काेराेना संक्रमितकाे अनुभवः ‘विरामीकाे छेउसम्म नपर्ने चिकित्सकलाई किन दिने पीपीई ?’
विराटनगरस्थित कोभिड १९ अस्पतालबाट डिस्चार्ज भएको ४ दिन बितिसकेको छ । कोरोना संक्रमितका रुपमा त्यहाँ करिब दुई हप्ता बिताएर घर फर्किएको दिन कैदी जीवन बिताएर फर्किए झैँ भान भएको थियो ।
कोरोना पोजेटिभ भएर कोसी कोभिड अस्पतालमा बस्दा मेरा कुनै दिन सुखद बितेनन् । अस्पतालको गेटबाट भित्र छिरेदेखि डिस्चार्ज भएर निस्किएसम्म मैले सकारात्मक भन्दा नकारात्मकतासँग जुध्नु पर्यो । यो अंकमा मैले कोशी कोभिड अस्पतालमा १२ दिन कसरी विताएँ, के कस्तो समस्या भोगें स्मरण गर्दैछु ।
आफू कार्यरत संस्था विराट नर्सिङ होमका अध्यक्षलाई कोरोना संक्रमण देखिएपछि साउन ९ गते शुक्रबार विराटनगर महानगरपालिकाले उहाँको सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न निर्देशन गरेको थियो ।
म सहित केही कर्मचारी कन्ट्याक्ट ट्रेसिङमा पर्यौँ । परीक्षणपछि हाम्रा सबै कर्मचारीहरु अफिस क्वारेन्टिनमा बस्नुभयो । म भने घरमा १३ महिनाको बच्चा भएका कारण घरैमा सेल्फ क्वारेन्टिनमा बसेँ ।
भोलिपल्ट अप्रत्यक्ष रुपमा अस्पताल प्रशासनबाट रिपोर्ट नेगेटिभ आएको कुरा आयो । सेल्फ क्वारेन्टिनमा बसेकी म दंग पर्दै बच्चासँग नजिकिएँ । त्यही दिन राति महानगरपालिकाबाट फोन आयो–‘तपाईँको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ, अर्को जानकारी नआउन्जेलसम्म कसैसँग भौतिक रुपमा सम्पर्कमा नआउनू । हामी बिहान फोन गर्छौँ । बच्चा लगायत परिवारको पनि परीक्षण गराउनू ।’
आफु एउटा स्वास्थ्यकर्मी भएकाले पोजेटिभ भएपनि त्यसलाई सहजरुपमा लिँदै सावधानी अपनाएँ । तर, मन कहाँ मान्दो रहेछ र ! कोरोनाबाट डराउँदिन भन्दा भन्दै जहान परीवार र १३ महिनाको बच्चा देखेर त्रासले बास गरीहाल्यो ।
भोलिपल्ट दिउँसोतिर फेरि त्यहीँबाट फोन आयो–‘तपाईँ आइसोलेसनमा गइहाल्नूस् त । हामी एम्बुलेन्स पठाउँछौँ ।’ लक्षण केही नदेखिएका कारण मलाई रिपोर्ट नै गलत हो कि जस्तो लागेको थियो । उताबाटै अस्पताल जाऊ भनेर कर गर्न थालेपछि मैले अस्पताल जाने तयारी सुरु गरेँ ।
विराट कोभिड–१९ अस्पतालको व्यवस्थापनबारे राम्रा कुराहरु सुनिरहेका कारण अत्यावश्यक सामानहरुमा बाहेक अन्त ध्यान गएन । तत्कालिन समयमा कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेट डा. संगीता मिश्रले कोभिड अस्पतालको निक्कै राम्रो व्यवस्थापन गरेको भन्दै प्रशंशा भएको थियो । हतारमा पनि थिएँ । जे–जे भेटेँ, हालेर हिडेँ ।
आफ्नो घरभन्दा अलि टाढै रोक्न लगाएकी थिएँ एम्बुलेन्सलाई, साँढे तीन बजेतिर अस्पताल पुगियो । गेटमा ओर्लने बित्तिकै त्यहाँको सुरक्षा गार्डले ‘कहाँबाट ल्याउनुभयो कोरोना ?’ भन्दै प्रश्न तेर्साए । आफू पनि संक्रमित भएका कारण हुन सक्छ, चसक्क बिझ्यो मनमा । मानौं कोरोना पोजेटिभ भएर मैले संसारकै ठूलो अपराध गरेकी रहेछु । मनभरी जवाफ हुँदाहुँदै पनि फर्काउन मन लागेन । चुपचाप भएँ ।
