चितवन मेडिकल कलेजले भोलिदेखि कोरोना परिक्षण गर्ने

चितवन । सरकारले अनुमती दिएपछि चितवन मेडिकल कलेजले भोलि (सोमबार) देखि कोरोना परिक्षण सुरु गर्ने भएको छ । दैनिक बाह्र सय जनाको परीक्षण गर्ने गरी प्रयोगशाला तयार पारिएको मेडिकल कलेजले जनाएको छ ।

कलेजले विज्ञप्ति जारी गर्दै सरकारबाट कोरोना परीक्षण अनुमति पाएपछि अब अस्पतालमा एक सिफ्टमा चार सय जनाको दरले नमूना परीक्षण गर्न सक्ने जनाएको हो । नमूना स्वाब लिएको ६ घण्टा भित्र नै नजिता आउने कलेजले जनाएको छ ।

नेपाल सरकारले तोकेको निर्देशिका अनुसार स्वाब संकलन गरी सरकारले नै तोकेको ६ हजार ५० रुपैयाँ परीक्षण शुल्क लिने तयारी गरेको कलेजले कोभिड ल्याबको लागि जनशक्तिदेखि अन्य व्यवस्थापन अलग्गै गरेको जनाएको छ ।

विज्ञप्तिमा कलेजले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंबाट पीसीआर परीक्षण गर्ने अनुमति साउन ३० गते प्राप्त गरेको उल्लेख गरेको छ । कलेजले ल्याबका लागि आवश्यक सबै मापदण्ड पूरा गरेपछि प्रयोगशालाबाट अनुमति प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *