झुटो प्रशंसाले करिअर डुबाउँछ : निर्देशक दीपेन्द्र लामा

काठमाडौं । विश्वमा नोवेल कोरोना भाइरस (कोभिड १९)ले राज गरिरहेको छ । यस परिस्थितिबाट नेपाल पनि अछुतो रहेको छैन । यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा परेको छ । यसले निम्त्याएको आर्थिक मन्दीसँग अहिले हरेक क्षेत्र जुधिरहेको छ ।

यस्तो विषम अवस्थामा नेपाली फिल्म क्षेत्रलाई पनि ठूलो असर परेको छ । गत वर्षको ११ चैत्रदेखि संघीय सरकारले लगाएको लकडाउन गत ७ श्रावणमा खुलेपछि केही फिल्मसँगै म्युजिक भिडियोहरु सुटिङ्ग हुन थाले पनि पुनः स्थिति भयावह बन्न थालेपछि बन्द गरिएको छ ।

त्यसो त यो अवस्थामा गुज्रिरहेको नेपाली फिल्म क्षेत्रलाई अब कसरी न्याय गर्न सकिन्छ ? अबका दिनमा यो क्षेत्रलाई साविककै स्थानमा ल्याउनको लागि आम फिल्मकर्मीहरुले कस्तो कदम चाल्नुपर्छ ? यी यावत् विषयमा दुई दशकसम्म फिल्म पत्रकारिता गर्नुभएका फिल्म पत्रकार, समीक्षक तथा निर्देशक दीपेन्द्र लामासँग मकालुकर्मी एन्जिला क्षेत्रीले कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, उक्त कुराकानीः

तपाईँको फिल्म र समग्र फिल्म क्षेत्रलाई लकडाउनले कतिको असर पार्दैछ ?
लकडाउन हुनुभन्दा अगाडि मेरो चौंथो फिल्म २ नम्बरीको छायाँकन कास्कीको घाचोकमा भइरहेको थियो । तर, लकडाउन हुने देखिएपछि १०औं दिनमा छायाँकन रोक्यौं । लकडाउन खुल्ला र बाँकी छायाँकन शुरु गर्नुपर्ला भनेको यतिकै रोकिएको छ । अब यस्तै अवस्था रह्यो भने आगामी फागुनतिर मात्र सुटिङ्ग हुन्छ होला । छायाँकन रोकिएकाले निर्माताहरुको ४० /५० लाख रुपैयाँ फसेको छ । हामी पारिश्रमिक लिएर काम गर्नेहरुका लागि पनि जीविकोपार्जन गाह्रो भएको छ । कति फिल्महरु छायाँकनको तयारीमा थिए, कति फिल्मको छायाँकन भइरहेको थियो, केही फिल्महरु हलमा लागिरहेका र लाग्ने तयारीमा थिए । यी सबै फिल्म र कामहरु धरापमा परेका छन् ।

कोभिड–१९ पछि फिल्म कसरी चलाउनुपर्छ ?
पहिला एक दिनमै ४/५ वटा नेपाली फिल्म प्रदर्शन हुन्थे । तर, अब केही समयका लागि एक पटकमा एउटा मात्र फिल्म रिलिज गर्नुपर्छ । किनभने एक त, फिल्मको बजार स्वतः घट्दो अवस्थामा छ, डायस्पोराको बजारमा पनि गिरावट आउनेछ । अर्को कुरा, हलले पनि शुरुमै १०० प्रतिशत टिकट बेच्नेवाला छैन । ३० वा ४० प्रतिशतमात्र टिकट बेचेर फिल्म चलाउनेछन् । त्यस्तै हरेक शो सकिनेबित्तिकै सबै सिटमा औषधि छर्किनुपर्ने हुन्छ । त्यसले समय लिन्छ र पहिला दिनमा ३ शो हुन्थे भने अब दुई शोमात्र चल्नसक्छ । टिकटको मुल्य पनि घट्नसक्छ । यस्तो अवस्थामा फिल्म जुधाउने होइन मिलेर चलाउने हो । तर, फिल्मकर्मीबीच कस्तो समझदारी हुन्छ, हेरौं ।

अब फिल्म क्षेत्रलाई माथि उठाउन सरकारले के-कस्तो पहल गरिरहेको छ, र तपाईँहरुकले सरकारसँग के कस्ता अपेक्षा राख्नुभएको छ ?
लकडाउनको अवधिमा विभिन्न संघसंस्थाहरुको पहलमा अति प्रभावित फिल्मको सूची तयार पारेको छ । रिलिज डेट तोकेर प्रचार-प्रसारमा गइसकेको फिल्म र छायाँकनमा रोकिएका फिल्मलाई प्रभावित सूचीमा राखिएको छ क्यारे । त्यस्ता फिल्महरुलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने कि भन्ने छलफल चल्दैछ रे । मेरो विचारमा चाहिँ कोभिडपछि सरकारले नेपाली फिल्मको बजार बढाउन व्यापक प्रवर्द्धनात्मक कार्यक्रमहरु ल्याउनुपर्छ । नेपालमा स्वदेशी र विदेशी फिल्मबीच अस्वस्थ प्रतिस्पर्धा छ, त्यसको पनि समाधान निकाल्नुपर्छ । उस्तै परे नेपाली फिल्मलाई केही समयसम्म कर छुट दिने प्रावधान ल्याउनुपर्छ ।

अब नेपाली फिल्मको बजार बढाउनका लागि फिल्मकर्मीले चाहिँ के गर्नुपर्छ ?
कोभिडपछि हलहरु खुले पनि दर्शकको उपस्थिति पहिलाको जस्तै बाक्लो नहुन सक्छ । नेपाली फिल्मका दर्शकलाई हलसम्म आकर्षित गर्न पहिले नै गाह्रो थियो । अब झन् गाह्रो हुनेछ । त्यसैले हामीले हाम्रा फिल्म पहिलाको भन्दा राम्रो र स्तरीय बनाउनुपर्छ । मौलिक कथावस्तु समेटिएका फिल्महरु बनाउनुपर्छ । त्यसको प्राविधिक पक्ष उकास्न पनि ध्यान दिनुपर्छ । अब पनि हिन्दी, कोरियन वा टर्की फिल्मको कपी गरेर बस्यो भने दर्शकहरु हलमा आउँदैनन् ।

पहिलेका नेपाली फिल्महरु अरुको कपी गरेरै चलेको हो ?
कपी गरेर चलेका फिल्म निकै कम छन् । कपी नगरेका फिल्महरु चाहिँ पछिल्लो समयमा बढी चलेका छन् । डायस्पोरामा पनि नेपाली माटोकै कथा बोकेका फिल्मको माग बढी थियो । डिजिटल प्रविधिमा फिल्म बन्न थालेपछि चाहिँ हिन्दी फिल्मको कपी गरेर फिल्म बनाउने चलन घटेको हो । नत्र त्यसअघि सेलुल्वाइड प्रविधिका अधिकांश फिल्मका कथा, पात्र, अभिनय, संगीत र नाटकीयता सबै हिन्दीकै कपी हुन्थे ।

चलचित्र समीक्षक हुँदा र निर्देशक हुँदा फरक के हुने रहेछ, निर्देशक र समीक्षक हुँदाको अनुभव कस्तो रह्यो ?
समीक्षा भनेको नितान्त व्यक्तिगत काम हो । निर्देशन भनेको चाहिँ नेतृत्वदायी काम हो । समीक्षामा आफैँले आफैँलाई काममा लगाउने हो भने, निर्देशनमा सम्पूर्ण टिमलाई काममा लगाउने र सन्तुष्ट बनाउन सक्नुपर्ने रहेछ ।
समीक्षा भनेको अरुको गल्ती खोज्ने काम हो । तर, निर्देशन भनेको आफैँले गल्ती गर्ने काम रहेछ । जुन निर्देशकले सबैभन्दा कम गल्ती गर्छ, उसैको फिल्म उत्कृष्ट हुने रहेछ ।

तपाईँ पहिला समीक्षक भएर चलचित्रका कमीकमजोरी औंल्याउनु हुन्थ्यो ? अहिले तपाईँको फिल्मका कमजोरीहरु अरुले औंलाउँदा कस्तो हुने रहेछ ?
मेरो फिल्मका कमीकमजोरी औंल्याएर धेरैले समीक्षा गर्छन् । गाली पनि दिन्छन् । ताली पनि दिन्छन् । म नेपालमा फिल्म समीक्षा गर्ने कल्चर स्थापित होस् भन्ने चाहन्छु । त्यसैले गाली र ताली दुवैलाई आत्मसात गर्दै आएको छु । मेरो कमजोरी औंल्याइदियो भने न मेरो प्रगति हुने हो । झुटो प्रशंसाले करिअर डुबाउँछ ।

साम्राज्ञीले आफूमाथि दुर्व्यवहार भएको कुरा राखिन् । यो कुराले निकै चर्चा पायो । तपाईंको के छ धारणा ? फिल्ममा महिलामाथि दुर्व्यवहार हुन्छ ?
फिल्म क्षेत्रमा महिलामाथि दुर्व्यवहार र शोषण हुन्छ, नहुने होइन । विगतमा पनि केही अभिनेत्रीले दुर्व्यवहार गर्न खोज्ने फिल्मकर्मीलाई प्रहरी ठाना पु¥याएका उदाहरण छन् । साम्राज्ञीले आफूमाथि दुर्व्यवहार भएको हो भने सिधै प्रहरीकोमा जानुपर्थ्यो । प्रहरीले नै अनुसन्धान गथ्र्यो । उनको पहिलो भिडियो आएपछि धेरै कलाकार र सञ्चारकर्मीले थप कुरा बुझ्न उनीसँग सम्पर्क राख्न खोजे । तर, उनीबाट कुनै रेस्पोन्स आएन । जसले गर्दा धेरैले उनको कुरालाई गम्भीर मानेनन् ।
आफूमाथि भएको दुर्व्यवहारका बारेमा सबैले तत्कालै बोल्न सक्दैनन् । तर, तत्काल बोल्यो भने पीडकले अरुलाई पनि दुर्व्यवहार गर्न सक्दैन थिए । अहिले त साम्राज्ञीको प्रकरण अदालतमा पुगिसकेको छ क्यारे ।

पूजा शर्माको प्रकरण चाहिँ कस्तो हो, तपाईँको विचारमा ?
पूजाको प्रसंग अलि फरक छ । पूजामाथि वा अन्य अमूक व्यक्तिमाथि एक मिडियाकर्मीले शारीरिक संरचनाका आधारमा टिप्पणी गर्नु गल्ती हो । पूजाको फिल्म, पूजाको अभिनय वा पूजाको कुनै वक्तव्यबारे टिप्पणी गर्न सकिन्छ । तर, पूजाको रंग, अनुहार र बनोटमाथि खिल्ली उडाउन पाइँदैन । उनीमाथि गरिएको टिप्पणी ठोस प्रमाणका रुपमा सबैका सामु उपलब्ध थियो । र, सबैले उनलाई साथ पनि दिए । टिप्पणीकर्ताले पनि माफी मागिसकेका छन् । प्रेस काउन्सिलमा पनि निवदेन पुगिसकेको छ । बाँकी प्रक्रिया के हो, काउन्सिलले नै हेर्ला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *