उपत्यकाका ४० प्रतिशत संक्रमित कतै यात्रा नै नगरेका !
काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना महामारीको जोखिम प्रतिदिन बढ्दै गएको छ । शुक्रबार र शनिबार फेला परेका अधिकांश सङ्क्रमितको यात्रा विवरण उपत्यका बाहिर देखिँदैन ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरिएको बताउँछन् । सर्वसाधारणको लापरबाहीका कारण सङ्क्रमण टोल, गल्ली र बस्तीमा फैलिइसकेको आशङ्का बढेकाले उच्च सतर्कता जरुरी भएको हो ।
पीसीआर परीक्षण गर्दा ‘पोजेटिभ रिपोर्ट’ आएकाको यात्रा विवरण हेर्दा बाहिरबाट आउनेको सङ्ख्या ६० प्रतिशत र कहीँ कतै नगएको विवरण उल्लेख गर्नेहरूको सङ्ख्या ४० प्रतिशत छ । बन्दाबन्दी हटेसँंगै असुरक्षित आवागमनका कारण सङ्क्रमण फैलिएको बुझाइ सुरक्षा अधिकारीको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा फेला परेका सङ्क्रमित प्रहरी कर्मचारी बन्दाबन्दी सुरु भएदेखि कोठा र कार्यालयबाहेक अन्य स्थानमा गएको देखिएको छैन ।
सङ्क्रमितको यात्रा विवरण उपत्यका बाहिर गएको देखिएन, एक प्रहरी अधिकारीले भने । सङ्क्रमित व्यक्ति महानगरीय प्रहरी कार्यालयका ‘हजाम’ हुन्, शङ्का लागि केही प्रहरी कर्मचारीको पीसीआर परीक्षण गर्दा उनीमा पोजेटिभ आएछ, ती प्रहरी अधिकारीका अनुसार हजामको सम्पर्कमा आएका ८० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
त्यस्तै नेकपाका महासचिव विष्णु पौडेलका पीएसओ (पर्सनल सुरक्षा अधिकृत)को यात्रा विवरण पनि उपत्यका बाहिर देखिँदैन । प्रहरी नायब निरीक्षक दर्जाका ती प्रहरी अधिकारीमा शनिबार कोरोना देखिएको समाचार गोरखापत्रमा छ । बबरमहलस्थित औषधि व्यवस्था विभागको चमेना गृहमा कार्यरत एक महिलाले पनि आफू कोरोना सङ्क्रमित भएको खबरप्रति आश्चर्य मानिन् ।