इन्स्योरेन्स क्षेत्रमा पहिलो पटक आइपिओ जारी गर्दै रिलायन्स इन्स्योरेन्स
काठमाडौं । नेपालमै पहिलो पटक इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्ने भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले भदौ ४ गते देखि सर्वसाधारणका लागि ६३ करोडको आइपिओ जारी गर्न लागेको हो ।
रिलायन्सले रु.१०० अंकित दरका ६३,००,००० कित्ता शेयरको प्रारम्भिक निष्काशन गर्ने भएको छ । कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात् रु.६३ करोड रुपैयाँ बराबरको शेयर सार्वजनिक निष्काशन गरे पश्चात् कम्पनीको चुक्ता पूँजी रु.२ अर्ब १० करोड कायम हुनेछ । सो शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लि. रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।
निष्काशन गरिने ६३,००,००० कित्ता शेयर मध्ये कम्पनीमा कार्यरत कर्मचारीको लागि ३,१५,००० कित्ता शेयर, नेपाल धितोपत्र बोर्ड बाट स्वीकृतिप्राप्त सामुहिक लगानी कोषको लागि ३,१५,००० कित्ता शेयर र बाँकी ५६,७०,००० कित्ता शेयर सर्वसाधरणको लागि हुनेछ ।
बीमा समितिबाट पछिल्लो समय इजाजतप्राप्त १० नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वसाधारणमा शेयरको सार्वजनिक निष्काशन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हो । कम्पनीले बजारको माग अनुरुप नयाँ तथा उत्कृष्ट बीमा योजनाहरु प्रतिस्पर्धात्मक बीमा शुल्कमा ल्याई आफ्नो सेवाको गुणस्तरलाई उच्च राखी कार्य गरिरहेको कम्पनीका सिइओ पराजुलीले बताए ।
सिद्धार्थ बैँक लि. लगायत नेपालका प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले मिति ०७४ मंसिर १ गतदेखि विधिवत् रुपमा जीवन बीमा व्यवसाय सञ्चालन गर्दै हाल १०० वटा शाखा/उपशाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।