[भिडिओ वार्ता] महामारी नियन्त्रण बाहिर गएको छैन : स्वास्थ्य प्रवक्ता गौतम
काठमाडौं । गत वर्षको ११ चैत्रदेखि संघीय सरकारले लगाएको बन्दाबन्दी (लकडाउन्) गत ७ श्रावणमा आएर खोल्यो । त्यसपछिको समयमा सरकार नागरिकप्रति खासै उदार देखिएन ।
कारण, बन्दाबन्दीबीच नै देखिएको संक्रमणको अनुपात अथवा नागरिकहरुमा देखिएको अनियन्त्रित लापरवाही, जे पनि होस् । त्यसपछि ‘सकेजति गर्यौं, बाँकी हेर्दै जाऔं’को भावमा बसेको सरकारले २२ श्रावणमा पहिलेकै जस्तो बन्दाबन्दीबारे नसोचेको प्रतिक्रिया दियो ।
बन्दाबन्दी खुलेपछि लक्षणसहितका संक्रमित भेटिने गरेका कतिपय अग्रपङ्तिका चिकित्सकहरुदेखि सम्बन्धित विषयका विज्ञहरुले औंल्याउँदै आएका छन् । त्यसपछि सरकारले क्षेत्रगत रुपमा बन्दाबन्दी गर्न सकिने बतायो र कतिपय जिल्लाहरुमा त बन्दाबन्दी पनि गर्यो ।
यद्यपि पनि कोरोना संक्रमण काबुमा रहन नमानेको हामी आफैँले पनि तथ्याकंतः हेर्दा थाहा हुन्छ । संक्रमण किन काबुमा छैन ? लकडाउन् गरियो–खोलियो, यसको औचित्य के रह्यो ? बन्दाबन्दी खोलिएको र संक्रमणदर बढेको यो अवस्थामा अब नागरिकले कसरी बाँच्ने, संक्रमण नियन्त्रणको सन्दर्भमा नेपाल सरकार कहाँनेर उभियो ? यी यावत् विषयवस्तुका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमसँग सोधपुछ गरेका छौं । प्रस्तुत छ, प्रवक्ता गौतमसँग गरिएको कुराकानीको सम्पादित अंशः
पछिल्लो समय नेपालमा मृत्युदर र संक्रमणदर दिनुदिन बढ्दो छ, के संक्रमण हाम्रो नियन्त्रण क्षमताभन्दा बाहिर गएको हो ?
छैन, हाम्रो नियन्त्रण बाहिर गएको छैन । जस्तो तपाईँ एक महिना अगाडिको कुरा गर्नुहुन्छ भने हाम्रो संक्रमण दर ८९ प्रतिशत थियो । बीचमा आएर यो २३ प्रतिशतमा आएको थियो । अहिले चाहिँ ४५ प्रतिशतमा चढेको छ । एक महिना अघिको दाँजोमा अहिलेको संक्रमण दर कमै छ ।
तपाईँले स्वास्थ्य क्षेत्रमा पनि धेरै काम गरिसक्नुभएको छ, लकडाउन् खोलिसकिएको यो अवस्थामा महामारी नियन्त्रणको लागि कस्तो तयारी गर्नुभएको छ ?
संक्रमणविरुद्ध सरकार मात्रै लागेको हुँदैन । सरकारको एक्लो प्रयासले यो संक्रमण नियन्त्रणमा आउँदैन । हरेक व्यक्तिले कोरोनाबाट कसरी बच्ने भनेर सोच्नुपर्ने हुन्छ । जस्तो जरुरी काम नपरी घरबाट बाहिर ननिस्किने, दुई मिटरको दूरी कायम गर्ने र सबैले मास्कको प्रयोग गर्नुपर्छ । अस्ति एउटा स्टडीले भन्यो, ७२ प्रतिशतले मात्रै मास्कको प्रयोग गरे पुग्छ, तर त्यो झुटो हो । मास्क १०० प्रतिशतले नै लगाउनुपर्छ । मास्कको प्रयोग र दूरी कायम गरिएको खण्डमा कोरोनाबाट मज्जाले बच्न सकिन्छ । यदि गरियो भने कोरोना कदापि सर्दैन ।
नेपाल सरकार कोरोना महामारी नियन्त्रणको सन्दर्भमा कुन स्थानमा उभिएको छ ? भनौं नियन्त्रणमा कति सफलता प्राप्त गरेको छ ?
नेपाल सरकारले कोरोना नियन्त्रणमा साउथ एसियामै बेस्ट रिजल्ट दिएको छ । लकडाउन् गरेर सरकारले राम्रो काम गर्यो । ठीक समयमा गर्यो, ठीक समयमा खोल्यो । लकडाउन्ले कोरोना टेस्ट् गर्ने क्षमता बढायो । जस्तो नेपालको पहिलो टेस्ट् चाहिँ हङकङ लगेर गरिएको थियो । आजको दिनमा हामीसँग २२ हजार टेस्ट् गर्ने क्षमता छ । यो पनि हाम्रो सफलता नै हो ।
लकडाउन् गर्नु र खोल्नुको औचित्य कति रह्यो ?
लकडाउन् एकदमै ठीक समयमा गरियो, ठीक समयमा खोलियो । लकडाउन् उपचार होइन, बुझ्नुपर्छ । किनकी, यो रोग नेपालमै उब्जिएको होइन, बाहिरबाट आएको हो । लकडाउन्ले पूरै रोगलाई निको पार्ने होइन । नेपालमा ठ्याक्कै यस्तै भयो । अहिले नेपालमा लकडाउन् खोलिएको छ । केही समस्याहरु आए । लकडाउन् खोलिएको कारणले भन्दा पनि सीमा–नाकामा कडाइ नगरिनुले संक्रमित बाहिरबाट झनै आएका हुन् । लकडाउन् साध्य होइन, साधन मात्र हो । छोटो समयको लागि यसले राम्रो पार्छ । जस्तो अहिले बारा, पर्सालगायतका जिल्लाहरुमा ‘सेलेक्टिभ लकडाउन्’ गरिएको छ । यस्तो गर्दा राम्रै हुन्छ ।
जस्तो सम्बन्धित विषयविज्ञहरुका अनुसार अबको दुई÷तीन हप्ताभित्र संक्रमण पीकमा पुग्दैछ, अब नागरिकले कस्तो खालका सतर्कता अपनाउने, कि पहिल्यैको सतर्कताले पुग्छ ?
संक्रमण पीकमा पुग्दैछ भन्ने कुरा तथ्यपरक होइनजस्तो लाग्छ मलाई । अन्य डाक्टरहरुले कसरी भन्नुभयो, त्यो उहाँहरुको कुरा हो । सतर्कताको कुरा गर्नुपर्दा त जनताहरुले आफैँले कति अपनाउनुहुन्छ भन्नेमा निर्भर रहन्छ । हामीले एक खालको आकलन गरेका थियौं । भदौंको एक दुई गतेसम्म आइपुग्दा हामीसँग ४०/४१हजार सक्रिय केशहरु हुन्छन् भनेका थियौं । तर अहिले हामीसँग ८ हजार छ । त्यो हुँदा संक्रमण पीकमा पुग्दैछ भन्ने खासै तथ्यपरक नहुन सक्छ ।
एउटा अध्ययनले भन्यो, दुई जनामा एक जनाले मात्रै मास्क लगाए पुग्छ, यो सत्य हो ?
दुई मिटर दूरीमा छौं भने दुवै जनाले नै मास्क लगाउनुपर्छ भन्ने हुँदैन । यद्यपि लगाउँदा राम्रो हो । हामी दुई जना कुराकानी गरिरहेका छौं । तपाईँले मास्क लगाउनुभएको छ । मैले लगाएको छैन । तर हामीले दूी कामय गरेका छौं नि, हो यस्तो अवस्थामा लगाउनैपर्छ भन्ने छैन । तर लगाउँदा राम्रो हो ।
पछिल्लो समय जनजीवन सामान्यीकरण हुँदै गएको छ । अब कसरी व्यतित गर्नुपर्छ ?
एक, दुई, तीन गर्दै म भन्छु । सबैभन्दा पहिलो जनस्वास्थ्यको मापदण्ड फलो गर्नुपर्छ । अहिले पनि यही हो र एक वर्षपछि पनि यही गर्नुपर्छ । त्यही नै एकमात्र कोरोना नियन्त्रण गर्ने विभि हो । यसको औषधि छैन । तपाईँहरुलाई लागेको होला–भेन्टिलेटर, औषधिको कुरा छापामा आइरहेको छ नि ? त्यो महत्वपूर्ण करा होइन । महत्वपूर्ण कुरा रोग लाग्न नदिनु नै हो । कोरोनाको कुनै उपचार छैन । दोश्रो नम्बरमा, हामीले पनि आफ्नो तर्फबाट कन्ट्याक्ट ट्रेसिङ्गमा ध्यान दिनुपर्छ । एक जना संक्रमित हो भने त्यसले बीचमा कति जनालाई भेट्यो ? त्यसलाई हामीले ध्यान दिइरहेकै छौं पनि । तेश्रो नम्बरमा, जो मान्छे धेरै बिरामी परेका छन् ? उनीहरुलाई अस्पतालमा बेडको व्यवस्थापन गर्नुपर्छ । अझ धेरै गाह्रो भयो भने आइसीयूमा राख्नुपर्छ । भेन्टिलेटरमा राखिएका बिरामीहरु प्रायः फर्किन्नन् भनेर बाहिरी अध्ययनले भनेको छ । यसर्थ आजकल अक्सिजनलाई बढी प्रश्रय दिइँदै आइएको छ । यत्ति तीन वटा काम चाहिँ गर्नुपर्छ ।
यो महामारी नियन्त्रणको निम्ति आम–जनताहरुले कस्तो भूमिका खेल्नुपर्ला ?
पुनः म सबैलाई आग्रह गर्छु । जरुरी काम नभइ बाहिर ननिस्कौं । कोभिड १९ लाग्यो भने मर्न पनि सकिन्छ । तपाईँ २०० को मास्क नलगाउने, नेपाल सरकारले तपाईँको लागि ५ हजार ५ सय रुपैयाँको टेस्ट् गरिदिनुपर्ने, आइसीयूमा राखियो भने दिनको १५ हजार रुपैयाँ नेपाल सरकारले तिरिदिनुपर्ने अनि तपाईँ चाहिँ केही पनि नगर्ने । यो कुरा म सम्पूर्णलाई भन्न चाहन्छु । जसले जनस्वास्थ्यको मापदण्ड फलो गर्नुभएको छ, उहाँहरुलाई धन्यवाद पनि छ।
आजसम्म कोरोना भाइरसको खोप पनि बनेको छैन । विज्ञहरुले बनिहाले पनि ५० प्रतिशतसम्म मात्रै काम गर्छ भनेर भनेका छन् । अब विश्वले कोरोनाविरुद्धको खोप कहिलेसम्म पाउला यहाँसँग जानकारीभएअनुसार ?
टेस्ट्हरु भइरहेका छन् । अहिल्यै यो भन्न सकिन्न । औषधि बनेर मात्रै पनि हुँदैन । प्रोडक्सन पनि गर्नुपर्यो नि । तपाईँले एउटा इञ्जिन पत्ता लगाउनुभयो, त्यसले गाडी चढ्न सकिन्छ ? हो यस्तै नै हो ।
देशका धेरैजसो क्वारेन्टाइन तथा आइसोलेशनहरुबाट गुनासोहरु आएका छन् । सफा भएन, बढी भीड भयो भनेर, यसलाई स्वास्थ्य मन्त्रालयले कसरी लिइरहेको छ ?
त्यस्तो भयो भने त्यस्तो ठाउँतिर नजाने, घरमै बस्ने, घरमा आइसोलेशनको व्यवस्था गरिएको छ । त्यो काम वास्तवमा हाम्रो पनि होइन । हामीले आवश्यकीय निर्देशन दिइनै रहेका छौं । सबै काम संघीय सरकारले मात्रै गरेर पनि सक्दैन । स्थानीय सरकारहरुले पनि गर्नुपर्यो । मापदण्डअनुसारनै क्वारेन्टाइनहरु निर्माण हुनुपर्छ ।
अबको नेपालको अर्थतन्त्रअनुसार आम नेपालीको दैनिकी कस्तो हुनुपर्छ ?
अब खर्च कटौती गर्नुपर्छ । कोभिडले राज्यको अर्थतन्त्रमा असर पारेको छ । नेपालले अब स्वदेशमै विभिन्न सामानहरु बनाउनेतर्फ लाग्नुपर्छ । जत्ति पनि उपभोग्य सामानहरु छन् । सबै नै शुलभ रुपमा प्रयोग गर्नुपर्छ । हामी त्यो बाटोमा लाग्नुपर्छ ।
भिडियो हेर्नुस्ः