अस्पताल परिसरमा पुगिसक्दा समेत मैले आफूलाई कोरोना संक्रमण भएको विश्वास नै गर्न सकिरहेकी थिइनँ । किनकी मलाई कोरोनाको कुनैपनि लक्षण देखा परेको थिएन । रिपोर्ट नै गलत आएजस्तो लागिरहेको थियो ।
मनमा अनेक कुरा खेल्दै थिए । के होला, कस्तो होला खुल्दुली थियो । कोभिड अस्पतालको गेटमा घण्टौँ बितिसक्दा पनि कोही लिन आएनन् । आफू जाने त कहाँ जाने ? वेड कहाँ हो ? के के प्रक्रिया पार गर्नुपर्ने हो ? यहाँ सम्मकी जानुपर्ने कहाँ हो ? त्यो पनि थाहै थिएन । महानगरपालिकामा फोन गरेर आफु आइपुगेको जनाउ दिँए । उहाँहरुले ‘हुन्छ–हुन्छ’ भनेको निकै समयपछि बल्ल गेटको ढोका खुल्यो । सोचेकी थिएँ, त्यहाँ प्रवेशपछि रिपोर्ट पाउनेछु । दिइएन, म आफैँले मागेँ । फेरि एकपल्ट परीक्षण गर्न चाहन्छु पनि भनेँ । मिल्दैन भन्दै टाढैबाट मोबाइलमार्फत् रिपोर्ट देखाइयो ।
ठिकै छ, कोरोनासँग लड्नु नै छ भने लड्छु भनेर लामो स्वास लिँए ।
हातमा चेवनप्रास, सेनिटाइजर, साबुन, औषधिहरुको झोला थमाइ दिइयो । तर, ‘तिमी बस्ने त्यहाँ हो’ भनेर कसैले गाइड नै गर्नुभएन । कोभिड अस्पताल भित्र त छिरियो तर अब जानुपर्ने कहाँ हो, फेरि अन्यौल !
साँढे तीन बजे अस्पतालको गेटमा पुगेकी मलाई उचित गाइड नगरिदिँदा वार्डमा साँढे ६ बजेतिर मात्रै पुगें ।
मलाई लगिएको कोठामा महिला र पुरुष बिरामी गरी ४ जना थिए । एउटा बेड खाली थियो, त्यो मेरो लागि हो वा होइन त्यो पनि थाहा थिएन । फोहरको थुप्रो थियो, शौचालयको हालत हेर्दा सद्दे मान्छे पनि विरामी हुने अवस्था थियो ।
मैले हाम्रो उपाध्यक्षलाई फोन गरेर भनेँ–‘यो कस्तो लापरवाही, म कहाँ बस्ने हो, केही थाहा छैन । भन्दिनु भएको छैन तपाईँले ?’ उहाँले कोभिड व्यवस्थापनलाई हैन त्यहाँका बेथितीबारे मकालु खबरलाई जानकारी गराउनु भएछ । सायद उहाँपनि त्यहाँ कसैलाई भन्दैमा मेरो समस्या हल हुन्छ भनेर विस्वस्त हुनुभएको रहेनछ क्यार, त्यहि भएर मिडियालाई जानकारी दिनुभएछ । मकालु खबरले त्यहि बेलुकी त्यसलाई राष्ट्रिय इस्यू बनाएर प्रकाशित गरेछ । त्यसपछि भने अलिकति सतर्कता अपनाइएको पाएँ ।
अस्पताल छिर्ने बित्तिकै त्यहाँ दुई–तीन दिनदेखिको फोहोरको डंगुर, वाथरुम त्यस्तै फोहोर थिए । लक्षण नभएका र गम्भीर खालका बिरामीलाई पनि एउटै वार्डमा राखिएको थियो ।
मैले अस्पताल आउनुअघि कल्पना गरेजस्तो सिकिस्त बिरामी त कोही थिएनन् । ९० प्रतिशत बिरामी विना लक्षणका थिए । न त वातावरण नै मैले सोचेजस्तो थियो । मलाई उल्टो त्यहीँबाट बिरामी पर्छुकि भन्ने डर लागेको थियो ।
पौने १० बजेतिर मात्रै एउटा कोठा सफा गरेर मेरो लागि बेड लगाइदिए । बेडमा पुगेपछि फेरि परिवारको चिन्ताले पिरोल्यो । बच्चाको रिपोर्ट के आउला ? भनेर तनाव भयो । नयाँ ठाउँ, लामखुट्टेको भुनभुनाई, फोहरको गन्ध रातभर निन्द्रा परेन । खाना पनी रुचेन ।
भोलिपल्ट उहाँहरुले परीवारको कोरोना परीक्षण गराउनुभयो । सबैको रिपोर्ट नेगेटिभ आएपछि म अलि ढुक्क भएँ ।
अस्पतालको खानपान र वातावरणले पनि कहिले घर फर्किऊँ जस्तो भइरहेको थियो । तर संक्रमित भएपछि अर्को रिपोर्ट नेगेटिभ नआएसम्म जान नपाइने, संक्रमणमुक्त हुनका लागि पनि यहाँ बस्नैपर्ने बाध्यता !
एक दिन दुई दिन तीन दिन ।
भनिन्छ नी, हामीले नकारात्मकता भित्र पनि सकारात्मकता खोज्यौं भने जीवन सहज हुन्छ । मैले पनि कोशी कोभिड अस्पतालमा बस्दै गर्दा, कोरोनासँग लड्दै गर्दा आफुलाई बढिभन्दा बढि सकारात्मकता तर्फ डोर्याएँ ।
विस्तारै आफूलाई त्यहीँको वातावरणमा एडजस्ट गर्दै लगेँ । आफ्नो बेग्लै रुटिन बनाएँ । बिहान योगा लगायत दैनिक क्रियाकलापहरु गर्न थालेँ । मैले योगा सुरु गरेपछि त्यहाँ रहनुभएका अरु संक्रमितहरु पनि मोटिभेट हुनुभयो र उहाँहरु पनि योगामा जोडिनुभयो । मैले गाइड गरेँ । नियमितको योगाले त्यहाँ कोरोनासँग लडिरहनु भएका म जस्ता धेरै जनामा सकारात्मक सोचको बृद्धि भयो । कोरोनासँग लड्न सकिन्छ भन्ने आत्मविस्वास बढ्यो ।
अस्पतालभित्रको वातावरण र खानपान
छ न त ४ वटा बाथरुम थिए, तर प्रयोगमा आउने एउटा मात्रै । हामी करिब ५५ जना संक्रमित थियौं कोभिड अस्पतालभित्र । ती सबैले एउटै वाथरुम प्रयोग गर्नु पर्थ्याे । लामो लाइन नै हुन्थ्यो । सवेरै उठेर पहिला नित्यकर्म गर्नुपर्दथ्यो । ढिलो उठियो भने समस्या ।
न चिकित्सकहरु संक्रमितको वार्डमा आउँथे । नत कुनै सिस्टरहरु नै । यो देख्दा चैं कोशी कोभिड अस्पताल हैन यो कारागार जस्तै लाग्थ्यो । १२ दिनको बसाइँमा मैले कति कुराहरुमा व्यवस्थापनको ध्यानाकर्षण गराएँ, पहिले भन्दा केही सुधार पनि आएको थियो । तर, त्यो सुधार एक दुई दिन हुन्थ्यो त्यसपछि उस्तै ।
त्यहाँको अर्को नराम्रो पक्ष के लाग्यो भने संक्रमण पुष्टि भएर उपचारका लागि आएका प्रहरीहरु नै काममा खटिएका थिए । उनीहरुकै नेतृत्वमा कोठा–कोठामा खाना बाँड्ने काम हुन्थ्यो । मेरा केही साथीहरु जो कोरोना संक्रमण भएर आएका थिए, उनीहरुलाई पनि कोरोना संक्रमितको विवरण संकलन गर्न खटाइएको रहेछ ।
बिरामी एक्टिभ हुनु राम्रो त हो तर संक्रमितले नै यसरी खानाहरु बाँड्दा एकअर्काबाट संक्रमण त्यहीँ सर्कलमै घुमिरहने सम्भावना हुन सक्छ । त्यसमाथि बिरामी भनेपछि अलिकति आराम पनि आवश्यक पर्छ । अर्को कुरा कोरोना जस्तो महामारी फैलाउने सरुवा रोग, अनि ती संक्रमितलाई नै त्यसरी काममा खटाउँदा जोखिम झनै बढ्न सक्छ । लक्षण छैन भन्दैमा त्यसरी काममा खटाएको चित्त बुझेन मलाई । यो विषयमा पनि कुरा उठाएँ । त्यसपछि व्यवस्थापन पक्ष हेल्थ कन्सियस हुनुभयो । खाना बाँड्ने, विवरण संकलन गर्ने कामहरु त्यहाँका कर्मचारीले नै गर्न थाल्नुभयो ।
त्यहाँको सकारात्मक पक्ष भनेको कोरोना संक्रमितलाई बस्नका लागि सरकारले छुट्टै स्थानको व्यवस्था गरिदिएको छ त्यति मात्रै हो । अनि खाना समयमै आउँथ्यो । बिरामीको प्रकृति हेरेर खाना दिइन्थ्यो । मधुमेहका रोगी, बच्चाहरुलाई रोटी, जाउलो, दुध लगायतका खानेकुराहरुको व्यवस्था थियो । अलिकति मसलेदार हुन्थ्यो, मैले त्यो पनि सुधार गराएँ । किनकी मसलेदार, चिल्लो खानाले बिरामीहरुको स्वास्थ्यमा असर गर्न सक्छ ।
म बसेकै समय संक्रमित बढिरहेको अवस्था थियो । ठाउँ नपुगेर कोरिडोरमै बेड लगाएर समेत राखिएको थियो । एक पटक त सर्प नै आयो । सबै आत्तिए । राती ११ बजे सर्प आउँदा भागाभाग भयो ।
त्यहाँ जम्मा भएका हरकोही संक्रमित कोरोनाको डर, त्रास र अन्यौलतामा थिए । कोरोना भाइरस यस्तो हो, यसरी बस्नुपर्छ, यसरी जोगिनुपर्छ, यस्तो खानुपर्छ भन्ने किसिमको मोटिभेट कुनै दिन गरीएन । व्यवस्थापन पक्ष वा कुनै चिकित्सकले दैनिक वा दिन विराएर कोरोनासँग लड्न संक्रमितलाई मोटिभेट गराउने कार्य गरीएको भए धेरै फाइदा हुने थियो ।
अस्पतालमा त काउन्सिलिङ हुनुपर्ने हो तर त्यस्तो छैन । त्यहाँ रहेका व्यक्तिहरुको दिनचर्याकै आधारमा बस्ने हुन् नयाँ संक्रमितहरु ।
आइसोलेसनमा वाइफाइ, टिभी नहुने भएपछि चिकित्सकहरुले यस्तो नयाँ रोगका बिरामीलाई काउन्सिलिङ गर्नैपर्छ । नत्र निराशा बढेर डिप्रेशन देखिन सक्छ बिरामीमा । मैले १२ दिनको आइसोलेसनको बसाईलाई जेलजस्तै अनुभव गरेँ ।
मैले ध्यानाकर्षण गराउन थालेपछि विस्तारै विस्तारै केही सुधार हुँदै गयो । डाक्टरहरु पनि आएर राउण्ड लगाउन थाल्नुभयो । विरोध नगरी सुधार नहुने रहेछ भन्ने लाग्यो । सायद हाम्रो सिष्टम नै त्यस्तै होकी ? ससानो कुरा पुरा गर्न गराउन पनि हाम्रोमा आन्दोलन गर्ने, विरोध गर्ने संस्कारको विकास जो भएको छ । राज्यले आफैंले नागरिकका आधारभूत आवश्यक्ता बुझेर पुरा गर्दिए कति जाति हुन्थ्यो !
कुनैबेला फोन गर्दा समेत अस्पतालले आफ्नो जिम्मेवारी बहन गरेको देखिनँ मैले ।
अहिलेसम्म त्यहाँभित्र कस्तो वातावरण छ भनेर बुझ्नका लागि जति पनि मन्त्री, मेयर, स्थानीय तहका जनप्रतिनिधिहरु अनुगमनमा जानुभयो उहाँहरु सबै बाहिरबाटै फर्कनु हुँदो रहेछ । अस्पतालले जे देखायो त्यही हेर्ने, जे भन्यो त्यसैलाई विस्वास गरीँदा आइसोलेसनमा बस्ने संक्रमितले दुखः पाइरहेका छन् । अस्पतालले त राम्रै देखाउँछ नि आफ्नो काम ! उहाँहरुले भित्र आएर पो हेर्नुपर्छ त त्यहाँको वातावरण, संक्रमितको अवस्था, चिकित्सकको व्यवहार ।
त्यहाँभित्र बाथरुम समेत संक्रमितले नै सफा गर्नु पर्दथ्ययाे । बिरामीले सरसफाइ गर्यो भने गर्यो, नत्र त्यतिकै रहन्थ्यो ।
चिकित्सकको व्यवहार
मलाई त सबैले व्यक्तिगत रुपमा नै चिनेका कारण नराम्रो व्यवहार भोग्नु परेन । मैले फोन गर्दा रेस्पोन्स पनि गर्नुहुन्थ्यो । तर सकेसम्म वार्डमै पस्न नपरोस भन्ने सोच्छन् चिकित्सकहरु । खाना दिनका लागि ढोका खोल्दा पनि ‘ए अलि परै बस’ भन्ने गरिन्छ ।
म जुन दिन डिस्चार्ज भएँ त्यो दिन मलाई मेरो पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी गराइएन । मैले अरुबाट नै सुनेँ । जानकारीपछि म घर फर्किनका लागि गेटसम्म आइपुगेँ । गेट बन्द थियो ।
त्यहाँ गुनासोका लागि एउटा नम्बर छ । कहिले कसले उठाउनुहुन्छ, कहिले कसले । त्यही नम्बरमा फोन गरेर गेट खोलिदिन अनुरोध गरेँ । तर उहाँले सिस्टरको नम्बरमा फोन गर्न भन्नुभयो । जबकी टिम एउटै हो, आफूले पनि त भन्न सकिन्छ नि । मलाई त्यो गैरजिम्मेवारी लाग्यो । परिवारको सपोर्टकै कारण मैले त्यहाँ १२ दिन बिताएँ ।
कोभिड अस्पतालमा त्यति ठुलो बिल्डिङ छ । सरकारको अनुदान छ । त्यो स्रोत सही तरिकाले प्रयोग भएको देखिन मैले । लक्षण देखिएका र गम्भीर बिरामीलाई छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाउन सकिन्थ्यो तर, त्यसो गरिएन । नयाँ र पुराना कोरोना संक्रमितलाई एकै स्थानमा राखिन्छ । छुट्टाछुट्टै स्थानमा राख्न सके उपचार र कोरोना रोकथाममा थप बल पुग्थ्यो कि ?
चिकित्सकलाई पीपीई दिइन्छ सुरक्षाका लागि । तर, उनीहरु कोरोना संक्रमितको छेउमा पर्न चाहँदैनन् । उनीहरु विरामी राखेको वार्डभित्र समेत पर्दैनन् भने किन पीपीईमा लगानी गर्ने ?
सरकारले कोरोना संक्रमणको जोखिम कम गर्ने हो भने पहिले त कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षणको दायरा बढाउनुपर्छ । लक्षण नदेखिएका बिरामीलाई घरैमा सेल्फ आइसोलेसनमा बस्ने वातावरण पनि बनाउनुपर्ने देखेँ मैले । जबरजस्ती अस्पताल नै जानुपर्छ भन्ने बाध्यता नदेखाइयोस् ।
नियमति अनुगमन गर्ने, सेल्फ आइसोलेसनमै बसेकाको पनि १० दिनपछि परीक्षण गर्ने व्यवस्था मिलाउँदा अस्पतालमा बेडको अभाव हुँदैन । अस्पताल गइसकेपछि त्यहाँको वातावरणले नै झनै बिरामी पर्ने अवस्था छ । गम्भीर खालका, लक्षण देखिएका बिरामीहरुलाई मात्रै अस्पताल भर्ना गरेर, चिकित्सकको निरीक्षण राख्ने, बिरामीले सकेको अवस्थामा योगाहरु गराउने गर्नुपर्छ । यसले उत्प्रेरणा मिल्छ अनि स्वास्थ्य पनि राम्रो हुन्छ ।
समाजको व्यवहार
अस्पतालमा शिक्षित, पढेलेखेका हेल्थ वर्करहरुले गर्ने व्यवहार त फरक थियो भने समाजमा त कति व्यक्तिहरु अनपढ हुनुहुन्छ । उहाँहरुलाई यसबारे थाहा पनि हुँदैन ।
घर आइसकेपछि पनि मेरो परिवार सपोर्टिभ भएका कारण फरक व्यवहार महशुष त गरिन । तर मसँग चिनजान भएकै एक संक्रमित एउटा किराना पसलमा सामान किन्न जानुभएछ । त्यतिबेला पसलेले उहाँले दिनुभएको पैसा पनि लिन मान्नु भएन रे कोरोना सर्छ भनेर । जबकी ऊ कोरोना नेगेटिभ भएर फर्किसकेको छ ।
संक्रमणमुक्त भएर फर्किएकालाई पनि किन त्यस्तो व्यवहार ? यो एक खालको चेतना नपुगेकै हो जनस्तरमा । जनचेतना फैलाउनु आवश्यक छ ।
(विराट अस्पतालमा कार्यरत स्मिता शर्मासँग मकालु खबरकर्मी सृष्टि नेपालले गरेकाे कुराकानीमा आधारित)