अमेरिकामा चुनाव: को हुन् उपराष्ट्रपति उम्मेदवार बनेकी कमला ह्यारिस ?
काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले सांसद कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गरेका छन् ।
कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुनेछिन् । इन्डियन-जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद उनले कुनैबेला राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन् ।
राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उनको नाम चर्चामा रहिरह्यो । बाइडेनले उनलाई उप-राष्ट्रपतिको उम्मेदवार बनाउने चर्चा हुने गरेको थियो । क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गरिरहेकी थिइन् ।
पहिलो अश्वेत महिला उम्मेदवार
आगामी नोभेम्बर ३ मा हुने चुनावमा बाइडेनले वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्दैछन् । ह्यारिसले ट्रम्पका उपराष्ट्रपतिका उम्मेदवार वर्तमान उपराष्ट्रपति माइक पेन्ससँग आगामी अक्टोबर ७ मा सल्ट लेक सिटी, युटामा बहस गर्नेछिन् ।
अमेरिकामा हालसम्म अन्य दुईजना महिलाहरू मात्र उपराष्ट्रपतिका लागि उम्मेदवार बनेका छन् । सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो उम्मेदवार बनेकी थिइन् । तर दुवैजनाले चुनाव जित्न सकेनन् । हालसम्म अमेरिकामा अश्वेत महिलाले राष्ट्रपति उम्मेदवारको टिकट पाएका छैनन् भने अहिलेसम्म महिला राष्ट्रपति चुनिन पनि सकेका छैनन् ।
बाइडेनले के भने ?
बाइडेनले ट्वीट गरेर कमलालाई उप-राष्ट्रपतिको उम्मेदवार बनाइएको घोषणा गरेका हुन् ।उनले कमला ह्यारिसलाई उप-राष्ट्रपतिको उम्मेदावर चयन गरेको बताउँदा आफूलाई गर्व लागेको ट्विटरमा लेखेका छन् ।
I have the great honor to announce that I’ve picked @KamalaHarris — a fearless fighter for the little guy, and one of the country’s finest public servants — as my running mate.
— Joe Biden (@JoeBiden) August 11, 2020
उनले कमलालाई “बहादुर योद्धा र अमेरिकाकी सबैभन्दा उत्तम जनसेवकमध्ये एक” भनेका छन् । बाइडेनले उनी क्यालिफोर्नियाको महान्यायाधिवक्ता हुँदा आफ्नो दिवङ्गत छोरासँग कसरी काम गरेकी थिइन् भनेर स्मरण पनि गरेका छन् । बाइडेनले कमलाका साथ बुधवार विल्मिङ्टनको डेलवेयरमा संयुक्त रूपमा सम्बोधन गर्ने घोषणा गरेका छन् ।
कमला को हुन्?
५५ वर्षीया कमला ह्यारिस डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन् । उनी क्यालिफोर्नियाको ओक्लान्डामा जन्मिएकी हुन् । उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए ।
उनले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन् । कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई “एक अमेरिकी” भन्ने गर्छिन् । बीबीसी