चितवनमा २०९ जनामा कोरोना संक्रमण, भरतपुरको मात्र १२८ जना

चितवन । चितवनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २ सय नाघेको छ ।

पछिल्लो पटक गएराति १२ बजे आएको नयाँ नतिजा अनुसार जिल्लाका थप १० जनामा संक्रमण देखिएपछि यहाँ संक्रमित हुनेको संख्या २०९ जना पुगेको छ । यसमध्ये ९३ जनामा भाइरस नेगेटिभ देखिइसकेको छ । बाँकीमध्ये कतिपय भरतपुर अस्पतालको आइसोलेसनमा छन् भने कतिपय आफ्नै घरमा बसिरहेका छन् ।

जिल्लामा कोरोना पोजिटिभ देखिएकामध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । यहाँ मात्रै १२८ जनामा कोरोना देखिएको छ । त्यस्तै माडी नगरपालिकामा ४१, राप्तीमा १८, रत्ननगरमा ९, खैरहनीमा ७, कालिकामा ५ र इच्छाकामना गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

भरतपुर अस्पताल अन्तर्गत रहेको कोभिड–१९ प्रयोगशाला भरतपुरले हालसम्म १५ हजारभन्दा बढी नमूना परीक्षण गरिएका छन् । त्यसमध्ये ४९५ जनामा कोरोना पुष्टि भएका छन् भने बाँकी सबैको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको भरतपुर अस्पतालले उपलब्ध गराएको सूचनामा उल्लेख छ ।

भरतपुर अस्पतालका ५ जना चिकित्सक र २ जना नर्समा कोरोना देखिएको छ । त्यस्तै वीपी कोइराला क्यान्सर अस्पतालका ७ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । कैयौं सुरक्षाकर्मी र कर्मचारीमा पनि कोरोना देखिएका कारण अस्पतालहरुका विभिन्न सेवा प्रभावित भएका छन् । भरतपुर अस्पताल, क्यान्सर अस्पताल र रत्ननगर बकुलहर अस्पतालमा आकस्मिक सेवा मात्रै सञ्चालित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *