कांग्रेसलाई उठाउने कि रसातलमा पुर्याउने ?

मुलुककै पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसका कार्यकर्ताहरु यतिबेला ‘रानो विनाको माहुरी’ भएका छन् । बाटो विराएर चौबाटोमा रुमलिएका छन् । अर्थात, जसरी माहुरीको गोलो रानो नहुँदा छरपस्ट हुन्छ कांग्रेस त्यस्तै हविगतबाट गुज्रिइरहेको छ । वीपी कोइरालाले जन्माएको पार्टी आज अभिभावक विहिन हुनुमा नेतृत्व अभाव नै हो । २००३ सालमा वीपी कोइराला, मातृका कोइराला र टंकप्रसाद आचार्यको सक्रियतामा राणाहरुको चरण शोषण र अत्याचारबाट मुलुकलाई मुक्त गर्न स्थापना भएको पार्टी आज ०७५ वर्षको हुँदै गर्दा आफैं अभिभावक विहिन भएको छ । वीपीको आदर्श र सिद्धान्त धर्मराएको छ ।

आन्तरिक कलहमा रुमलिएको कांग्रेस

२००७ सालदेखि नेपालको हरेक राजनीतिक, सामाजिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै २०४७ सालमा संविधान लेखनको दायित्व पुरा गरेको कांग्रेस २०५५ साल यता भने पार्टी भित्रैको आन्तरिक कलहमा अल्झीएको छ । तत्कालिन अवस्थामा पार्टीका शिर्षस्त नेता गिरीजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा लगायत विचको आन्तरिक कलहले २०५८ सालमा पार्टी विभाजित नै भयो । २०४६ सालको बहुदलीय प्रजातन्त्र स्थापनाकालागि निर्णायक भूमिका खेलेको कांग्रेस पटक–पटक सत्तामा गएपनि मुलुक र जनताका पक्षमा खासै काम गर्न सकेन । पार्टीका शिर्ष नेताहरु विच नै सत्ताको खिचातानीमा समय व्यतित भयो । पार्टीभित्र देखिएको आन्तरिक कलहका कारण २०४६ सालको आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंह विरक्तिए । अर्का त्यागी नेता कृष्णप्रसाद भट्टराई पार्टी भित्रको खिचातानीको कोपभाजनमा परे ।

२०५२ सालमा संविधानसभा र संघियताको वकालत गर्दै सशष्त्र क्रान्ति गरेको माओवादीको जनयुद्ध चरम अवस्थामा पुग्दै गर्दा २०५८ सालमा नारायणहिटी दरबार हत्याकाण्ड भयो । कांग्रेसकै नेतृत्वमा सरकार भएकाले दरबार हत्याकाण्डले पार्टी झनै अलोकप्रिय भयो । शेरबहादुर देउवाले सत्ताकैलागि वीपी कोइरालाको आदर्श र सिद्धान्तलाई दुई टुक्रा पारिदिए ।

६०/४० ले जन्माएका गुट

तत्कालिन राजा ज्ञानेन्द्रले बहुदलिय व्यवस्थालाई अंकुश लगाउँदै शासन सत्ता कब्जामा लिएपछि बदलिएको राजनीतिक समिकरणले जंगलमा रहेका माओवादी र रत्नपार्कमा बदाम छोडाएर दिन विताइरहेका सात दलहरुविच सहकार्यको वातावरण बनेपछि दिल्लीमा नेपालका सात दल र माओवादी विचको १२ बुँदे सहमतिले जनान्दोलन ०६२/०६३ भयो । उक्त शान्तिपुर्ण आन्दोलनले राजा ज्ञानेन्द्रलाई दलहरुका अगाडी घुँडा टेकायो भने शशष्त्र युद्ध गरेको माओवादीलाई पनि शान्तिपूर्ण राजनीतिमा अवतरण गराईदियो । त्यसपछि भने नेपाली कांग्रेस र नेपाली कांग्रेस पञ्जातान्त्रिकलाई पुनः एउटै झण्डामुनी आउनुपर्ने अवस्था सृजना भयो । र, २०६४ असोजमा शेरबहादुर देउवा र तत्कालिन गिरिजाप्रसाद कोइरालाले ६०/४० को भागवण्डामा पार्टी एकीकरण गरे । केन्द्रमा दुई जनाविच ६०/४० को भागवण्डाले कांग्रेसलाई झनै ठूलो असर गर्यो । पार्टी फुट्दा वडादेखि केन्द्रसम्म विभाजित मनहरु चारतारे झण्डाभित्र अटाउन सकेनन्, पहिलो संविधानसभा निर्वाचनमा पार्टीले लज्जास्पद पराजय ब्यहोर्यो । स्वर्गिय गिरिजा प्रसाद कोइरालाकै पहलमा हतियारको राजनीति विसाएर बहुदलीय प्रतिष्पर्धालाई स्विकार गर्दै आएको माओवादी सबैभन्दा ठूलो दल भयो । नेपाली कांग्रेस दोस्रो दलमा खुम्चियो ।

मुलुकमा राजतन्त्र समाप्तिसँगै गणतन्त्र स्थापना, माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने दायित्व, पहिलो संविधानसभा निर्वाचन गराउनसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका तत्कालिन कांग्रेस सभापति गिरीजा प्रसाद कोइरालाको २०६६ सालमा निधन भयो । संविधान लेखन र शान्ति स्थापनाका धेरै कामहरु बाँकी हुँदा हुँदै विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने एउटा महत्वपूर्ण व्यक्तिको अवसानले कांग्रेसलाई झनै ठूलो धक्का पुग्यो । त्यसपछि ०६७ सालमा सम्पन्न १२ औं महाधिवेशनबाट पार्टी सभापतिका रुपमा शुशिल कोइराला आए । तर, उनले पार्टीभित्र देखिएको असन्तुष्टि र ०६४ सालमा ६०/४० को राजनीतिक भागवण्डाको अन्त्य गर्न सकेनन् । केन्द्रमा शिर्ष नेताहरु पार्टीका बैठक र चुनावी सभामा एक भएको भन्थे ब्यवहारतः ६०/४० कै वरीपरी रुमलिन्थे ।

पहिलो संविधानसभा असफल भएपछि ७० सालमा खिलराज रेग्मीको अध्यक्षतामा दोस्रो संविधानसभा निर्वाचन भयो । माओवादीको राजनीतिबाट विरक्तिएका जनताले दोस्रो संविधानसभामा पुनः नेपाली कांग्रेसलाई मत दिए । र, कांग्रेसकै नेतृत्वमा पहिलो पटक जनताद्वारा लेखिएको संविधान जारी भयो । तर, पार्टीभित्र भने ६०/४० को भागवण्डा यथावतै थियो । बरिष्ठ नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुननरसिंह केसीलगायतले पार्टीभित्र आ–आफ्ना गुट चलाईरहे । महाधिवेशनमा मात्र देखिनुपर्ने गुटहरु जिवितै रहँदा कांग्रेसलाई ठूलो घाटा भयो ।

०७३ सालको १३ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा आएपनि उनले पार्टीभित्र देखिएको भागवण्डाको राजनीतिलाई समाप्त गर्न सकेनन् । झनै देउवाले गुटको राजनीतिलाई मलजल गरे । आफ्नै पार्टीका विपक्षीहरुलाई खेदो खने । पार्टीका विभिन्न संगठनहरुलाई अपाङ्ग बनाए । भातृ संगठनहरुलाई चलायमान त गराउन सकेनन् पूर्णता दिने कार्य पनि गरेनन् ।

जनता माझ जान नसक्दाको हार
०७४ सालमा पहिलो पटक संघिय संरचनामा निर्वाचन भयो । संघियता कार्यान्वयनको चरणमा नेपाली कांग्रेसले आफ्ना एजेण्डाहरु जनताका माझ घनिभूत गराउन सकेन । नेकपा एमाले र माओवादीको बाम गठबन्धनले झण्डै बहुमत हासिल गरे । दुई तिहाईको स्थायी सरकार संमृद्धिको सरकार भन्ने नारासहित बाम गठबन्धनले बहुमत हासिल गर्दा कांग्रेस दोस्रो दलमा खुम्चियो । तथापि, निर्वाचनमा भोगेको पराजयको जिम्मेवारी सभापति देउवाले लिने चेष्टा पनि गरेनन् बरु उल्टै पार्टीलाई एकलौटी रुपमा चलाउँदै गए । विभिन्न निर्णयहरु गर्दै गए जुन आज पर्यन्त छ ।

पार्टीमा इमान्दार छवि बनाएका, पुस्तौंपुस्तादेखि कांग्रेसको राजनीति गर्दै आएका कार्यकर्ता तथा नेताहरु जो देउवाको विरोधमा उत्रिए उनीहरुलाई खुम्च्याउने रणनीति देउवाले अपनाउँदा पार्टीको सांगठनिक अवस्था दिन प्रतिदिन कमजोर बन्दै गएको छ । देउवाको स्वेच्छाचारी निर्णयले इमान्दार कांग्रेसीहरु निराश भइरहेका छन् । आमनिर्वाचनमा जनताका पक्षमा कांग्रेस जान नसक्दाको परिणाम आम कांग्रेस इतिहासकै संगीन घडीमा छ ।

देउवाको मौनताले उठाएका प्रश्न

१४ औं महाधिवेशनको कार्यक्रम चलिरहँदा नेपाली कांग्रेसभित्र अब कसले नेतृत्व लिन्छ ? बहस र चर्चा चलिरहेको छ । केन्द्रदेखि जिल्ला नगर र वडागत रुपमा कांग्रेसीहरु वीपीको विरासत कसले जोगाउन सक्छ ? कसले गुटको राजनीतिको अन्त्य गर्न सक्छ ? विचार मन्थन गरीरहेका छन् । यसैविच आधा दर्जन नेताहरुले प्रत्यक्ष अप्रत्यक्ष सभापतिको दावेदारी प्रस्तुत गरीरहँदा बर्तमान सभापति शेर बहादुर देउवाले पुनः एक कार्यकाल सभापति बन्ने आकांक्षा राखेका छन् ।

०७४ सालको निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मेवारी समेत लिन नसक्ने देउवाले अब पुनः एक कार्यकाल सभापति भएर कांग्रेसलाई पहिलो पार्टी बनाउलान्, पार्टीभित्र मौलाएको गुटको राजनीति अन्त्य गर्लान् भन्ने आशा सायदै कांग्रेसीहरुले गरेका छन् । अझ देउवाले पछिल्लो समय नेकपाको सरकारले गरेका गलत निर्णयहरुमा ठाडो शीर लगाएर बोल्न पनि सकिरहेका छैनन् । संसदमा गगन थापा, मिनेन्द्र रिजालले नेकपा सरकारको आलोचना गर्दा देउवा भने रातारात बालुवाटारमा गएर प्रधानमन्त्रीसँग उठवस गर्छन् । एमसीसी परियोजना, बालुवाटार जग्गा काण्ड, ओम्नी प्रकरण, यति होल्डिङ प्रकरणमा देउवाको मौनताले उनको नेतृत्व क्षमता र इमान्दारितामै प्रश्नहरु उठिरहेका छन् ।

पुस्ता हस्तान्तरण किन र केका लागि ?

कांग्रेस मुलुकको जेठो लोकतान्त्रिक पार्टी हो । १०३ वर्षको जहानीयाँ राणा शासन फ्याक्न होस् वा पञ्चायत ब्यवस्था अथवा संघिय गणतन्त्र स्थापनामा यसले सदैव नेतृत्वदायी भूमिका निर्वाह गरेको कतैबाट लुकेको छैन । समयसापेक्ष पार्टीको सिद्धान्त र मुलुकको आवश्यक्तालाई ह्दयगम गर्दै लोकतान्त्रिक अभ्यासमा प्रतिबद्ध नेपाली कांग्रेस नै हो । तर, आफुलाई लोकतान्त्रिक अभ्यासको सुत्रधार भन्ने कांग्रेसको नेतृत्व भने निरंकुश बन्नु कत्तिको जायज हो ? आम कार्यकर्ताले सभापति देउवाको कार्यशैली प्रति प्रश्न उठाइरहेका छन् ।

पार्टीमा पुस्ता हस्तान्तरणको माग चर्को छ । अझ ‘६५ कटेका नेताहरुले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्छ । पार्टीको नेतृत्वमा युवाहरुलाई स्थान दिनुपर्छ’ भन्ने माग १२ औं महाधिवेशन देखि नै हो । डा. शेखर कोइराला, गगन थापा, कृष्ण सिटौला, प्रदीप पौडेल, शंकर भण्डारी, महेश आचार्य, नरहरी आचार्य, बालकृष्ण खाँड, मिनेन्द्र रिजाल लगायतले पुस्ता हस्तान्तरणको माग गर्दै आएपनि ‘रिटायर्ड लाइफ’ व्यतित गर्ने उमेरकाहरु अनुदार बन्नु पार्टी र मुलुककै लागि घातक हो ।
अब ‘रिटायर्ड लाइफ’मा पुगेकाहरुले पुस्ता हस्तान्तरणको मागलाई संवोधन गर्नैपर्छ । २१ औं शताब्दीमा १९ औं शताब्दीका बुज्रुकहरुले ‘कन्दनी’ लगाएर पार्टीको लाज ढाकिँदैन ।

समय सापेक्ष मुलुकको विकास र लोकतान्त्रिक मुल्य मान्यता अनुरुप कांग्रेसलाई अगाडी बढाउनकै लागि पनि खासगरी पहिलो तहका नेतृत्वले परिवर्तनको मागलाई आत्मसात गर्नु अपरिहार्य छ ।

पुरानालाई लखेट्ने हो ?

कतिपय बुज्रुक कांंग्रेसीले गुनासो गर्छन् ‘केटाहरुले हामीलाई खेद्ने भए, जीवनभर पार्टी र देशको लागि हामीले गरेको त्याग देखेनन् ।’ त्यसो भन्दैमा अब २१ औं शताब्दीका युवाहरु पनि कन्दनी लगाएर हिँड्नु ? गिठ्ठा र भ्याकुर खाएर जीवन व्यतित गर्नु ? अथवा कार र मोटरसाइकल छोडेर बयलगाडा चढ्नु ? यस्तो पुरातन र यथास्थितिवादी सोचले कांग्रेसको अस्तित्व समाप्त गर्नु शिवाय केही गर्दैन ।

केही क्रान्तिकारीधारका युवाहरुका चर्का भाषणबाजीले बुज्रुक कांंग्रेसीहरुको मनमा आशंका उठ्नु अस्वभाविक हैन । र, युवापुस्ताले पनि विगतको कांग्रेसको इतिहास र योगदानलाई अवमुल्यन गरेर जाने दृष्टता गर्नु हुँदैन । अनुमान गरौं, कांग्रेसले २००७ मा प्रजातन्त्रका लागि, २०४६ सालमा बहुदलीय व्यवस्थाका लागि र ०६२/०६३ सालमा संघिय गणतन्त्र स्थापनाका लागि नलडेको भए, आफुलाई परिवर्तन नगरेको भए हामी कुन अवस्थामा हुन्थ्यौं ? त्यसकारण ‘बुढाहरुले देशका लागि पार्टीका लागि केही गरेनन्’ भनेर लात हान्नु हुँदैन र अबपनि बुढाहरुले नै नेतृत्व पाउनुपर्छ भन्ने सोच पनि ठिक होइन । युवाहरुको जोश र बुढाहरुको अनुभवबाट पार्टी र देश हाँक्नु पर्छन ।

कांग्रेसका आकांक्षीहरु कस्ता छन् ?

एउटा कुरा प्रष्ट छ, १४ औं महाधिवेशनले पुस्ता हस्तान्तरण गर्नेछ । पुरानालाई सम्मानजनक पद दिएर नयाँपुस्ता नेतृत्वमा आउने छ । महाधिवेशनको मिति आउन ७ महिना बाँकी रहेको अवस्थामा सभापतिका आकांक्षीहरु धेरै देखिएका छन् । कोइराला पक्षबाट महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, गिरिजापुत्री सुजता कोइराला सभापतिका आकांक्षी हुन् ।

यता पार्टी सभापति शेरबहादुर देउवा स्वयं एक पल्ट सभापति हुन्छु भन्दैछन् । बरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेद्वारी लगभग सार्वजनिक गरीसकेका छन् । देउवा पक्षधरका विमलेन्द्रनिधीले पनि सभापतिको दावेदारी देखाइसके । गणेशमान पुत्र प्रकाशमान, पूर्वमहामन्त्री अर्जुननरसिंह केसी पनि आकांक्षी हुन् । गगन थापाले सार्वजनिक रुपमा महामन्त्रीको दावि गरिरहँदा नपाए सभापतिकै लागि लड्ने रणनीति बनाइरहेका छन् । यस वाहेक महाधिवेशनमा उपाध्यक्ष, महामन्त्री लगायतमा लड्नेहरुको जमात बाक्लै छ । पद एक उम्मेद्वार अनेक भएपछि १४ औं महाधिवेशनमा कांग्रेसीहरुविच घात अन्तरघातको राजनीति प्रष्ट देखिनेमा दुइमत छैन ।

नयाँ र पुरानाको समिकरणको संभावना

सर्वमान्य भनाई हो, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन । कांग्रेसभित्र पनि यो भनाई चरितार्थ हुन्छ । आज देउवा गुटमा रहेको भोली समिकरण मिल्दा कोइराला गुटमा जान्छ, कोइराला गुटमा रहेका देउवामा । तसर्थ सत्ताको खेलकुदमा अहिले नै कसले बाजी मार्छ भनेर ठोकूवा गर्न नसके पनि अनुमान भने लगाउन सकिन्छ । र, यो संभावना छ ।

कांग्रेसका लागि अबको महाधिवेशन पुस्ता हस्तान्तरणको अभियान बन्नुपर्दछ । अहिलेको परिस्थितिमा पुरानालाई चट्टै निकालेर जान पनि नमिल्ने नयाँलाई एकैपल्ट विस्वास गर्नपनि नसकिने भएकोले नयाँ र पुरानालाई ‘फ्युजन’ गरे सर्वस्वीकार्य हुनेछ ।

शेखर र गगनको गठबन्धन

कांग्रेसमा कोइराला, देउवा, पौडेल र सिटौला बलिया गुट हुन् । यीनीहरु मध्ये कुनै दुई गुट एक भए अरु गुट तिल्मिलाउँछन् । कांग्रेसमा डा. शेखर ७७ वटै जिल्लामा लोकप्रिय नेता हुन् । प्रष्ट विचार राख्ने, कार्यकर्ताको मनोभावना बुझ्ने, परिवर्तनलाई आत्मसाथ गर्ने तथा पार्टीभित्र विधान विपरितका कार्य प्रति कठोर हुने उनको स्वभाव छ । कोरोना महामारीले देश लकडाउन हुनु अगाडी देशाटन गरेका डा. शेखरले महाधिवेशन प्रतिनिधि र कांग्रेसका नेता कार्यकर्ताको मनोभावना बुझिसकेका छन् ।

यदी अवको महाधिवेशनमा पार्टी सभापति डा. शेखर महामन्त्री गगन थापा बनाएर गएको खण्डमा त्यसले पुस्ता हस्तान्तरणको माग संस्थागत गर्छ र नयाँ र पुरानाको फ्युजन पनि हुन्छ । अहिलेसम्मको कांग्रेसको राजनीतिक घटनाक्रम हेर्ने हो भने, कोइरालाबाट सर्वसम्मत एक जना सभापतिमा आउने भनिएको छ । डा. शेखर, शशांक र सुजता कोइरालाको त्यहि रणनीति छ । त्यसमा गगन थापाकोसमेत समिकरण बन्योभने पार्टीलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन कसैले रोक्न सक्दैन । यो विषयमा नेतृत्वले विचार गर्नै पर्दछ ।

कसको पल्ला भारी

भनि हालियो, डा. शेखर यतिबेला कांग्रेसको सभापतिका लागि योग्य उम्मेद्वार हुन् । विरासतको कुरा गरिन्छ भने उनी कोइराला खानदानका हुन् मात्र वीपीका पुत्र हैनन् । १३ औं महाधिवशेनमै महामन्त्रीका शशक्त दावेदार भएपनि वीपी पुत्र शशांकका लागि पछी हटेकै हुन् । अब त्यागको राजनीति गर्ने बेला देउवा देखि शशांक, अर्जुननरसिंह केसीको आएको छ । तर, ‘पार्टी र पद जीवनपर्यन्त पाउनुपर्छ’ भन्ने लालसा राख्नेहरुले कांग्रेसको विरासत जोगाउन, देश र जनताका लागि राजनीति गर्छन् कि गर्दैनन् १४ औं महाधिवेशनमा देखिने छ ।

अहिलेको लागि यसको पल्ला भारी, उसको पल्ला भारी भन्दा पनि कांग्रेसलाई ब्यूताउन, कांग्रेसको विरासत जोगाउन, मुलुकको परिवर्तनका लागि, लोकतन्त्र, गणतन्त्र र संघियताको संरक्षण, सुदृढिकरण गर्नकै लागि पनि पुस्ता हस्तान्तरण अपरिहार्य छ । बेलैमा सोचौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *