गौतम बुद्ध महान् भारतीय हुन् : विदेशमन्त्री जयशंकर

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भगवान् गौतम बुद्ध महान् भारतीय भएको टिप्पणी गरेका छन् ।

‘कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिज’ले गरेको अनलाइन अन्तर्क्रिया कार्यक्रममा बोल्दै विदेशमन्त्री जयशंकरले संसारले सम्झिने दुई महान् भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका हुन् ।

अन्तर्क्रियाका क्रमा प्रश्नकर्ताले उनलाई पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टरजस्तै राष्ट्रिय स्वार्थलाई भन्दा विश्वव्यापी मान्यतालाई अघि राख्ने नेतृत्व भारतीय विदेश नीतिमा छ? भनेर सोधेका थिए । जवाफमा जयशंकरले आफूले कार्टरभन्दा झन् राम्रो उदाहरण आफूले दिने बताए ।

‘म हाम्रै इतिहासबाट दुई उदाहरण दिन चाहन्छु । अहिलेसम्मका दुई जना महान भारतीय को हुन् ? तपाईं सम्झन सक्नुहुन्छ ?’ जयशंकरले भने, ‘म भन्छु, एक जना गौतम बुद्ध हुन् । र अर्का महात्मा गान्धी हुन् । उनीहरू तपाईं हामीजस्ता भारतीयले सम्झने भारतीय मात्र होइनन् बरू संसारले सम्झने महान् भारतीय हुन् । अहिले पनि भगवान् बुद्ध र महात्मा गान्धीका गुण धेरैले सम्झिन्छन् ।’

नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई भारतीयहरूले यसअघि पनि बेलाबेलामा आफ्नो भएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *