सिमा विवादका विषयमा नेपाल र भारतविच भदौ १ गते काठमाडौंमा वार्ता हुने

काठमाडौं । नेपाल र भारतबीच जारी सीमा विवाद समाधानका लागि दुई देशविच भदौ १ गते राजधानीमा वार्ता हुने भनिएको छ । दुई देशविच परराष्ट्र मन्त्रालयस्तरीय वार्ता हुने भएको हो । भारतीय सञ्चारमाध्यमले दुई देशविचका सिमा विवादका विषयमा मन्त्रालय स्तरीय वार्ता हुने जनाएका छन् ।

नेपाल–भारत परराष्ट्र मन्त्रालयस्तरीय वार्तामा नेपालका परराष्ट्र सचिव शंकरदास बैरागी र भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा सहभागी हुने बताइएको छ ।

दुई देशका परराष्ट्र मन्त्रालय स्तरीय वार्तामा आर्थिक तथा विकासको एजेण्डालाई समावेश गरिँदै आइएको छ । तर यस पटकको मुख्य एजेण्डा भने सीमा विवाद रहेको छ । नियमित एजेण्डामा छलफल गर्नेगरी सन् २०१६ देखि यस्तो वार्ता हुँदै आएको थियो ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले भने यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन । तर, परराष्ट्र मन्त्रालयको उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राजदूतको अनौपचारिक छलफल भए अनुसार भदौ १ गते वार्ता हुन थालेको हो ।

भारतीय सञ्चारमाध्यमले पनि नेपाल र भारतबीच भदौ १ गते वार्ता हुने दावी गरेर समाचार सार्वजनिक गरेका छन् । नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि दुई देशबीच संवादहीनताको अवस्था थियो । भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेको नक्सा सार्वजनिक भएपछि भारत असन्तुष्ट छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *