अछाममा बाढीको वितण्डा: ६ जनाको शव भेटियो, १३ अझै सम्पर्कविहीन [अपडेट]
काठमाडौं । अछामको रामारोशन गाउँपालिकामा आएको बाढीले बगाएर ६ जनाको मृत्यु भएको छ । गाउँपालिका-५ स्थित कैलाश खोलामा आएको बाढीले १६ घर बगाएको छ भने अन्य १३ जना अझै सम्पर्कविहीन छन् ।
बाढीले बगाउँदा ६ जनाको मृत्यु भएको र अन्य १३ जना सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थल पुग्न अझै समय लाग्ने भएकाले क्षतिको एकिन विवरण प्राप्त हुन नसकेको उनले बताए । घाइतेको उद्धारका लागि हेलिकप्टर पठाइदिन प्रदेश र केन्द्र सरकारलाई अनुरोध गरेको पनि उनले बताए ।
‘बाढीले १६ घर बगाएको जानकारी आएको छ,’ प्रजिअ उपाध्यायले भने- ‘खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीलगायत धेरै ठाउँमा मानवीय र भौतिक क्षति भएको अनुमान छ ।’ घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ लागेको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली घटनास्थल गइरहेको हो ।