वीपी प्रतिष्ठानका कोरोना संक्रमितलाई प्लाज्मा थेरापीबाट उपचार गरिने

धरान । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरीने भएको छ । प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित विरामीको अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी विधिबाट उपचार गरिने भएको हो ।

प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत ती व्यक्तिलाई प्लाज्मा थेरापी गर्न आवश्यक भएकोले उनको रक्त समुहको एन्टिवडी आवश्यक पर्ने बताइएको छ । त्यसका लागि नेपाल रेडक्रस सोसाइटीले नोबेल कोरोना भाइरसबाट संक्रमित भई निको भएका व्यक्तिहरुलाई तत्काल रक्तदान गरिदिन आह्वान गरेको छ ।

रेडक्रस सुनसरी सभापति उमेश थापाले सामाजिक सञ्जाल फेसबुकमा सुचना पोष्ट गर्दै प्रतिष्ठानमा उपचार गराइरहेका एक व्यक्तिलाई एफएफपि (फ्रेस फ्रोजन प्लाज्मा) आवश्यक परेको बताउँदै कोरोना संक्रमण भइ निको भएका बी पोजेटिभ रगतका व्यक्तिलाई रक्तदान गर्न अनुरोध गरेका छन् ।

‘नोवल कोरोना भाइरसबाट संक्रमित भई हाल स्वास्थ्य हुनुभएका बी पोजेटिभ रगत समुहका स्वस्थ व्यक्तिहरुलाई रक्तदान गर्नको लागि हार्दिक अनुरोध गर्दछु,’ थापाद्वारा जारी सुचनामा भनिएको छ ।

गम्भीर प्रकृतिका कोरोना विरामी भएको कारण प्लाज्मा थेरापी विधिबाट उपचार गर्न सरकारले देशभरका १२ अस्पतालहरुलाई अनुमति दिएको छ । जसमध्ये प्रतिष्ठान पनि एक हो ।

यसअघि नेपालमा पहिलो पटक काठमाडौंको शिक्षण अस्पतालमा प्लाज्मा थेपारी विधिबाट उपचार गरिएको थियो । विराट नर्सिङ होमका सञ्चालक डा।ज्ञानेन्द्रमान कार्कीको अवस्था गम्भीर भएपछि प्लाज्मा थेपारी विधिबाट उपचार गरिएको थियो ।

त्यसपछि सरकारले वीपी प्रतिष्ठानसहित १२ वटा अस्पतालहरुलाई प्लाज्मा थेरापीको अनुमति दिएको थियो ।

प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्दा कोरोना संक्रमण भएर निको भएको व्यक्तिको रगत आवश्यक पर्छ । जुन रगत विरामीको रक्त समुहकै समेत हुनुपर्छ । प्लाज्मा थेरापीबाट उपचा गर्दा रक्तदान गर्नेको र उपचार गर्ने संक्रमित दुवैको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ ।

यसरी उपचार गर्दा संक्रमण भएको व्यक्तिको शरीरमा निश्चित समयपछि भाइरससँग लड्ने क्षमता अर्थात एन्टिबडी उत्पादन हुन थाल्छ । त्यो एन्टिवडीले भाइरसबाट हुने आक्रमणको प्रतिरोध गर्ने गर्छ । त्यसरी निको भएका व्यक्तिले रक्तदान गरेपछि उसको रगतबाट एन्टिबडी छुट्याएर गम्भीर प्रकृतिको विरामीलाई दिइने गरिन्छ ।

सरकारले प्लाज्मा थेरापीबाट उपचार गर्न मापदण्ड नै बनाएको छ । प्लाज्मा दान गर्ने व्यक्तिमा रक्तदान गर्नुपूर्व कम्तिमा १४ दिन अगाडि उनमा संक्रमणको कुनै लक्षण देखिएको हुनु हुदैन । साथै दाताको संक्रमण पुष्टि आरटी पिसिआर विधिबाटै भएको हुनुपर्छ ।

दाता र प्लाज्मा लिने व्यक्तिको रगत समूह पनि मिलेको हुनुपर्छ । प्लाज्मा थेरापीबाट उपचार गर्न लागिएको बिरामी १८ वर्ष माथिको हुनुपर्छ । भने, संक्रमित अस्पताल भर्ना भई उपचार भएको र अवस्था पनि गम्भीर हुनुपर्छ । संक्रमित बिरामी र प्लाज्मा दाता दुवैको उक्त विधिबाट उपचार गर्न अनुमति पनि हुनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *