कोरोना र विदेशी क्वारेन्टिन अनुभवः फरक छ नेपाली र कतारी समाज !

काठमाडौं । २०२०/०६/२१ का दिन एउटा रिपोर्ट हातमा पर्यो– ‘कोरोना पोजेटिभ’ । यो खबर सुन्दै गर्दा छाँगाबाट खसेजस्तै भएकी थिएँ म । ड्युटीबाट रुँदै फर्किएँ । सिल थियो अपार्टमेन्ट । भित्र कोलाहल । त्यो दृश्यले मडारिएको मन परिवारको सम्झनाका पहाडमा ड्याङ, ड्याङ् ठोक्किएर साउने झरीझैँ आँखाबाट बर्सिए । सायद बादलको गर्जन हुन्थ्यो त सबैले सुन्थे, मनको कसले सुन्ने ? म आफैँले !

मसहित ३–४ जनामा संक्रमण पुष्टि भएपछि फ्ल्याटका सबैलाई क्वारेन्टिनमा राखियो । कोही एक्लै टोलाउँदै थिए । कोही स्वदेश (नेपाल) मा रहेका आफन्त, परिवारलाई संक्रमणको खबर सुनाउँदै थिए । आफ्ना डर, त्रास बाँड्दै थिए । मैले भने परिवारका कसैलाई सुनाइनँ । सुनाउँ पनि कसलाई ? दिदी अलि बढी नै चिन्ता लिन्छिन् । केही नराम्रोे सुन्नै हुन्न, आफ्नोभन्दा बढी उनैको आँशु झर्छ ।

बहिनीलाई भनौँ भने ‘आफ्नो केयर गरिनस्’ भनेर कचकच सुरु गरिहाल्छे । ‘खाना समयमै खानु, अरुसँग धेरै नबोल्नु, आफ्नो ख्याल राख्नू’ उसका दैनिकका उपदेश हुन् । झन् कोरोना आएपछि त फोन उठाउने बित्तिकै ‘साबुन पानीले हात धुनु, दूरी कायम राख्नु, सेनिटाइजर र मास्क लगाउनु’ भन्न थालिहाल्छे । कहिलेकाहीँ त वाक्क पनि लाग्छ, बच्चालाई झैँ ट्रिट गर्छे !

यी दुई बाहेक अरुलाई दुःख बाँड्न खासै मन पनि नलाग्ने । दुःख बाँड्दा घट्छ भन्छन्, तर पनि मलाई खुशी बाँड्नै मज्जा लाग्छ । त्यसैले पनि ‘मेरो कोरोना’ डर, त्रास, अनुभव सबै मैमा सीमित रह्यो ।

केहीबेरको सन्नटापछि अस्पताल लैजाने तयारी सुरु भयो । अस्पतालका लागि सामान प्याकिङ गर्दै गर्दा यस्तो लाग्थ्यो कि म यमलोक यात्रामा निस्कँदै छु । मृत्यु स्वयम् लिन आएको छ ‘कोरोना अवतार’ मा । त्यतिबेला मृत्युको भयले भन्दा पनि छोरीको सम्झनाले मुटु यति जोडले धड्किएको थियो कि ती सुक्ष्म आवाज मैले पहिलो पटक सुनेकी थिएँ ।

हो, ठ्याक्कै त्यही क्षण हो, मैले विश्वमा कारोना फैलिएको महसुस गरेको । त्यही क्षण हो कोरोना घातक लागेको । यी आँखाले नदेखेका कोरोनाको तस्विर मष्तिस्कले आकार बनाएको पनि त्यही क्षण हो । म साँच्चै निराश थिएँ । मनमा जन्मिएका सपनालाई पाल्न, हुर्काउनका लागि कतार छिर्ने बेलाको जोस र जाँगर मरिसकेको थियो ।

अर्को सुर्ता विदेशी भूमिमै प्राण त्याग्नुपर्ने हो कि भन्ने थियो । एक–एक गरी भर्खरै पालुवा पलाउँदै गरेका सपनाको चिहान खन्न सुरु गर्दागर्दै अस्पताल पुगियो । त्यहाँ पुगेपछि आफू जस्तै अरु थुप्रै संक्रमित देख्दा मन अलिकति बलियो भयो ।

चिकित्सकहरुले मोटिभेट गर्न थाले । चिकित्सकको उपयुक्त हेरचाहका कारण दुई/तीन दिनपछि सामान्य ज्वरो, खोकी, घाँटी दुख्ने, खानाको गन्ध र स्वाद थाहा नहुने, जोर्नीहरु दुख्ने, रुघा लाग्ने लगायतका लक्षणहरु विस्तारै हट्दै गए । निराशालाई पन्छाउँदै आफैँलाई पनि मजबूत बनाउँदै लगेँ ।

करिब १८ दिनपछि म आफ्नो फ्ल्याटमा फर्किएँ, सकुशल । यसरी निको भएर फर्किनुमा चिकित्सकसँगै त्यहाँको खानपान र व्यवस्थापनको पनि ठूलो भूमिका छ । क्वारेन्टिन, आइसोलेसनमा बस्दा दैनिक माछा, मासु, अण्डा, फलफुल खुवाइन्छ, जसले रोगसँग हार्न दिँदैन । लड्न सकिन्छ र जितिन्छ । मैले जितेँ पनि ।

कोरोना जितेर फर्किएपछि मैले ‘काग र कान’ को उखान झलक्क सम्झिएँ ! हल्लाको पछि दौडिन नहुने रहेछ । कोरोना त्यति डरलाग्दो छैन जति हामीले बनाएका छौँ । बस् सजग रहनुपर्यो । स्वास्थ्यवर्द्धक खाना खानुपर्यो । आत्मविश्वास डगमगाउन दिनुहुँदैन । आफूलाई मजबूत बनाउनुपर्छ, जस्तोसुकै रोग पनि जितिन्छ ।

नेपालका आइसोलेसन, क्वारेन्टिनका बारेमा सुन्दा पनि होला सायद सुरूमा मनमा डर पैदा भएको । यहाँ पनि त्यस्तै छ कि भन्ने लागेको थियो, तर रहेनछ । व्यवस्थापन राम्रो छ यहाँको । नेपालमा जस्तो कोरोना संक्रमित भनेर भेदभाव गरिँदैन । किरा परेका खाना खुवाइँदैन । निकै सफा र स्वच्छ, स्वस्थ हुन्छ वातावारण । सरसफाइमा उत्तिकै ध्यान दिइएको छ । नेपालमा जस्तो घृणा पनि गरिँदैन यहाँ । मानिसहरुमा चेतना छ ।

जब कोरोनाको केस देखिन थालेको थियो, त्यहीबेलादेखि नै यहाँको सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डहरु कडाईका साथ पालना गर्न लगाएको थियो नागरिकलाई । विस्तारै कन्ट्रोल हुँदै गएको अवस्थामा अझैपनि यहाँ मार्केटमा मास्क, पञ्जा, सेनिटाइजर नलगाइ पस्न दिइँदैन ।

डिउटीमा जाँदा बसमा एक सिटमा एक जना मात्रै राखिन्छ । नेपालमा सुनेजस्तो पाएँ भनेर सबै यात्रु कोच्दैनन् चालकले । वास्तवमा नेपालमा पनि यी नियम कडाईका साथ लागु गर्ने हो भने सायद फेरि लकडाउन आवश्यक पर्दैन । जतिसक्दो भौतिक दुरी कायम गरेकै राम्रो ।

नेपालमा कोरोना विदेशबाट आउने नेपालीले भित्र्याएको भनिन्छ । होला पनि । किनकी विदेशतिर फैलिरहँदा नेपालमा फैलिकेको अवस्था थिएन । तर दोष मात्रै थुपारेर सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्नु नागरिकको जीवनमाथि खेलवाड गर्नु हो । यो नियन्त्रणमा नागरिकको पनि प्रवल भूमिका रहन्छ । हामी नेपाली अलिकति लापरवाही पनि छौँ स्वास्थ्यको मामिलामा । अब सचेत हुनुपर्छ ।

०००          ०००

यो संकटमा वैदेशिक रोजगारमा रहेका नेपालीहरु स्वदेश फर्कन चाहन्छन् । महामारीका समय परिवारको साथ, समर्थन खोज्नु असामान्य होइन । यहाँ मानसिक तनावका कारण कतिले आत्महत्या प्रयास गरिरहेका छन् । यी यावत् कुराहरु देख्दा, सुन्दा यहाँ बस्न पटक्कै मन लाग्दैन ।

फर्किहाल्न पनि डर छ । नेपालमा क्वारेन्टिनको अवस्था भयावह छ भन्ने सुनिन्छ दिनहुँको समाचारमा । समयमै परीक्षण र उपचार नपाउँदा कतिले ज्यान गुमाएका छन् । क्वारेन्टिनभित्रै संक्रमणको जोखिम हुन्छ रे । आइसोलेसनमा संक्रमितलाई छुन पनि डराउँछन् रे चिकित्सक । निको भएर फर्किसकेको अवस्थामा पनि समाजको लाञ्छना सहन नसकेर कतिले आत्महत्या गरेका छन् रे ।

यस्ता खबर सुन्दा स्वदेश फर्किन डराइरहेका छन् यहाँ (कतार) मा रहेका नेपालीहरु । यहाँ त आइसोलेसनमा चिकित्सकहरु दिनहुँ आइरहन्छन्, संक्रमितसँग डराउँदैनन् । यहाँका चिकित्सकले बिर्सिएका छैनन् आफ्नो जिम्मेवारी । नेपालमा त खान पनि दिइँदैन रे क्वारेन्टिनमा भन्ने समेत सुनिन्छ । अनि कसरी स्वदेश फर्कने हिम्मत आउनु ? यहाँ जोगिएको ज्यान त्यहाँ गयो भने !

मैले यसो भनिरहँदा नेपालमा रहेका कति साथीहरुलाई लाग्न सक्छ– ‘यो केटीलाई देशको माया रहेनछ’ । तर त्यस्तो होइन । स्वदेशको माया कसलाई हुन्न र ? आफ्नो देशमै बसेर केही गरौँ भन्ने सोच मेरो पनि नभएको कहाँ हो र ? तर सोचेजस्तो हुन्न रहेछ हजुर !

यहाँ पनि काम बन्द छ अहिले । काम बन्द भएपनि कम्पनीले खाने र बस्ने सुविधा दिएको छ । समय–समयमा आधा भनेपनि स्यालरी पाइन्छ । नेपालमा त कर्मचारी कटौती भन्ने मात्रै खबर आउँछ फेसबुक वालमा । सरकारले रोजगारी सिर्जना गर्न सक्ने होइन, यस्तो अवस्थामा स्वदेश फर्किएर के गर्नु ? तनाव मात्रै ।

यहाँ कति जना रोएर बसेका छन् मातृभूमि सम्झिएर । मलाई पनि फर्किऊँ कि भन्ने लाग्छ एक मनले । फेरि अर्को मनले छोरीको भविष्य बनाउने संकल्प सम्झिन्छु । उनैको लागि त हामी दुवै (श्रीमान–श्रीमती) विदेशी भूमिमा पसिना बगाइरहेका छौँ । मलाई यी भौतिक शरीरको माया लाग्ने पनि उनैको कारण हो । मेरो देहान्तपछि श्रीमानले त अर्की अर्धाङ्गीनी पाउनुहोला तर छोरीले आमा पाउँदिनन् ।

मलाई मात्रै होइन, हरेक आमालाई सन्तानको माया हुन्छ, आफ्नो भन्दा ज्यादा । उनीहरुको उज्जवल भविष्यको लागि जे गर्न पनि तयार हुन्छन् । मर्न पनि । हो, म पनि त्यही गर्दैछु । उनैको मायाले पनि म आजसम्म जीवित छु जस्तो लाग्छ । छुट्टै ऊर्जा छ उनको मायामा, जसबाट मलाई रोगसँग मात्रै होइन हरेक परिस्थितिसँग जुध्ने शक्ति मिल्छ ।

सायद अब केही महिनामा डिउटी सुरु हुन्छ होला । कोरोनाबाट तंग्रिएको पनि २ महिना बढी भइसक्यो । फेरि लाग्ला कि भन्ने चिन्ता लाग्दैन अचेल । किनकी मैले रोग बुझिसकेकी छु । अब हल्लाको पछि दौडिरहनु आवश्यक छैन, वश ! स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरे पुग्छ ।

तपाईँहरु पनि नआत्तिनुस् भन्न चाहन्छु । यो बाहिर आएजस्तो खतरनाक रोग होइन । भ्रममा नपर्नुस् । रोगसँग तर्सिनुभन्दा बरु पौष्टिक तत्वयुक्त खाना खाएर रोग प्रतिरोधात्मक क्षमता बढाउनतिर लाग्नुस् । तनावरहित रहनुस् ।

आफन्त, छरछिमेकले पनि छिछी–दुरदुर नगरौँ । निको भएर फर्किँदा स–सम्मान स्वागत गरौँ । अवहेलना नगरौँ, मानविय व्यवहार गरौँ । संक्रमणमुक्त भइसकेको अवस्थामा उसलाई मानसिक तनाव दिएर, आत्महत्याको बाटो रोज्न बाध्य नबनाऔँ । सरसफाईमा ध्यान दिऔँ ।

कोरोना भएकाहरुले पनि नलुकाउनुस् । रिपोर्ट पोजेटिभ आएपश्चात् कति संक्रमितहरु अस्पतालको सम्पर्कमा नआएको भन्ने कुराहरु आइरहेका छन् । यसो नगरौँ । तपाईँको सानो लापरवाहीले बालबालिका र वृद्धवृद्धाको जीवन नासिन सक्छ । खुशी खोसिन सक्छ । देश र समाजलाई संक्रमणमुक्त बनाउन हामी नागरिकको पनि उत्तिकै भूमिका रहन्छ । देश र समाजका लागि लड्ने, एकजुट हुने यो अवसर नगुमाऔँ । सचेत नागरिकको जिम्मेवारी पूरा गरौँ !

अब युवाहरुले आफ्नो टोल, गाउँ, छरछिमेकमा कोरोनाबारे सचेतना अभियान सञ्चालन गर्नु देशका लागि फलदायी हुन सक्छ । सरकारले युवापुस्तालाई यसतर्फ प्रेरित गर्नु आवश्यक छ । महामारीको संक्रमणकालीन अवस्थामा भ्रष्टचारतर्फ उन्मुख हुनु, सत्ताका लागि दौडधुप गर्नु पक्कै राम्रो होइन । गरिब तथा दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउनेका लागि राहत व्यवस्था जारी राख्नुपर्छ । यी यावत् कुराहरु ध्यान दिए नेपालको अर्थतन्त्र र नागरिकको ज्यान जोगिएला कि !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *