पत्रकार सम्मेलनकै बीच ट्रम्पले भने- ‘ह्वाइट हाउसबाहिर गोली चल्यो’

काठमाडौं । एउटा पत्रकार सम्मेलन अचानक छाडेलगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको बताएका छन् । उनले ह्वाइट हाउसमै सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका थिए ।

पत्रकार सम्मेलनको बीचमै उनका सुरक्षाकर्मीले उनलाई केही जानकारी दिएपछि ट्रम्पले पत्रकार सम्मेलन छाडेर भित्र गएका थिए । तर भित्र गएर आएपछि उनले उक्त सम्मेलन जारी राखे र भने, “स्थिति नियन्त्रणमा छ ।”

उनले पत्रकारहरूसँग आफूलाई अमेरिकी सिक्रेट सर्भिसका मानिसहरूले कुनै हतियारधारी सन्दिग्धलाई गोली हानेको जस्तो लागेको बताए । उनका अनुसार उक्त घटनापछि कसैलाई अस्पताल लगिएको छ । ट्रम्पले यो असामान्य स्थिति भए पनि सिक्रेट सर्भिसको व्यावसायिक ढङ्गले गर्ने कामको प्रशंसा गरे ।

पत्रकार सम्मेलन छाडेको नौ मिनेटपछि ट्रम्प पुन: सम्मेलनस्थल फर्केका थिए । उक्त घटना उनीप्रति लक्षित भए वा नभएको बारे आफूलाई जानकारी नभएको ट्रम्पले बताए । अमेरिकी सिक्रेट सर्भिसले पनि एक अधिकारी उक्त घटनामा सामेल भएको र कानुन कार्यान्वयन गर्ने अधिकारीहरू घटनास्थलमा हरेको जनाएको छ । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *