कोभिड व्यवस्थापनमा खटिएका सहसेनानीको अनुभव– ‘नेगेटिभ रिपोर्ट आउँदा युद्ध जिते झैँ लाग्यो’

विराटनगर । छिमेकी देश भारतबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकलाई राख्नका लागि नेपाली सेनाको जिम्मेवारीमा गत जेष्ठ १३ गतेबाट विराटनगरमा ‘होल्डिङ सेन्टर’ तयार गरिएको छ ।

भारतबाट आएका नेपाली नागरिक आफ्नो सम्बन्धित जिल्लाको क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा नजाँदासम्म विराटनगरस्थित डिएभी होल्डिङ सेन्टरमा रहने व्यवस्था छ ।

विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परिस्थितिमा नेपाल आउनै पर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई गत जेठ १४ गतेदेखि भारत र नेपालको अन्तर जिल्ला समन्वयसँगै भारतमा रहेका नेपाली नागरिकलाई उद्धार गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयको मातहतमा रहेको विराटनगरको होल्डिङ सेन्टरको जिम्मेवारी सूर्यदल गणलाई दिइएको छ । अन्य निकायको सहयोगमा सेनाले भारतबाट आएका नेपाली नागरिकहरूलाई नेपाल–भारत सीमा नाका जोगबनीबाट आएदेखि होल्डिङसेन्टरमा राख्ने र सम्बन्धित प्रदेशमा नबुझाउँदासम्मको प्रक्रियामा नेपाली सेनाको भूमिका रहेको उक्त होल्डिङ सेन्टरका कमान्डर सूर्यदल गणका सहसेनानी खड्ग बहादुर निरौलाले जानकारी दिए । उनले सुरक्षा तथा अन्य व्यवस्थापनको काममा पनि सेनाको महत्त्वपूर्ण भूमिका रहने बताए ।

प्रदेश, स्थानीय सरकारको साथै सूर्यदल गणबाट सहयोग
कोरोना महामारीको अवस्थामा अग्रभागमा रहेर कार्यभार सम्हालिरहेका नेपाली सेनालाई प्रदेश सरकार, विराटनगर महानगरपालिकाले हौसलापूर्ण साथ दिएको सहसेनानी निरौलाले बताए । उनका अनुसार भारतबाट आएका नेपाली नागरिकलाई होल्डिङ सेन्टरमा रहँदासम्मका लागि चाहिने स्वास्थ्य सामाग्री (मास्क, स्यानिटाइजर) साथै उक्त स्थानमा सुरक्षा व्यवस्थापनका लागि खटिएका नेपाली सेनाको टोलीलाई प्रयोग गर्ने स्वास्थ्य सामाग्री प्रदेश, स्थानीय सरकार साथै नेपाली सेनाको सूर्यदल गणका गणपति प्रमुख सेनानी रघुनाथ पौडेलको अभिभावकत्वमा उपलब्ध गराइएको थियो ।

व्यवस्थापनमा नेपाली सेनाको भूमिका
सीमा नाकाबाट प्रवेश गरेका नेपाली नागरिक होल्डिङ सेन्टरमा आएपछि उनीहरूको ठेगानासहितको व्यक्तिगत विवरण नेपाली सेनाले तयार गरी जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनमा पुर्‍याउने नेपाली सेना र जिल्ला प्रशासन कार्यालय मोरङले समन्वय गर्दै आइरहेको सहसेनानी निरौलाले जानकारी दिए ।

समग्र होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मेवारी नेपाली सेनलाई दिइएकाले होल्डिङ सेन्टर परिसरको सरसफाइमा धेरै प्राथमिकता दिइएको सहसेनानी निरौलाको भनाई छ । उनले भने ‘होल्डिङ सेन्टर सरसफाइका लागि एक जना कर्मचारी मार्फत दैनिक क्लोरीन स्प्रे गर्ने, स्यानिटाइजर स्प्रे गर्ने गरेका छौँ ।’

चुनौती
कोभिड–१९ ले विश्व नै आक्रान्त भएको अवस्थामा जेठ १३ गतेदेखि अग्रभागमा रहेर काम गर्नु पर्दा, आफ्नो भन्दा पनि आफूसँग खटिएकाहरूलाई भाइरस सङ्क्रमणबाट जोगाउन धेरै चुनौती रहेको सहसेनानी निरौलाले बताए ।

उनले भने, दैनिक सय भन्दा धेरै भारतबाट प्रवेश गरेका नेपाली नागरिकहरूलाई होल्डिङ सेन्टर भित्र रहँदासम्म कसरी सुरक्षित राख्ने भन्ने विषयले चिन्ता हुन्थ्यो ।

उनले थपे ‘एक जना सङ्क्रमित भए भने त्यहाँ रहेका सबै सङ्क्रमित हुने कारण उनीहरूलाई कसरी सुरक्षित राखेर आ–आफ्नो स्थानमा रहेका क्वारेन्टाइनसम्म पुर्‍याउने भन्ने विषय हाम्रा लागि ठुलो चुनौती रहन्थ्यो । उनी लगायत उनीसँग खटिएका सम्पूर्णका लागि यो एउटा चुनौती भन्दा पनि अवसर रहेको उनले बताए ।

युद्ध जिते झैँ लाग्यो
सुरुवाती दिनहरूमा दैनिक सय देखि डेढ सयसम्म भारतबाट आएका नेपाली नागरिकहरूसँग प्रत्यक्ष सामना गर्न पर्दा कहिलेकाहीँ आफू लगायत आफूसँग खटिएको टोली नै सङ्क्रमित भए जस्तो आभास हुने गरेको सहसेनानी निरौलाले बताए । पेसा र देशप्रतिको जिम्मेवारी, कर्तव्य साथै आफूसँग खटिएका टोलीको सहकार्यले थप हौसला मिलेको उनी बताउँछन् । दैनिक भारतबाट आएका आफैले होल्डिङ सेन्टरबाट बिदा गरेका कतिपयको पिसिआर रिपोर्ट पोजेटिभ आउँदा पनि चैत्र ११ गतेदेखि लकडाउन सुरु भएसँगै परिवारदेखि टाढा रहेका सबै आफ्नो कमाण्डमा खटिएका टोलीले ऊर्जाशील भएर काम गर्दा थप आफूलाई पनि हौसला मिल्ने गरेको उनले सुनाए ।

‘आफूहरूको जिम्मेवारीमा रहेको होल्डिङ सेन्टरबाट गएका व्यक्तिहरू कोरोना रिपोर्ट पोजेटिभ आउँदा यतिकै त्रास त बढ्थ्यो तर मनोबल कहिल्यै घटेन’ उनले भने ।

आफूहरू नै सङ्क्रमित भयौँ भने समुदायमा फैलिन्छ भन्ने त्रासले आफूसँग खटिएका टोलीले पिसिआर जाँच गराउँदा पहिलो पटक रिपोर्ट नेगेटिभ आउँदा खुसीको कुनै सीमा नरहेको उनले सुनाए ।

पछिल्लो समय विराटनगरमा समुदाय स्तरमा नै कोरोना भाइरस तीव्र रूपमा फैलिएसँगै उनकोे कमान्डमा होल्डिङ क्षेत्रेमा खटिएका टोलीको सूर्यदल गणका गणपति प्रमुख सेनानी रघुनाथ पौडेलको निदेर्शनमा दोस्रो पटक पीसीआर जाँच गराउँदा नेगेटिभ आएको थियो । उनी भन्छन्, त्यो दोस्रो पटकको पीसीआर जाँचको रिपोर्ट नेगेटिभ आउँदा मलाई एउटा युद्ध जिते झैँ लाग्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *