अफगानिस्तानका घाज्नीमा बम हमलामा परि सात जनाको मृत्यु

घाज्नी । अफगानिस्तानको घाज्नी प्रान्तमा शनिबार प्रहरी चौकीलाई लक्षित गरी भएको कार बम बिस्फोटमा सात जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता तारेक एरियनका अनुसार सशस्त्र विद्रोहीहरुले बिस्फोटक पदार्थले भरिएको कार घाज्नी शहरको बाहिरी इलाकामा रहेको कोटाल रावा प्रहरी चौकीमा साँझ ७:४५ बजे बिस्फोट गराएका थिए । प्रवक्ता तारेकले उक्त घटनाको अनुसन्धान थालिएको जानकारी दिए ।

प्रान्तीय सरकारका प्रवक्ता वाहिदुल्लाह जुमाजादाले पनि घटनाको पुष्टि गर्दै आक्रमणकारीहरु प्रहरी चौकीभित्र प्रवेश गर्न खोजेका तर प्रहरीको प्रतिकारले उनीहरुको त्यो प्रयास सफल हुन नपाएको बताए ।

उक्त आक्रमणको घटना ४०० जना विवादास्पद तालिबान बन्दीका विषयमा निर्णय गर्न लोया जिर्गा अर्थात समाजका ज्येष्ठ एवं प्रबुद्ध वर्गको बैठक बसिरहेका समयमा भएको छ । लोया जिर्गा बैठकमा अफगानिस्तानका विभिन्न भागबाट आएका तीन हजारभन्दा बढी सदस्यको सहभागिता छ ।

घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार १०० लडाकूलाई जेलमुक्त गरिसकेको छ । तर तालिबानले जेलमा अझै बन्दी अवस्थामा रहेका ४०० लडाकूलाई तत्काल रिहाई गर्नुपर्ने माग गर्दै आएको छ । सरकारको भनाईमा यी लडाकू ट्रक बम आक्रमण, अपहरण र नागरिक हत्याका आरोपी हुन् ।

सरकार र विद्रोही तालिबानबीच लडाकूको रिहाईसँगै अन्तर/अफगान संवाद हुने र वर्षौंदेखिको गृहयुद्ध समाप्त हुने अपेक्षा गरिएको छ । यसैबीच, लोया जिर्गाले अफगानी जेलमा बन्दी ४०० लडाकूलाई मुक्त गर्न सिफारिस गरेको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *