प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ? यसाे भन्छ अध्ययन
वासिङ्टन । मायो क्लिनिकका अनुसन्धाताहरुले कोभिड–१९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरु व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन्, तर प्रामाणिक तहमा पुष्टी भइसकेको छैन । प्रभावकारी उपचार पद्धतिको व्यापक खोजी भइरहँदा कतिपय विज्ञहरुले भने प्लाज्मा थेरापीमा रहेका अस्पष्टताप्रति चिन्ता व्यक्त गरेका छन् ।
संयुक्तराज्य अमेरिकामा ६४,००० भन्दा बढी कोरोना संक्रमितलाई प्लाज्मा थेरापीबाट उपचार गरिएको छ । खोप (भ्याक्सिन) विकास गर्नुअघि सयौं वर्षदेखि यो विधि विभिन्न ज्वरो (फ्लु) र दादुराका बिरामीको उपचारका लागि प्रयोग हुन्थ्यो ।
नयाँनयाँ रोग निस्कँदा औषधि र खोप दुवै नहुँदा मानिसको जीवन जोखिममा पर्नु स्वाभाविक हो । यस्तो आपतकालीन स्थितिमा वैज्ञानिकहरुले प्लाज्मा थेरापीलाई तत्कालै उपलब्ध विधिका रुपमा प्रचलनमा ल्याउने गरेका छन्, तर यो विधि सबै किसिमका संक्रमणमा सफल भएको छैन ।
हालसम्म कोरोना भाइरस विरुद्ध लड्न प्लाज्मा थेरापी सक्षम र उपयुक्त नै छ भन्ने ठोस् वैज्ञानिक आधार तयार भइसकेको छैन, र यस्तो अवस्थामा यसको उपयोग गर्नु कति ठीक होला ? तर प्लाज्मा दिइएका करिब ३५ हजार बिरामीको प्रारम्भिक तथ्यांक विश्लेषण गर्दा निकै सकारात्मक प्रभाव देखिएको मायो क्लिनिकका मुख्य अनुसन्धाता डा. माइकल जोयनरले बताएका छन् ।
कोरोना संक्रमण देखिएको तीन दिनभित्र प्लाज्मा दिइएका व्यक्तिको मृत्युदर ज्यादै न्यून रहेको छ । जोयनरका अनुसार शरीरमा भाइरससँग लड्ने क्षमता अत्यन्त कमजोर भएर एन्टीबडीको सख्त जरुरी परेका बिरामीलाई समेत प्लाज्मा थेरापीले धेरै मद्दत गरेको छ ।
समस्या कहाँनेर छ त ? यो औपचारिक अध्ययन भने होइन । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को निर्देशिका बमोजिम संयुक्तराज्य अमेरिकाका विभिन्न अस्पतालमा बिरामीको भिन्नभिन्न तरिकाबाट उपचार भइरहेको छ ।
अमेरिकामा प्रयोगात्मक उपचार विधिका सम्बन्धमा व्यापक जानकारीमा पहुँच दिइने भनिए पनि प्लाज्मा प्राप्त गर्ने बिरामीका बारेमा प्रष्ट जानकारी छैन । हाल देशभरबाट प्रमाणहरु संकलन गर्ने अभियान संचालनमा छ ।
‘करिब १०२ वर्षदेखि हामी प्लाज्माले साँच्चिकै काम गर्दछ वा गर्दैन भनेर हामी बहस गरिरहेका छौं,’ न्यूयोर्क विश्वविद्यालयकी डा. मिला ओर्टिगोजाले बताए । उनले सन् १९१८ मा पनि फ्लुको महामारीका दिनमा प्लाज्मा थेरापीको प्रयोग गरिएको थियो । यस पटक हामीलाई विवादरहीत ठोस प्रमाणहरुको खाँचो छ, उनले भने ।
ओर्टिगोजाले यस्तै एउटा अध्ययनको सहसंयोजकका रुपमा कार्य गरिरहेका छन् । यसै साता यो समूहले अरु तीन वटा राज्यहरु – कनेक्टिकट, फ्लोरिडा र टेक्सास – मा अध्ययन गर्दैछ । प्लाज्मा उपचारको निष्कर्ष जतिसक्दो चाँडो सार्वजनिक गर्न मुलुकका अन्य क्षेत्रबाट पनि तथ्याँक विवरणहरु संकलन गर्ने तयारी ओर्टिगोजा टिमको छ ।
‘स्पष्ट उत्तर कहिले प्राप्त होला भन्ने सबैको चासो छ,’ सेन्ट लुइसस्थित वासिङटन युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ डा. जेफ्री हेन्डरसनले भने । उनले क्लिनिकल ट्रायलहरु अघि बढ्ने विश्वास व्यक्त गर्दै मायो क्लिनिकको प्रतिवेदन सानो संख्याका बिरामीको तथ्यांकमा आधारित रहेको बताए ।
शरीरभित्र कुनै नयाँ जीवाणु प्रवेश गरेमा शरीरले यसविरुद्ध लड्न प्रोटिन नामको एन्टीबडी बनाउँछ । यस्तो एन्टीबडी प्लाज्मामा रहेको हुन्छ, र यसको रंग पहेँलो–पहेँलो र तरल रुपमा हुन्छ । एन्टीबडी निर्माण हुन केही साता लाग्ने भएकाले कुनै व्यक्तिको एन्टीबडी राख्दा बिरामीलाई भाइरस विरुद्ध लड्न मद्दत गर्दछ र त्यसबीचमा व्यक्तिको रोगप्रतिरोधी क्षमता विकास हुन्छ ।
मायोका नतिजाहरुलाई वैज्ञानिक अध्ययनका लागि वेबसाइटमा खुला राखिएको छ । कोरोना संक्रमित भएको तीन दिनभित्र उच्च गुणस्तरको एन्टीबडी प्लाज्मा दिइएका व्यक्तिमध्ये २० प्रतिशतको ३० दिनभित्र मृत्यु भएको थियो जबकी न्यून गुणस्तरको एन्टीबडी प्लाज्माबाट उपचार गरिएका ३० प्रतिशतको मृत्यु भएको थियो ।
एफडीएले आपतकालीन प्लाज्मा उपचार विधिलाई अनुमति दिने वा नदिने भन्ने सम्बन्धमा गहन अध्ययन गरिरहेको जनाएको छ । एफडीएले यसका बारेमा शुक्रबार कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ ।
कोभिड–१९ बाट निको भएका दशौं हजार व्यक्तिले प्लाज्मा दान गरिसकेका छन् । संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमितको संख्या बढेसँगै प्लाज्मा दान गर्न मानिसलाई उत्प्रेरित गर्नेक्रम जारी छ । अमेरिकी रक्तसंचार केन्द्र संघले एक तिहाई अस्पतालहरुले अनुरोध गरेको २४ घण्टाभन्दा बढी समयपछि मात्र प्लाज्मा उपलब्ध गराउन सकिएको जनाएको छ ।
प्लाज्मा उपचार प्रभावकारी भए नभएका बारेमा प्रष्ट नभए पनि वैज्ञानिकहरु यो उपचार विधि कहिले शुरु गर्नुपर्छ भन्ने बुझ्न चाहन्छन् । उनीहरु प्लाज्मा दिँदा गम्भीर बिरामीलाई वा प्रारम्भिक दिनहरुमा दिनु पर्दछ अथवा कुन डोज सही हो भन्ने जान्न चाहन्छन् । लरेन निरगार्ड (रासस/एपी)