संक्रमित आमाका छोरीहरुमा पनि देखियो कोरोना

चितवन । चितवनको राप्ती नगरपालिकामा कोरोना पुष्टि भएका दुई बालिका संक्रमण देखिएका महिलाकी छोरी रहेको खुलेको छ । साउन २९ गते गरिएको परीक्षणमा राप्ती-९ का ३७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनमा कोरोना देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङबाट उनका ९ र ६ वर्षीया छोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार राति गरिएको परीक्षणमा ती बालिकाहरुमा पनि संक्रमण पुष्टि भएको हो ।

संक्रमित महिला भरतपुर अस्पतालको आइसोलेशनमा उपचाररत छिन् भने बालिकाहरु भरतपुर स्थित अंकलको घरमा थिए । ती बालिकाहरुमा कोरोना पोजिटिभ देखिए पछि अंकलका घरका सदस्यहरु पनि ट्रेसिङमा परेका छन् । ती बालिकाहरुको भरतपुर अस्पतालबाटै स्वाब संकलन गरिएको थियो ।

संक्रमण पुष्टि हुनुअघि ती महिला स्थानीय विभिन्न कार्यक्रम तथा बैठकमा गएको समेत पाइएपछि त्यस क्षेत्रमा उनको सम्पर्कमा रहेकाहरुको सोमबार स्वाब संकलन गरिएको राप्ती नगरपालिका मेयर प्रभा बरालले जानकारी दिइन् । आइतबार राति गरिएको परीक्षणमै राप्ती-२ का ८६ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

ती महिला हेटौंडाबाट आएर होम क्वारेन्टिनमा बसेका थिए । हेटौंडा आफन्तकोमा पनि कोरोना पुष्टि भए पछि उनी घर आइ होम क्वारेन्टाइनमा बसेकी थिइन् । ती वृद्धामा संक्रमण पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल पठाउने तयारी भइरहेको राप्ती नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *