खुलेको शहरमा डराएको मन !

काठमाडौं । लगभग १२० दिन लामो बन्दाबन्दी (लकडाउन्)पछि जनजीवन पुनः साविकको जस्तै बन्दै आएको छ ।

अन्तरजिल्ला आवागमन, सीमानाकामा बन्देजसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान नखुले पनि अधिकांश शहर बजारका सम्पूर्ण गतिविधि सञ्चालनमा आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हरेक दिनको जानकारीले झस्काउँछ । मन्त्रालय भनिरहेछ– ‘सतर्कता अपनाऔं ! सतर्कता अपनाऔं !! सतर्कता अपनाऔं !!!’

यत्ति मात्रै होइन, मन्त्रालयले लकडाउन् हुँदाको र खुलेपछिको तथ्यहरुको तुलनात्मक नतिजा सुनाएर तर्साइरहेको छ । यो पनि हामी आफैँ सचेत हुनुपर्ने एउटा ‘जनाउ सूचक’ हो ।

हुन पनि काठमाडौं उपत्यकामा दिनकै ९२/९३ जनाको अनुपातमा संक्रमण पुष्टि हुन थालेको छ । योसँगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा देखिएको संक्रमणले बढी त्रसित तुल्याएको पक्कै नै छ ।

नेपालका हरेक क्षेत्रमा अब कोरोना छिरिसक्यो भनेर भन्दा फरक नपर्ला । नेपाल प्रहरीको केन्द्रीय कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका अन्य निकायमा समेत कोरोनाले राज चलाइसकेको छ ।

सार्वजनिक यातायात खुलेको, बजारपसल खुलेको र सार्वजनिक जमघट बाक्लिएपछि खतरा बढ्ने संकेतले त्रसित बनाउने नै भयो ।

अझ सरकारको केही दिन अगाडिबाट होटल तथा रेष्टुँराहरु खोल्न दिने निर्णयले झनै भय थपेको छ । यसको मात्रै के कुरा, आउँदो १ भदौबाट लकडाउन् सम्पूर्ण रुपमा खुल्ने पनि कुरा भइसकेको छ ।

चलेका सार्वजनिक सवारीहरुमा सतर्कता देखिँदैन । मान्छेहरुबीचमा भेटघाट बाक्लिएको छ । आम मानिसले पहिलेको जस्तो सतर्कता गुमाएका छन् ।

देशमा राजनीतिक संक्रमण उस्तै देखिन्छ । सरकार चलाउने सत्तासिन र सत्तासिनलाई खबरदारी गर्ने विपक्ष दल आ–आफ्नै मर्जीमा चलिरहेका छन् ।

उनीहरुमा जनताप्रतिको चिन्ता रत्तिभर छैन । यता नेकपा आन्तरिक किचलोमा अल्झिरहेको छ भने, विपक्षी दल कांग्रेस महाधिवेशनको चटारोमा परिसक्यो ।

लामो समयको बन्दाबन्दीका कारण सुस्ताएको अर्थतन्त्र र अस्तव्यस्त बनेको जनजीवनलाई साविकको जस्तै बनाउनकै लागि भएपनि अब सबै खाले गतिविधि सञ्चालन हुनु जरुरी नै देखिन्छ ।

अर्कातिर रोकथामका लागि सतर्कताको कमीले महामारीलाई डरलाग्दो बनाउने भय छँदैछ । यसर्थ लकडाउन् खुले पनि आम–मनहरु भने झनै बन्दिने अवस्थामा पुग्ने निश्चितजस्तै छ ।

यसको एउटै विकल्प सतर्कतामा गम्भीर ध्यान दिनु नै हो । किनभने, हामीसँग फेरि लकडाउन् मात्रै निर्विकल्प रहनुहुन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *