इजरेल-यूएईबीच ‘ऐतिहासिक’ शान्ति सम्झौता, के छ सम्झौतामा ?
काठमाडौं । इजरेल र संयुक्त अरब एमिरेट्स (यूएई) सम्बन्ध सामान्य बनाउने एउटा सम्झौतामा पुगेका छन् । योसँगै इजरेल उसले कब्जा गरेको वेस्ट ब्याङ्कका थप भागमा त्यसलाई विस्तार गर्ने विवादास्पद योजना रद्द गर्न सहमत भएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो एउटा आश्चर्यजनक वक्तव्यमार्फत् उक्त जानकारी दिएका हुन् । उनले यो सम्झौता गराउन मध्यस्थकर्ताको भूमिका खेलेका थिए । इजरेल र यूएईले उक्त सम्झौतालाई “ऐतिहासिक” र शान्तिको दिशामा एउटा सफलता भनेका छन् ।
प्यालेस्टिनीको प्रतिक्रिया
हालसम्म कुनै पनि खाडी अरब देशहरूसँग इजरेलको कूटनीतिक सम्बन्ध स्थापना भएको छैन । तर इरानलाई लिएर बढ्दो साझा चिन्ताहरूले उनीहरूबीच अनौपचारिक सम्पर्क गराएको हो ।
प्यालेस्टिनी नेताहरूले यसलाई आश्चर्यजनक ढङ्गले लिएका छन् । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका एकजना प्रवक्ताले उक्त सम्झौता “विश्वासघात” भएकाले यूएईस्थित प्यालेस्टिनी राजदूतलाई फिर्ता बोलाइएको बताए ।
इजरेलका प्रधानमन्त्री नेतान्याहु र अबुधावीका युवराज अल नह्यानबीच भएको सम्झौतालाई राष्ट्रपति ट्रम्पले “एउटा वास्तविक ऐतिहासिक क्षण” भनेका छन् ।
तेस्रो सम्झौता
सन् १९४८ मा इजरेलले स्वतन्त्रता घोषणा गरेयताको यो तेस्रो इजरेल-अरब सम्झौता हो । यसअघि इजरेलसँग इजिप्ट र जोर्डनले यस्तैखाले सम्झौता गरिसकेका छन् ।
ट्रम्पले ह्वाइट हाउसमा आउँदो साता सम्झौतामा हस्ताक्षर कार्यक्रम हुने जानकारी दिँदै भने, “अहिले ‘आइस ब्रेक’ भएको छ, म अन्य अरब र मुस्लिम देशहरूले पनि यूएईलाई पछ्याउने अपेक्षा गर्छु ।” त्यसअघि ट्रम्पको ट्वीट घोषणालाई प्रतिउत्तर दिँदै हिब्रु भाषामा नेतन्याहुले “ऐतिहासिक दिन” भनेका थिए ।
आफ्नो टेलिभिजन सम्बोधनमा नेतन्याहुले वेस्ट ब्याङ्क विस्तारको आफ्नो योजनालाई स्थगित गर्ने तर ती योजनाहरू कुनै पनि बेला कार्यान्वयन गर्न सकिने अवस्थामा हुने बताए । यस्तो विस्तारले वेस्ट ब्याङ्कको केही क्षेत्र इजरेलको औपचारिक हिस्सा हुनेछ ।
उनले कोरोनाभाइरसको खोप बनाउन इजरेलले यूएईसँग सहकार्य गर्ने बताए । त्यस्तै ऊर्जा, पानी र वातावरण संरक्षणसहित अन्य क्षेत्रमा पनि सहकार्य हुनेछ । विश्लेषकहरूले आगामी नोभेम्बरमा पुन: निर्वाचित हुन चाहिरहेका ट्रम्पलाई उक्त सम्झौताको अर्थ उनको विदेश नीतिको जित भन्ने हुनसक्छ र भ्रष्टाचारको आरोप खेपिरहेका नेतन्याहुका लागि पनि यो व्यक्तिगत लाभ हुनसक्छ ।
कोरोनाभाइरस महामारीमा उनीहरूले गरेको कामका कारण दुवै नेताहरूको छवि खस्कँदो थियो । तर इजरेलमा वेस्ट ब्याङ्क विस्तार गर्ने योजना रद्द गरिएकोमा केहीले आक्रोश व्यक्त गरेका छन् । अमेरिकाका लागि यूएईका राजदूत युसुफ अल ओतैबाले इजरेलसँगको सम्झौतालाई “कूटनीति र उक्त क्षेत्रका लागि एउटा जित” भनेका छन् ।
उनले यो सम्झौताले तनाव कम गर्ने र सकारात्मक परिवर्तनका लागि ऊर्जा दिने बताए । इजरेलसँग यसअघि इजिप्टले सन् १९७९ मा र जोर्डनले सन् १९९४ मा सम्झौतामा हस्ताक्षर गरेका थिए । मौरुटानियाले पनि सन् १९९९ मा इजरेलसँग कूटनीतिक सम्बन्ध स्थापित गरेको थियो तर सन् २००९ मा सम्झौतालाई समाप्त गरिदिएको थियो ।
सम्झौतामा के छ ?
आगामी साताहरूमा इजरेल र यूएईका प्रतिनिधिहरू द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्न भेट्नेछन् । उनीहरूले लगानी, पर्यटन, सीधा हवाई उडान, सुरक्षा, दूरसञ्चार, प्रविधि, ऊर्जा, स्वास्थ्य सेवा, संस्कृति, वातावरण, दुवैतर्फ दूतावास स्थापना र अन्य द्विपक्षीय फाइदाका विषयमा सम्झौता गर्नेछन् ।
“मध्यपूर्वका सबैभन्दा गतिशील समाज र विकसित अर्थतन्त्र भएका दुई देशबीचको प्रत्यक्ष सम्बन्धको सुरुवातले अर्थतन्त्रलाई प्रोत्साहन, प्राविधिक अन्वेषणलाई बढावा र जनस्तरको निकट सम्बन्ध हुनेछ र त्यसले यो क्षेत्रलाई रूपान्तरित गर्नेछ,” संयुक्त वक्तव्यमा भनिएको छ ।
प्यालेस्टिनीहरूले यो कदमले आफ्नो भविष्यमा एउटा स्वतन्त्र देश बन्ने आशालाई नष्ट गरिदिने र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुने चेतावनी दिएका छन् । यूएईका विदेश राज्यमन्त्रीले चाहिँ प्यालेस्टाइनको आलोचनालाई सधैँको जस्तै हल्लाखल्ला भनेका छन् ।
संयुक्त वक्तव्यमा इजरेलले अन्य अरब र मुस्लिम देशहरूमा पनि यस्तै सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको र त्यसलाई पूरा गर्न अमेरिका र यूएईले सहयोग गर्ने पनि उल्लेख छ । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले यसलाई शान्तिपूर्ण मध्यपूर्वको बाटोमा एउटा स्वागतयोग्य कदम भनेका छन् ।
इजिप्ट र जोर्डनले पनि उक्त क्षेत्रमा शान्ति स्थापनार्थ यो कदमले सहयोग गर्ने जनाएका छन् । इरानको रिभोलुसनरी गार्डस्सँग सम्बन्ध भएको तस्निम समाचार एजेन्सीले चाहिँ उक्त कदमलाई “लज्जास्पद” भनेको छ । गाजाको लडाकु समूह हमासले पनि आफ्ना मानिसहरूलाई पिठयूँमा छुरा घोपेको भन्ने प्रतिक्रिया दिएको छ। बीबीसीबाट