तेजाब आक्रमणविरुद्ध एकता अभियान घोषणा, यस्ता छन् अभियानका उद्देश्य

काठमाडौँ । तेजाब आक्रमणविरुद्ध एकता अभियान (Together Against Acid Attack ) को घोषणा गरिएको छ । तेजाब आक्रमणको सङ्ख्यामा दिन प्रतिदिन वृद्धि भइरहँदा सरकारी पक्षबाट बेवास्ता गरिएको भन्दै विद्यार्थी समूहले सामाजिक सञ्जालबाटै उक्त अभियानको घोषणा गरेका हुन् ।

यो अभियानले कुनै पनि राजनीतिक दल, सरकारी वा गैरसरकारी संस्थाहरूको प्रतिनिधित्व नगर्ने अभियानका आबद्ध सदस्यहरूले बताएका छन् । कोभिड १९ को कारण भौतिकरुपमा अभियान सञ्चालन गर्न नसकिने भएकोले ‘टुगेदर अगेन्स्ट एसिड अट्याक’ नामक फेसबुक समूह बनाई सक्रियरुपमा सञ्चालनमा रहेको छ । उक्त अभियानमा सबैले स्वतन्त्ररुपमा सहभागी सकिने आयोजक समितिले बताइएको छ ।

तेजाब आक्रमण
‘तेजाब आक्रमण’ भन्नाले शारीरिक हिंस्रक आक्रमणलाई जनाउँदछ, जहाँ तेजाब वा अन्य कुनै हानिकारक रासायनिक पदार्थ, अर्को व्यक्ति माथि यातना वा ज्यान लिने नियतले फ्याँकिन्छ। केही वर्ष यता नेपालमा तेजाब प्रहारका घटनाले बढ्दो रूप लिएको छ। नेपाल पुलिसका प्रवक्ता नीरज बहादुर शाहीका अनुसार नेपालमा हाल सम्ममा प्रहरीले २० एसिड आक्रमण रेकर्ड गरेको छ। यी घटनाहरूमा १८ महिला र २ पुरुष पीडित भएका छन्।

‘तेजाब’ औद्योगिक र वैज्ञानिक उद्देश्यमा प्रयोग गरिएको रसायन मात्र नभएर, अरूलाई हानी पुर्‍याउने हतियारमा परिणत भएको यस घोषणापत्रको दाबी हो। तसर्थ तेजाब र यसका आक्रमणहरूबारे जनचेतना जगाउन र नेपाल सरकार र सरकारी अधिकारीहरूलाई जिम्मेवारी र प्रभावकारी ढङ्गले काम गर्न बाध्य बनाउन, अभियानलाई मार्ग निर्देशन गर्ने केही उद्देश्य र सीमितताहरूलाई यस घोषणापत्रले दर्साएको छ।

अभियानका उद्देश्यहरू
– तेजाब जस्ता रसायनहरूको खुला र अनियमित बिक्री र वितरणको लागि कडा नियमन लागू गरिनु पर्छ।
– नेपालको फौजदारी संहिता २०७४को धारा १९३मा उल्लेखित “कसुरदारलाई अधिकतम ८ वर्षको सजायलाई” संशोधन गरी सोही संहिताको धारा ४१ बमोजिमको जन्मकैदको सजाय हुने कसुरमा राखिनु पर्ने।
– तेजाब प्रहारको मुद्दाहरूको लागि अदालतबाट फास्ट ट्र्याक प्रक्रिया अन्तर्गत मुद्दाको किनारा गरिनु पर्ने।
–नेपाल सरकारले पीडितको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने र सबै प्रकारका आवश्यकताहरूलाई पीडित आफू पुरा गर्न सक्ने अवस्थामा नभए सम्म पुरा गर्नुपर्ने।
– यदि कसैलाई तेजाब वा अन्य हानिकारक रसायनिक पदार्थले हमला भएमा “तत्काल प्राथमिक उपचार” प्रदान गर्ने बारे सरकारी तहबाट देशभर कार्यक्रम सञ्चालन गरिनुपर्ने ।
– नेपालको सुरक्षा नीतिमा वृद्धि गर्नुपर्ने

यस अभियानको उद्देश्य पूरा नभएसम्म अभियानको मान्यता कायम रहने जनाएको छ । यो अभियान हानिकारक प्रदर्शन र विरोधमा विश्वास नराख्ने र आउँदो दिनमा कुनै प्रकारको विरोध प्रदर्शनको आवश्यकता देखिएमा, घोषणा पत्रले आश्वासन दिन्छ कि कुनै प्रकारको सम्पत्ति वा जीवनलाई हानी, नोक्सानी पुर्‍याउने काम नगर्ने बताइएको छ ।

यस घोषणापत्रले अभियानको नेतृत्व गर्ने आयोजक समितिको सदस्यहरूको सङ्ख्यामा सीमितता राखेको छैन। आवश्यकता अनुसार समिति विस्तार गर्न सकिने र यस अभियानमा लागि पर्ने सहयोगी सदस्यहरूको सङ्ख्यामा पनि नगरिएको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *