५९ हजार ४११ नेपालीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)बाट ५९ हजार बढी नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार हालसम्म नेपालसहित ५९ हजार ४११ नेपालीमा कोरोना संक्रमण देखिएको हो ।
कुल संक्रमितमध्ये ८३ प्रतिशत अर्थात् ४८ हजार ५०४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । हालसम्म नेपालसहित विश्वभर २९३ जना नेपालीको कोरोना भाइरसले ज्यान गइसकेको छ ।
कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायतका देशमा रहेका नेपालीको ज्यान हो ।
विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४४१ जनाको उद्धार गरिएको छ । गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको उद्धार गरिँदै आएको छ । विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो ।