतिशत बढी भाडा लिन अनुमति दिएको थियो । अहिले सवारीमा खचाखच यात्रुलाई यात्रा गराउँदा पनि सवारी चालनकहरुले सामान्य अवस्थाकोभन्दा ५० प्रतिशत धेरै भाडा लिइरहेका छन् ।

यात्रुहरुले बसका मान्छे धेरै हाल्ने अनि भाडा पनि धेरै लिने भनेर चालकसँग कुरा गर्दा कोरोनाले सरकारले नै ५० प्रतिशत भाडा थपेर लिन भनेको छ । अफिस टाइमभन्दा बाहेक हामी खाली नै हिडिरहेका हुन्छौं भनेर चालनले जवाफ दिइरहेका छन् ।
तराईका जिल्लासँगै काठमाडौं उपत्यका पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेको छ । उच्च जोखिम भएको क्षेत्रमा सवारी सञ्चालन गर्दा स्वास्थ्यको स्वास्थ्यको मापदण्डको कुनै प्रवाह नै छैन् ।

उपत्यकामा दैनिकजसो नै संक्रमणदर बढ्दो क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताइरहेको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा संक्रमण देखिएपछि उनीहरूमार्फत् धेरैमा संक्रमण फैलिएको छ । आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा समेत संक्रमण बढेको छ ।

अहिले मानिसले लापरवाही र हेल्चेक्र्याइँ गरिरहेका छन् । तरकारी किन्दा, होटलमा खाजा खाँदा, सवारीमा यात्रा गर्दा स्वास्थ्यको मापदण्ड नपनाउँदा समस्या बढिरहेको छ ।

उपत्यका भित्रिने नाकाबाट सहज रुपमा मानिस आवतजावत हुँदा संक्रमण फैलिन सहयोग गरेको छ । जसरी संक्रमणदर बढ्दो छ, त्यसरी नै परीक्षणको दायरा बढाउनु आवश्यक हुने स्वास्थ्य विज्ञहरु बताउँछन् । शुरुका दिनमा भारतको सीमा क्षेत्रमा बढी संक्रमण देखिएको थियो । अहिले भारतबाट आउने क्रम न्यून भएपछि नेपालभित्रै संक्रमण फैलिसकेको छ ।

सवारी, पसल र होटल लगायतका ठाउँमा भौतिक दूरी कायम गर्ने कुरामा समेत ध्यान कम छ, भीडभाड बढ्दो छ । बाहिरी जिल्लाबाट मानिसहरू निर्वाध रूपमा भित्रिरहेका छन् । यी विभिन्न कारणले उपत्यकामा कोभिड फैलाउन मद्दत गरेको स्वास्थ्यविज्ञहरु बताउँछन् ।

कोरोना फैलिरहेको अवस्थामा स्वयं सावधानी अपनाइएन भने नियन्त्रण नहुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् ।

नेपालमा गत ९ माघमा पहिलो संक्रमण देखिएको थियो । त्यसपछि चैतमा फाट्टफुट्ट देखियो । वैशाख अन्तिम सातापछि ह्वात्तै बढेको थियो । त्यो बेला क्वारेन्टाइनमा बसेका मानिसमा बढी थियो । भने अहिले समुदायमै देखिन थालेकाले जोखिम बढ्दै गएको छ ।

कोरोनाको संक्रमण रोकनका लागि विभिन्न जिल्ला र स्थानीय तहले आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेर नियन्त्रण प्रयास गरिरहेका छन् । समुदाय आफैँ सचेत भएन भने नियन्त्रण गर्न कठिन हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *