जनस्तरमा खड्किएको एउटा प्रश्न : ‘के कोरोना संक्रमण सर्वसाधारणबाट मात्रै फैलिन्छ ?’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनहुँ रटान लगाइरहेको हुन्छ– ‘भौतिक दूरी कायम गरौँ, कोरोनाबाट बचौँ र बचाऔँ, सतर्कता अपनाऔँ ।’
तीनै मन्त्रालयका मन्त्री भने सभा, समारोहको उद्घाटन गर्दै निस्फिक्री हिँडिरहेका छन् । घरमा पाहुना आएका छन् भन्दै सञ्चारमाध्यमलाई कोरोनाबारे जानकारी दिन कन्जुस्याइँ गर्ने मन्त्री विभिन्न संस्थाका वार्षिकोत्सव, सभा, समारोहलगायतका कम महत्व भएका सार्वजनिक कार्यक्रमहरुमा भने आफू नगए कार्यक्रम नै नहुनेझैं पुगेकै हुन्छन् ।
‘गलत कार्यशैली सच्याऊ’ भन्दै सरकारको ध्यानाकर्षण गराउन सडकमा उत्रिएका युवाहरुलाई ‘भीड’ गरेको आरोपमा नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिने नेता/मन्त्रीको ‘उद्घाटन मोह’ले जनसमुदायलाई कस्तो प्रभाव पार्ला यो भने सोचनीय विषय हो । ।
यसो गरे, यसो नगर भनेर कराउनेहरुले त नियम/संहितको उल्लंघन गरे–गरे, यता विश्व स्वास्थ्य संगठनले अपनाएको मापदण्ड नेपालमा पनि लागू गराउनैपर्छ भनेर लागिपरेका प्रहरी तथा पत्रकारहरुको शैलीमा पनि ‘नेता/मन्त्रीमिश्रित व्यवहार’ देखियो ।
यसको एउटा ज्वलन्त उदाहरण हो– हिजो (मंगलबार) गोंगबु हत्याबारे सत्यतथ्य जानकारी दिन महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखाद्वारा संयुक्त रुपमा गरिएको पत्रकार सम्मलेनमा यत्रतत्र देखिएको भीड ।
सरकारले सभा, सम्मेलन नगर्न अनुरोध गरिरहँदा तीनै नियम पालक प्रहरीले नै भौतिक दूरी तथा स्वास्थ्य मापदण्डको नजरअन्दाज गरे । उक्त भीडबारे नागरिकस्तरमा कस्तो सन्देश प्रवाह होला भन्नेतिर न पत्रकार सम्मेलन आयोजक प्रहरीले नै सोच्यो, न सूचना प्रवाहको संवाहक सञ्चारकर्मीहरुले नै सोचे ।
दिनहुँजसो मास्क नलगाएका तथा भीडभाडमा उभिएका नागरिकलाई जरिवाना गर्ने, सम्झाइ–बुझाइ गर्ने प्रहरी स्वयम् भने कोरोनाप्रति सचेत नदेखिएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
नागरिकमाझ स्वास्थ्य मापदण्डबारे सन्देश प्रवाह गर्ने, नागरिकलाई सचेत बनाउने, सरकारका बेथिती उजागर गर्ने पत्रकारले समेत आफूभित्रको बेथिती नदेख्दा नागरिक आक्रोशित छन् ।
हुन त पत्रकारिता पेशा नै चुनौतीपूर्ण छ । पाइला–पाइलामा जोखिम मोल्नुपर्ने हुन्छ । तथापी आफ्नो कारण अरुको पनि जीवन जोखिममा पर्न सक्ने यो अवस्थामा आफू पनि जोगिएर हिँड्नुपर्छ भन्ने विषय भने पत्रकार स्वयंले नै सोच्नुपर्ने विषय हो ।
अहिले विश्वव्यापी रुपमा नै शिक्षा प्रणालीदेखि सामान्य भेटघाटलाई समेत ‘भर्च्यूअल’बनाइएको छ । अनेक चुनौतीका बाबजूद पनि विकसित प्रविधिको सदुपयोग गर्ने अवसर समेत हो यो ।
यो समय सञ्चार जगतले हरेक क्षेत्रमा प्रविधिको प्रयोगका लागि हौसला बढाउने, यसबारे जानकारीमूलक सन्देश प्रवाह गर्ने, आफू स्वयम् पनि भौतिक संलग्नता जनाउनुपर्ने पत्रकार सम्मेलनबाट टाढै रहने र त्यस्ता सम्मेलनलाई प्रविधिको प्रयोगबाटै आयोजना गर्न प्रेरित गर्ने हो भने भीड र कोरोना केही हदसम्म नियन्त्रणमा जान सक्छ ।
प्रहरी स्वयंले पनि सूचना सम्प्रेषणका लागि आफ्नो सामाजिक सञ्जालको प्रयोग बढाउन सक्ने अवस्था छ । तर दुवै पक्षले आफ्नो जिम्मेवारी भुल्दा जोखिम झनै बढेको छ ।
उसै त बन्दाबन्दी खुलेयता काठमाडौं उपत्यकासहित देशभर दिनहुँजसो कोरोना संक्रमितको संख्या बढिरहेको छ । मंगलबार मात्रै काठमाडौं उपत्यकामा १३६ सहित देशभर ६३८ संक्रमित थपिएका छन् । संक्रमण फैलने त्रासमा उद्योगहरु ठप्प जस्तै छन् ।
यस्तो परिस्थितिमा सन्देश प्रवाह गर्ने प्रहरी र पत्रकारबाटै जम्मा भएको भीडले जनस्तरबाट एउटा प्रश्न जन्मिन सक्छ, ‘कोरोना संक्रमण हामी जनताबाट मात्रै समुदायमा फैलन हो ? नियम, कानूनका लागि भागिदार हामी मात्रै हौं ?’