भरतपुरका २१ सहित चितवनमा थप २८ जनामा कोरोना पुष्टि
चितवन । चितवनमा एकैदिन २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड-१९ परीक्षण प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका १ जना गरी २८ जनामा कोरोना देखिएको हो ।
प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीका अनुसार नयाँ संक्रमण पुष्टि भएकामध्ये २१ जना भरतपुर महानगरपालिकाका हुन् । भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर सेन्ट्रल अस्पतालबाट कन्ट्याक ट्रेसिङ्बाट गरिएको स्वब संकलनबाट भरतपुर महानगरपालिका वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना पोजेटिभ देखिनेहरु २२ देखि ५३ वर्ष उमेर समूहका रहेका छन् । यस्तै रत्ननगरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका-५ र १२ का ३ पुरुष र एक महिला रहेका छन् । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षीया हुन् ।
त्यसैगरि खैरहनी नगरपालिका-८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना क्वारेन्टिनमा थिए । यस्तै भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएका सर्लाहीकी २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. अधिकारीले बताइन् । शनिबार राति कुल ४७४ नमुना परीक्षण गरिएको थियो ।